बागलुङ, - आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यका निर्वाचनका निम्ती एउटै वडाका ६ जना उम्मेदवार निर्वाचनमा होभिएका छन ।
जिल्लाको बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौरमा स्थायी ठेगाना तथा यहीँ जन्मस्थल भै विभिन्न राजनितिक दलमा सक्रिय ६ जना व्यक्ति आगामी निर्वाचनमा उम्मेदवार रहेका छन । उनिरुमध्ये पाँच जना प्रत्यक्ष र १ जना समानुपातिक रहेका छन ।
यसै वडामा स्थायी ठेगाना भएका यस पहिले सांसद र शिक्षा मन्त्री समेत बनेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेल हाल नवलपरासी पश्चिम–२ मा नेकपाबाट प्रत्यक्ष तर्फका उम्मेदवार छन । २०७४ सालको प्रतिनिधि सभा र २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा बागलुङ क्षेत्र नं. २ बाट निर्वाचित भएका पौडेल यस पटक नवलपरासी पश्चिम पुगेका छन । पौडेल काँग्रेसका देवराज कंडेल, नेकपा एमालेका लेखनाथ खरेल र नरेन्द्र गुप्तासँग चुनावी प्रतिस्पधामा रहेका छन । पौडेलकै धर्मपत्नी वलावती शर्मा पनि नेकपाको समानुपातिक उम्मेदवार हुन । उनि समानुपातिक बन्द सूचीको खस आर्य तर्फ पहिलो नम्बरमा नै रहेकी छन ।
त्यसैगरी काठमाण्डौ ५ बाट नेकपाको उम्मेदवार बनेकी कल्पना शर्मा पनि यसै वडामा जन्मिएकी हुन उनि हाल काठमाण्डौँ नै बसोबास गर्दै आएकी छन । उनि नेकपाका नेता एवं पूर्व शिक्षामन्त्री दिनानाथ शर्माकी छोरी हुन । काठमाण्डौ –५ मा नेपाली काँग्रेसका महामन्त्री प्रदिप पौडेल, नेकपा एमालेका नेता इश्वर पोखरेल र रास्वपाका सस्मित पोखरेलसँग चुनावी प्रतिस्पर्धामा रहेकी छन ।
अमलाचौरकै कृष्ण प्रसाद शर्मा अधिकारी र चित्र प्रसाद सापकोटा बागलुङ क्षेत्र नं १ बाट प्रत्यक्ष तर्फबाट उम्मेदवार बनेका छन । अधिकारी रााष्ट्रिय जनमोर्चाको तर्फबाट छन भने सापकोटा प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेका हुन । अधिकारी र सापकोटाको प्रतिस्पर्धीको रुपमा नेपाली काँग्रेसका भिम बहादुर श्रीस राना, नेकपा एमालेका हिराबहादुर केसी र रास्वपाका शुशिल खड्का रहेका छन ।
बागलुङ क्षेत्र नं. २ मा रास्वपाबाट प्रत्यक्ष तर्फका उम्मेदवार सोम शर्मा पनि यस वडामा जन्मिएका हुन । उनि हाल बागलुङ नगरपालिका– ३ मा बसोबास गर्दै आएका छन । शर्मासँग नेपाली काँग्रेसका टेकराज पौडेल, नेकपा एमालेका मञ्जुशर्मा चालिसे र नेकपाका अनिल गैरे चुनावी प्रतिस्पर्धामा रहेका छन । यस अघिका निर्वाचनमा पनि यस वडा बाट तत्कालिन नेकपा माओबादी बाट देवेन्द्र पौडेल, नेकपा एमालेबाट सुर्य पाठक प्रतिनिधि सभाको उम्मेदवार थिए । पौडेलले बागलुङ २ मा निर्वाचन जितेका थिए भने पाठक राजमोका चित्रबहादुर केसीसँग पराजय भोग्नुपरेको थियो । यसै वडाबाट निर्वाचित प्रदेश सभा सदस्य कृष्ण प्रसाद पाठक हाल गण्डकी प्रदेश सभाका स्वास्थ्यमन्त्री रहेका छन । यस वडाबाट प्रतिनिधित्व गर्दै बारम्बार सांसद र मन्त्री बने पनि जनताले सोचे अनुरुप वडाको विकास हुन नसकेको वडावासीको गुनासो रहेको छ । यस पटक नेकपाबाट समानुपातिक सूचीमा रहेकी वलावती शर्मा सांसद बन्ने झण्डै पक्का पक्की भएको छ भने पौडेल र अन्य उम्मेदवारले निर्वाचन जित्नुपर्ने छ ।