बागलुङ- बागलुङ नगरपालिकाले आम नागरिकलाई सर्व सुलभ सेवा प्रवाह गर्ने उद्देश्यले हरेक वडा तहमा सेवा प्रवाह घुम्ती शिविर संचालन गरेको छ । नगरपालिकाले आईतबार बागलुङ नगरपालिका–११ रायडाँडाबाट शिविर सुरु गरेको छ । विषेश गरी सदरमुकाम भन्दा बाहिर ग्रामिण क्षेत्रमा रहेका वडाहरुका उपभोक्ता र आम नागरिकको समस्यालाई मध्यनजर गरी घुम्ती शिविरको आयोजना गरिएको नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिए ।
शिविरमा वडामा संचालन हुने योजना सम्झौता गर्ने भएको छ । आम उपभोक्ताको सहजताको लागि नगरपालिकाको कार्यालयबाट विनियोजन भएका नगरस्तरीय योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडाबाटै गर्न लागिएको नगरप्रमुख श्रेष्ठले बताए । नगरपालिकाले विषेश गरी ग्रामिण क्षेत्रमा रहेका वडा नं. ५, देखी वडा नं. १४ सम्मका आम उपभोक्तालाई लक्षित गरी घुम्ती शिविर संचालन गर्ने बताएको छ । नगरउपप्रमुख राजु खड्काको नेतृत्वमा आईतबार रायडाँडाबाट शिविरको सुरु भएको छ । शिविरमा योजना सम्झौतका साथमा स्वास्थ्य सेवा शिविर, माटो परिक्षण, अपाङ्गता परिचय पत्र वितरण अनुशिक्षण तथा सचेतना कार्यक्रम वित्तिय साक्षरता, बालमैत्री नगरपालिका पुर्वाधार कृषक सचेतना तथा प्राविधिक सल्लाह लगायतका कार्यक्रम पनि संचालन गरिने छ । आम नागरिकको सेवा प्रवाहलाई छिटो र छरितो बनाउनका निम्ती वडा तहमै शिविरको आयोजना गरिएको नगरउपप्रमुख खड्काले बताए । आम उपभोक्ताको समस्यालाई मध्यनगर गरी हरेक वडामा सेवा प्रवाह गर्ने उद्देश्यले घुम्ती शिविर माफर्त योजना सम्झौता लगायतका काम अगाडी बढाईएको हो ।
शिविरमा झण्डै ८० प्रतिशत योजना तथा कार्यक्रम सम्झौता गर्ने लक्ष्य रहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिए । शिविरमा योजना सम्झौता पश्तात उपभोक्ता समितिको खाता पनि त्यही खोल्ने व्यवस्था गरिएको छ । ‘एकैदिनमा योजना सम्झौता गछौं । आम नागरिकले अन्य सेवा पनि लिनेछन । वडा तहमै सवै काम सम्पन्न गर्दा उपभोक्ता समितिलाई सहज हुनछ, सापकोटाले भने,–‘योजना सम्झौताका लागि नगरपालिका कार्यालयसम्म धाइरहनुपर्ने अवस्थाको अन्त्य हुने र सही उपभोक्ता पहिचान गर्नमा सघाउ पुग्ने छ ।
वडा भित्रका टोल अर्थात साविकको वडामा टोल समिति बनाएर सोही टोल समिति मार्फत योजनाका काम अगाडी बढाईने सापकोटाले बताए । टोल विकास समितिले ५ लाख सम्मको योजनाको काम गर्न पाउनेछन । काम सम्पन्न भएर सवै वडा तहमै अनुगमन भए पश्चता नगरपालिकाले भुक्तानी दिने छ ।
महिलाको नेतृत्वको उपभोक्ता समितिमा १० प्रतिशत मात्र लागत सहभागिता
बागलुङ नगरले महिलाको नेतृत्व गरेको उपभोक्ता समिति वा टोला विकास संस्था माफर्त योजनाको कार्यान्वय गर्दा १० प्रतिशत मात्र लागत सहभागिता गराउने भएको छ भने पुरुषले नेतृत्व गरेको समितिमा १५ प्रतिशत नै लागत सहभागिता गराउने भएको छ । त्यस्तै उपभोक्ता समिति र टोल विकास संस्थाले आफुले जिम्मा लिएको काम ठेका लगाउन नहुने आफैले गर्नुपर्ने बनाएको छ । शिविरमा वडाका जेष्ठ नागरिक गोविन्द उपाध्यायलाई सम्मान गरिएको थियो । शिविर रायडाँडाका सवै टोलबाट आम नागरिक स्वास्थ्य सेवा, योजना सम्झौता, अपाङ्गता परिचय पत्र प्रदान गरिएको थियो ।