बागलुङ– राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बागलुङमा १ सय २० विद्यालय छनोट भएका छन् । शिक्षा मन्त्रालयका अनुसार विद्यालयको भौतिक संरचना निर्माण र आईसिटि व्यवस्थापनका निम्ती विद्यालय छनौट भएका हुन । छनौट हुनेमा जिल्लाको तमानखोला गाउँपालिकामा ८ वटा विद्यालय, बडिगाड गाउँपालिकामा १७ वटा, निसीखोला गाउँपालिकामा १४ वटा, ताराखोला गाउँपालिकामा ९ वटा बरेङ गाउँपालिकामा ६ वटा विद्यालय रहेका छन ।
त्यस्तै ढोरपाटन नगरपालिकामा १६ वटा, काठेखोला गाउँपालिकामा ८ वटा, जैमिनी नगरपालिकामा १४ वटा गलकोट नगरपालिकामा १२ वटा र बागलुङ नगरपालिकमा १६ वटा गरी कुल १ सय २० विद्यालय छनोट भएका हुन । छनौट भएका विद्यालय मध्ये ३८ वटामा ४ कोठे भवन, ३६ मा दुई कोठे भवन निर्माण गरिनेछ । यस्तै, ३३ विद्यालयमा आइसीटी ल्व्यवस्थापन, र १ विद्यालय गलकोट नगरपालिका हटियामा रहको गलकोट माविमा प्राविधिक ल्याब निर्माण गरिनेछ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले विद्यालय छनौट गरेको हो ।
चार कोठे भवन निर्माणका लागि प्रति विद्यालय ३६ लाख, दुई कोठे भवन निर्माणका लागि १८ लाख, आईसीटी ल्याब व्यवस्थापनका लागि ६ लाख ५० हजार रकम उपलब्ध गराईने उल्लेख गरिएको छ । राष्ट्रपति शैक्षिक सुधारका लागि ७ अर्ब ८५ करोड ५१ लाख रकम छुट्याएको छ । विद्यालय छनोट गरी बाँकी एक अर्ब ३८ करोड रकम बाँकी रहेका स्थानीय तहका विद्यालयमा छुट्याइने शिक्षामन्त्री देवेन्द्र पौडेलले बताए । ‘देशभरका विद्यालयको भौतिक संरचना, आईसीटी व्यवस्थापन गर्ने अभियानमा छौं’ मन्त्री पौडेलले भने, ‘निवेदन दिन बाँकी रहेका पालिकाहरुलाई सम्बोधन गछौं ।’ विद्यालय छनौट भए सँगै पुर्वाधार निर्माणका लागि ठुलो सहयोग पुग्ने गणेश माध्यामिक विद्यालय नारायणस्थानका प्रध्यानध्यापक एकनाथ रिजालले जानकारी दिए । विद्यालयको संस्थागत विकासका लागि यस कार्यक्रम प्रभावकारी भएको उनको भनाई छ ।
देशका ७३७ स्थानीय तहबाट १३ हजार ४७३ विद्यालयले प्रस्ताव पठाएका थिए । जसमा ७ हजार ९८६ विद्यालयले भवन निर्माण, ४२३५ विद्यालयले आईसीटी ल्याब, ११७ विद्यालय नयाँ प्राविधिक धार, प्राविधिक विद्यालय ल्याब व्यवस्थापन १८८ र घेराबार खेलमैदानमा ९४७ विद्यालयले आवेदन दिएका थिए ।