बागलुङ- राष्ट्रिय जनमोर्चाका नेता तथा राष्ट्रिय सभाका सदस्य राजेश बिकले गणतन्त्रको रक्षाका लागि पाँच दलीय गठवन्धन आवश्यक रहेको बताएका छन् ।
राष्ट्रिय जनमोर्चा जैमिनी नगरपालिकाले मंगलबार कुश्मीसेरामा आयोजना गरेको बृहत सभालाई सम्बोधन गर्दै बिकले केपी ओली नेतृत्वले पटक–पटक प्रतिनिधि सभा बिघटन गरेर गणतन्त्रलाई सिद्धाउने प्रयास गरेकाले पाँच दलयीय गठवन्धन आवश्यक रहेको बताएका हुन् ।
उनले अझैपनि प्रतिगमनका बिरुद्ध संघर्ष गर्नुपर्ने आवश्यकता देखिएकाले आगामी स्थानीय तहको निर्वाचनमा पनि पाँच दलीय गठवन्धन आवश्यक रहेको उल्लेख गर्दै जनमतको आधारमा छिट्टै नै सहमतिले सार्थकता पाउने बताए ।
राष्ट्रिय जनमोर्चाका जिल्ला नेताहरुले जैमिनीलाई केन्द्रमा राखेर मात्र बार्ता सम्भव हुने उल्लेख गर्दै जैमिनी नगरपालिका जनमोर्चाले पाएको खण्डमा सहमति हुने र नपाएमा एक्लै चुनावमा जाने बताएका थिए ।
गत निर्वाचनमा केहि प्राबिधि समस्याका कारण चुनाव हार्नु परेको भएपनि जैमिनीमा प्रमुख शक्ति राष्ट्रिय जनमोर्चा भएकाले राष्ट्रिय जनमोर्चाले जैमिनी छोडेर जानु परेको खण्डमा गठबन्धनले सार्थकता नपाउने बताए ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रिय सचिव कृष्ण अधिकारी, बागलुङ जिल्ला अध्यक्ष अमर थापा, सचिव भिमलाल पोखरेल र अखिल नेपाल जनजाती सम्मेलनमा पूर्व सल्लाहकार नरबहादुर पुनले मन्तव्य व्यक्त गरेका थिए ।
राष्ट्रिय जनमोर्चा जैमिनी नगरका अध्यक्ष डिलबहादुर श्रीसको अध्यक्षता सदस्य चन्द्रबहादुर केसीको स्वागत र सचिव ठाकुरप्रसाद शर्मा आचार्यको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।