लक्षित बर्गका कार्यक्रम संचालन गर्दा एकिकृत सेवा कार्यालय र स्थानिय तह विच सहकार्य गरिने

  • माघ २५, २०८२

बागलुङ-  तत्कालिन सामाजिक बिकास कार्यालय र उद्योग तथा पर्यटन कार्यालय मिलेपछि बनेको एकीकृत सेवा कार्यालयले जिल्ला स्तरीय समन्वय बैठक आईतबार बागलुङमा सम्पन्न गरेको छ । कार्यालयले चालु बर्ष गर्ने सामाजिक क्षेत्रका क्रियाकलापको सार्वजनिकीकरण समेत गरेको हो ।  कार्यक्रम मार्फत लक्षित बर्गको बजेटलाई सबै पालिकाको सहकार्यमा खर्च गरेर कार्यान्वयन गर्ने समेत जनाएको छ । 
महिला बालबालिका, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुकोलागि बिनियोजित बजेट र कार्यक्रमलाई व्यवस्थित बनाउन सरोकारवालाको बैठक समेत गरिएको हो । कार्यालयका प्रमुख शिव प्रसाद शर्माको अध्यक्षतामा आइतबार बसेको बैठकले तत्काल कार्यक्रमहरु संचालन गरेर सफल बनाउने निधो गरेको शर्माले बताए । त्यसकालागि विभिन्न अपांगता भएकाहरुको संघसंस्था, जेष्ठ नागरिक संघ समेतले कार्यक्रमलाई सफल बनाउनुपर्ने निर्णय समेत गरिएको हो । 
त्यस बाहेक पालिका तहमा रहेको महिला तथा बालबालिका शाखाले पनि आफ्ना कार्यक्रममा दोहोरोपना नहुने गरी सहकार्य गर्दै आफ्नो क्षेत्रको बिकासमा ध्यान दिन जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले आग्रह गरे । सामाजिक क्षेत्र बलियो बन्दा अन्य बिकासको क्षेत्रमा पनि सुशासन कायम हुने भन्दै सबै क्षेत्रले आफ्नो क्षमता बिकास र अन्य क्रियकलापमा ध्यान दिएमा बजेटको उपयोगिता बढ्ने पनि बताए । 
कार्यक्रममा जिल्ला समन्वय अधिकारी कृष्णराज गौतम, नेपाल पत्रकार महासंघका अध्यक्ष राम थापा अविरल,  गैसस महासंघका अध्यक्ष मुक्तिराम सापकोटा, अपांगता भएकाहरु, महिला तथा बालबालिका शाखाका प्रमुखहरु समेतले तमान बिषयमा सहकार्य गरेर जाने बताए । त्यसकालागि उचित प्रचार प्रसार गरेर सबैलाई सेवामा जोड्ने समेत निर्णय भएको हो । आइतवार आयोजित कार्यक्रम श्याम थापाको संचालनमा सम्पन्न भएको थियो । 
कार्यालय एकीकृत भएपनि यहाँ २ सय १७ पुर्वाधारका योजना समेत छन् । ती बाहेक उद्योग तथा व्यवसाय दर्ता र सामाजिक बिकासको काम पनि गर्नुपर्ने बाध्यता छ । तर समन्वयमा गर्दा ती सबै क्रियाकलापमा सफल भइने शर्माको भनाइ छ । 

प्रतिक्रिया