तंग्राम—भिमापोखरा जोड्ने पक्की बन्यो

  • असार ४, २०८२

बागलुङ - बर्खा लाग्यो कि वारीको गाडी वारी र पारीको गाडी पारी नै हुन्थ्यो । काठेखोला गाउँपालिका—२ र ४ को डुडियाघाटमा काठेखोला माथि पुल नहुँदा बर्खामा खोला बढेपछि यात्रुले निकै सास्ती खेप्थे । तंग्राम धम्जा र तारा खोलाको विभिन्न वडामा जाने सवारी बर्खामास खोलामा पुल नहुँदा लामो दुरी तय गरेर कि त बिहुँ हुँदै आउनुपर्थ्यो । कित अर्को लामो बाटो भिमापोखरा हुँदै बागलुङ आउनुपर्थ्यो । अब यो बर्खाबाट भने नागरिकले यो सास्ती व्यहोर्नुपर्ने छैन ।

काठे खाेलाको लामा बगरमा केही वर्ष अगाडि नै पक्की पुल बनिसकेको छ भने डुडियाघाटमा पुल निर्माण सम्पन्न हुने चरणमा छ । अहिले डुडियाघाटमा पक्की पुलको ढलान सकेर निर्माण कम्पनीले पर्खालको काम अगाडि बढाएको छ । काठेखोला गाउँपालिकाको–२ भिमापोखरा र वडा नम्बर ४ तंग्राम जोड्नेगरी निर्माण भएको उक्त पुल असार मसान्तसम्म हस्तान्तरण गर्नेगरी काम अगाडि बढेको निर्माण कम्पनी बि.एम.ए.निर्माण सेवाका सञ्चालन विमलेश आचार्यले बताए ।

‘पुल ढलानको सबै काम सकिएको छ, अब हामीले पुलको साइड साइडमा वाल लगाउने काम सुरु गरेका छौँ,’उनले भने,‘असार मसान्तभित्रै पुल सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।’ उक्त कामका लागि पर्याप्त मजदुर नपाउँदा केही ढिलो भएको उनले बताए । ‘हामीले चाहे जति मजदुरलाई काममा लगाउन सकेका छैनौँ,’उनले भने,‘जनशक्तिको कमिले गर्दा हामीले चाहे भन्दा केही ढिलो भएको छ । असार मसान्तसम्म सकेर यो बर्खा गाडी वारपार गर्ने बनाउँछौँ ।’

गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय बागलुङ मार्फत काम भइरहेको उक्त पुल निर्माणका लागि बि.एम.ए.निर्माण सेवाले २०८० कार्तिक १७ गते १८ महिना भित्र निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको थियो । पहिलो वर्ष जम्मा एक करोड रुपैयाँ मात्रै बजेट विनियोजन भएकाले फाउण्डेसनको काम मात्रै भएको थियो । यो आर्थिक वर्षमा भने पुल सम्पन्न हुने देखिएको छ । यस पटक पूर्वाधार कार्यालय अन्तर्गत प्रदेश सरकारले दुई करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । आर.सि.सि.टी.बिम प्रकारको पुल ८.४० मिटर चौडाइ र २० मिटर लम्बाइको रहेको छ ।

अहिले पुलको सबै काम सकिएर पर्खाल लगाउने काम जारी रहेको छ । पूर्वाधार विकास कार्यालयले चार करोड १२ लाख बढीको लागत स्टीमेट तयार गरेकोमा पुल निर्माण कम्पनीले १२.३५ प्रतिशत कम मूल्यमा ठेक्का लिएको लिएको थियो । निर्माण कम्पनीले कामको जिम्मा लिँदा ३ करोड ६२ लाख २२ हजार रुपैयाँ कबोल गरेको थियो । यो पुल निर्माण भएपछि धम्जा तंग्राम र तारा खोला समेत यो सडक हुँदै बाह्रै महिना सवारी चल्नेछन् । धम्जा देउराली सामुदायिक होमस्टेका सञ्चालक हिमाल सागर श्रेष्ठले पुल निर्माण भएपछि सवारी सञ्चालनमा सहज हुने र होमस्टेमा आउनेहरू बढ्ने विश्वास व्यक्त गरे ।

‘बर्खामास खोलामा गाडी डुबेर इन्जिन नै बिग्रिन्थ्यो, अब त पुल बन्यो, यो बर्खाबाट त सजिलो हो,’उनी भन्छन्,‘हामीले गाउँमा भर्खर होमस्टे सञ्चालनमा ल्याएका छौँ । बाटो सहज भएपछि पाहुनाहरू आउने क्रम पनि बढ्ला ।’ तारा खोला जानका लागि काठे खोलाको तंग्राम र धम्जा देउराली हुँदै जान छोटो दुरी पर्ने भए पनि पुल नहुँदा बर्खामा सवारी साधनलाई समस्या हुने गरेको थियो ।

बर्खाको समयमा धम्जाबाट बिहुँ हुँदै घण्टौँ लगाएर घुम्नुपर्ने बाध्यता पुल निर्माण भएपछि हट्ने काठेखोला—३ धम्जाका सवारी चालक दीपेन्द्र रानाले बताए । ‘दुई घण्टाको बाटो घुम्दा चार घण्टा लाग्थ्यो, अब पुल बन्यो सजिलो हुने भो, सडकको पनि स्तरोन्नति भयो पनि एक घण्टामै धम्जा पुग्ने वातावरण बन्छ,’उनले भने । डुडियाघाटमा मात्र नई काठे खोलाका विभिन्न ठाउँमा धमाधम पुल निर्माण भइरहेका छन् । पालिका भित्र दुई वटा पक्की पुल सञ्चालनमा आइसकेका छन् भने एउटा पुल निर्माणको अन्तिम चरणमा पुगेको छ ।

गाउँपालिकाको सिफारिस तथा प्रदेश सकारको १२ करोड लगानीमा काठेखोला भित्र तीन वटा पक्की पुल निर्माण भएको बताउँदै एउटा पुल निर्माणको अन्तिम चरणमा काठेखोला गाउँपालिका अध्यक्ष राजु थापाले बताए ।   तीन वटा पक्की पुल निर्माण भएपछि रेश, तंग्राम र  धम्जामा अब बाह्रैमास यातायातका साधन चल्ने भएको गाउँपालिकाका अध्यक्ष थापाले बताए ।

‘पुल निर्माणका लागि ठूलो बजेट आवश्यक पर्ने भएकाले हामीले प्रदेश सरकारलाई योजना सिफारिस गरेर पठाएका थियौँ,’अध्यक्ष थापाले भने,‘प्रदेश सरकारले काठे खोलाको अधिकांश भाग समेट्ने गरी अहिले सम्म तीन वटा पक्की पुल निर्माणका लागि बजेट विनियोजन गरेको थियो, दुई वर्ष अघि लामा बगर, एक वर्ष अघि रेश खोला पुल बन्यो र अहिले डुडिया खोलामा पुल निर्माण सकिएपछि पालिकाभरी समस्या हुन्न ।’

गाउँपालिकाको वडा नम्बर ६ बिँहु र वडा नम्बर–२ भिमापोखरा जोड्ने गरी लामाबगरमा दुई वर्ष पहिले ३० मिटर लामो पक्की पुल निर्माण भएको थियो । उक्त पुल ३ करोड ३१ लाख लागतमा  निलगिरी÷नेशनल जेभीले निर्माण गरेको हो ।  गत वर्षदेखि रेश जाने सडकको एक्लेखेतमा २५ मिटर लामो पक्की पुल निर्माण भएको थियो । उक्त पुल ५ करोड लागतमा प्रदेश सरकारको भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले निर्माण गरेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय