महायज्ञ मार्फत आश्रमका लागि ९ करोड ७० लाख संकलन

  • कार्तिक २९, २०८२

बागलुङ । मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि आयोजना गरिएको श्रीमद् भागवत ज्ञानविज्ञान महायज्ञ सफलतापूर्वक सम्पन्न भएको छ। कात्तिक २१ गतेदेखि बागलुङ नगरपालिका–४, निरयघाटस्थित भविष्यको आश्रम परिसरमा सुरु भएको महायज्ञ शनिबार विधिवत् रूपमा समापन गरिएको हो।

आयोजक समितिका अनुसार महायज्ञ अवधिभर जम्मा ९ करोड ७० लाख  दान संकलन भएको छ। महायज्ञलाई भव्यरूपमा सफल बनाउने हजारौँ दानवीर दाताहरूको योगदानले आश्रम निर्माण अभियानलाई महत्वपूर्ण सहयाेग पुगेकाे छ । समापनको दिन शनिबार मात्रै  ७५ लाख दान संकलन भएको आयोजक समितिले जानकारी दिएको छ। यसअघि शुक्रबार १ करोड ३५ लाख दान आएको थियो। महायज्ञ अवधिमा सबैभन्दा बढी दान बिहिबार १ करोड ६५ लाख संकलन प्राप्त भएको थियो।

दैनिक रूपमा भक्तजन, स्थानीयवासी र देश–विदेशबाट सहयोग गर्ने समुदायको निरन्तर सक्रियताका कारण महायज्ञ ऊर्जा, सहभागिता र समाजसेवाको उत्कृष्ट उदाहरण बनेको आश्रमले जनाएको छ।

महायज्ञ आयोजक समितिकी कोषाध्यक्ष सरिता गौतमका अनुसार महायज्ञबाट  १० करोड संकलन गर्ने लक्ष्य राखिएको थियो। हाल प्राप्त रकम लक्ष्य नजिक पुगेको उल्लेख गर्दै गौतमले अनलाइन मार्फत सहयोग आउने क्रम निरन्तर जारी रहेका कारण कुल रकम १० करोड पुग्ने विश्वास व्यक्त गरेको बताइन ।  साथै महायज्ञकाे आयव्यय विवरण पत्रकारसम्मेलन मार्फत चाँडै सार्वजनिक उनले जानकारी दिइन ।

महायज्ञ बागलुङ, पर्वत, म्याग्दी लगायत विभिन्न जिल्लाका भक्तजनका साथै विदेशमा बसोबास गर्ने नेपालीहरूले पनि सक्रिय सहभागिता जनाएका छन्। आश्रमको एक कोठा निर्माण खर्च ५ लाख ११ हजार पर्ने भएकाले संस्थागत रूपमा समेत उल्लेखनीय सहयोग प्राप्त भएको आश्रमले जनाएको छ।

महायज्ञ अवधिभर १ हजारदेखि ११ लाखसम्मका रकमहरू विभिन्न व्यक्तिहरू तथा संस्थाहरूबाट दान गरिएकाे छ । मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीका अनुसार महायज्ञबाट संकलित रकम सडक आश्रित, असहाय, अपाङ्ग, मानसिक रोगी तथा घरबारविहीन व्यक्तिहरूको पुनर्स्थापनाका लागि निर्माणाधीन आश्रम बागलुङ भवन निर्माणमा लगानी गरिनेछ।

दाताहरूको सहभागीता, मनकारी भावना र सेवा–मूल्यप्रति देखिएको उत्साहले महायज्ञ ऐतिहासिक रूपमा सफल भएको महायज्ञ मूल आयाेजक समितिका संयाेजक सहदेव राजभण्डारीले बताए ।  महायज्ञको शनिबार समापन गरिएको छ । 

प्रतिक्रिया