संघले निति बनाउने हो प्रदेश र स्थानीयलाई काम गर्न दिनुपर्छ – मुख्यमन्त्री पाण्डे

  • जेठ ६, २०८३

बागलुङ - गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघिय सरकारको काम निती बनाउने र काम गर्ने प्रदेश र स्थानिय सरकारले भएको बताएका छन । बागलुङ नगरपालिकाका जनप्रतिनिधिले पदबहादल गरेको ४ वर्ष पुगेको अवसरमा आयोजित  विकास र समृद्धिको यात्रामा हाम्रो चार वर्ष कार्यक्रममा बोल्दै पाण्डेले संघिय सरकारल नीति मात्र बनाएर प्रदेश र स्थानीय तहलाई काम गर्न दिनुपर्ने जोड दिएका थिए ।  उनले संघ र प्रदेश सरकारको सहकार्य नभए विकास असंभव हुने भएका कारण संघले नीति बनाउने, प्रदेश र स्थानीय तहले विकास गर्नुपर्ने बताए । पाण्डेले हिजोसम्म केही भएन, अहिले सबै काम भयो भन्न थालियो भने नेपालीको प्रगती हुन नसक्ने भनाई राखेका थिए । 
अहिले प्रदेश सरकार र स्थानिय सरकारले गरेका काम जनतालाई देखाउन नसक्दा जनप्रतिनिधि र राजनीतिक नेताप्रति जनताको आक्रोस बढेको बताए ।
उनले स्थानिय सरकार नजिकको सरकार भएको रे सबै आवस्यकता र समस्या देख्ने भएको हुँदा सवैभन्दा बढि काम पनि स्थानिय सरकारले नै गरेको बताए । ‘हामीले गरेका कामको फेहेरिस्त जनतालाई देखाउन किन कन्ज्युस्याँइ गरियो ? यसबाटै नागरिकले राजनीतिलाई बेवास्ता गरे’ उनले भने, ‘अर्थमन्त्रीको श्वेत पत्र हेर्दा धेरै विकासका जगहरु संविधान जारी भएपछिको दश वर्षमा सम्पन्न भएका रहेछन् ।’ भदौ अघि केही नभएको, फागुनपछि विकास भएको भाष्यबाट बाहिर निस्कन उनले आग्रह गरे ।
४ हजार मेगागाट बिजुलीबाट ११ हजार मेगावाटमा पुगेको नेपालमा के कति काम भयो आम नागरिकले बुझ्नुपर्ने उनले बताए । ‘हामीले सुशासनमा केही कमजोरी गरेका हौं, अझैपनि प्रशासन सुधार गर्न सकिन्छ’ उनले भने, ‘सडक, खानेपानी, स्वास्थ्य र शिक्षामा उल्लेख्य प्रगती गरेको कुरा हामीले देखाउन पनि सकेनौं ।’ ५१ वर्षबाट औषत उमेर ७२ वर्ष पुगेको, माध्यामिक विद्यालय पढ्न घर छाड्ने अवस्थाबाट घरछेवैमा गुणस्तरीय शिक्षा पाउने, पालिका तहमै अस्पताल र चिकित्सकको सेवा पाउने कामलाई उपलब्धी मान्नुपर्ने उनले बताए ।

अहिले पनि संघ सरकारले प्रदेशलाई बेवास्ता गर्दा विकासबाट जनताले लाभ लिन नसकेको उनको भनाइ छ । ‘नजिकको स्थानीय सरकारले दैनिक आवस्यकताका काम गर्ने, प्रदेश सरकारले विकास निर्माण गर्ने र संघले नीति बनाउने हो’ उनले भने, ‘संघले प्रदेश र स्थानीय सरकारको अधिकारमा हस्तक्षेप गर्ने होइन ।’
उनले स्थानीय मदिरा र गाजाको बैधानिकता दिने नीति बनाएर लागू गर्ने काममा पनि संघिय सहमतिले ढीला भएको बताए ।
बागलुङ नगरपालिकाले चार वर्षमा बालमैत्री नगर घोषणा, छाडा कुकुर राख्ने होस्टेल निर्माण, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार गरेको नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बताए । त्यस बाहेक पुर्वाधारतर्फ दर्जन पर्यटकीय क्षेत्रको विकास, ग्रामीण सडकहरु कालोपत्र गरिएको र सुन्तला सहितका फलफूल उत्पादन बढाएर आर्थिक विकासमा जोड दिएको श्रेष्ठले जानकारी दिए । संस्थागत सुशासनलाई प्राथमिकता दिएर कार्यालय व्यवस्थापन, सबै सेवा अनलाइनमार्फत दिने, सेवा प्रवाहको तथ्यांक डिजिटल बनाउने काम भएको पनि उनले जानकारी दिए ।
कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री गोविन्द बहादुर नेपाली, उपसभामुख बिना थापा, सांसद चम्पा खड्का, कृष्ण पाठक, नेकपाकी मुख्य सचेतक कुशुम बुढा, लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कावा प्रमुख कल्पना हरिजन लगायतले शुभकामना दिएका थिए । चार वर्ष सम्ममा गरेका कामलाई लिखित, मौखिक र कार्यक्रमको अडियो भिडियो समेत बनाएर नगरपालिकाले प्रस्तुत गरेको थियो ।
कार्यक्रममा नगरपालिकाले सर्वोकृष्ट कर्मचारीको रुपमा प्रशासन शाखा प्रमुख भिमसेन पन्त र उत्कृष्ट कर्मचारीको रुपमा राजश्व शाखा प्रमुख सरस्वती देवी रेग्मीलाई पुरस्कार तथा सम्मान गरेको थियो । पन्तलाई नगर रु १ लाख रुपैयाँ र रेग्मीलाई नगद ७५ हजार रुपैयाँ प्रदान गरिएको प्रमुख प्रशासकिय अधिकृत इश्वरी प्रसाद शर्माले जानकारी दिए । 
नगरप्रमुख श्रेष्ठको अध्यक्षता, प्रशासकीय अधिकृत भीमसेन पन्तले सञ्चालन गरेको कार्यक्रमको समापन भने उपप्रमुख राजु खड्काले गरेका थिए । 
 

प्रतिक्रिया