बागलुङ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित जिल्लाका नागरिकको राहत,उद्धार तथा पूनस्थापनाका लागि बागलुङ ६ वटा पालिकाहरुले २१ लाख ७० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन । सरकारले विपदका लागि संचालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेका हुन । रसुवा, नुवाकोट र धादिङ जिल्लाबाट बग्ने भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा बाढीले पु¥याएको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै तत्काल राहत सहयोग गरेका हुन ।
जिल्लामा ४ नगरपालिका र ६ गाउँपालिका गरी १० वटा स्थानिय तह रहेका छन । जसमा हालसम्म तिनवटा नगरपालिका र ३ वटा गाउँपालिकाले आर्थिक सहयोग गरेका हुन । सहयोग गर्नेमा सवैभन्दा बढि गलकोट नगरपालिकाले ६ लाख ७० हजार रुपैयाँ सहयोग गरेको छ । त्यसैगरी बागलुङ नगरपालिकाले ५ लाख रुपैयाँ, बडिगाड गाउँपालिकाले ५ लाख रुपैयाँ, ताराखोला गाउँपालिकाले २ लाख रुपैयाँ, काठेखोला गाउँपालिकाले २ लाख रुपैयाँ र जैमिनी नगरपालिका १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेका हुन । जैमिनी नगरपालिकाले तत्कालका लागि १ लाख रुपैयाँ निर्णय गरेपनि सरकारको थप सर्कुलर अनुसार रकम थप गर्ने जनाएको छ । बडिगाड गाउँपालिकाले गाउँपालिकमा कार्यरत कर्मचारी र जनप्रतिनिधिको तिन दिन बराबरको तलब सहित ५ लाख रुपैयाँ सहयोग गर्ने अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिईन ।
विपद्को यस कठिन घडीमा राज्यका सम्पूर्ण अंग, सामाजिक संघसंस्था तथा आम नागरिकलाई उद्धार, राहत तथा सहयोगको कार्यमा जुट्नका निम्ती पालिकाका प्रमुखहरुले अपिल समेत गरेका छन । विपद्ले देश नै संकटमा परेको हुँदा पीडितको पीडामा सिंगो देश एकजुट हुनु जरुरी रहेकोर्ले नेपाल सरकारको प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा पालिकाको तर्फबाट आर्थिक सहयोग गर्ने निर्णय गरिएको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ बताउँछन ।
जिल्लाका तमानखोला गाउँपालिका, निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिका र बरेङ गाउँपालिकाले भने अहिले सम्म सहयोग गर्ने घोषणा गरेका छैनन ।
बुधबार बिहान आएको भीषण बाढीले मानवीय तथा भौतिक क्षति पु¥याएपछि उद्धार तथा राहतका लागि सहयोग रकम घोषणा गर्ने अभियान संचालन हुन थालेको हो ।