मेलमिलाप दिवसको अवसरमा काँग्रेस बागलुङको विचार गोष्ठी

  • पुस १४, २०७८

बागलुङ - नेपाली काँग्रेस बागलुङले ४६औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा विचार गोष्ठीको आयोजना गर्ने भएको छ । पार्टीका संस्थापक नेता बीपी कोइराला, र गणेशमान सिंह लगायतका नेताहरु लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउने गरिन्छ । दिवसको अवसरमा काँग्रेस बागलुङले पौष १६ गते विहान ११ बजे ‘आजको राजनैतिक सन्दर्भमा मेलमिलापको महत्व’ विषयमा विचार गोष्ठीको कार्यक्रमको आयोजना गरेका काँग्रेस बागलुङका जित शेरचनले जानकारी दिए । गोष्ठीमा केन्द्रिय प्रदेश र जिल्ला स्तरका नेता तथा कार्यकर्ताको सहभागिता रहने छ ।  
    २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले ‘कू’ गर्दै शासन आफ्नो हातमा लिएका थिए । कांग्रेस संस्थापक एवम् तत्कालीन प्रधानमन्त्री वीपी कोइराला लगायतलाई जेल हालियो । महेन्द्रले बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्ध मात्र लगाएनन् नेताहरु माथि देशद्रोहको मुद्दा समेत लगाए । तर, २०२५ कात्तिक १४ गते वीपी कोइराला लगायतका नेताहरु जेलमुक्त भए । त्यसपछि उनीहरु भारतमा निर्वासन जीवन बिताउन थाले । त्यसको ८ वर्षपछि अर्थात् २०३३ साल पुस १६ गते वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का लगायतका नेताहरु आफूहरु माथि लगाइएको मृत्युदण्डको मुद्दाको बेवास्ता गर्दै राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्ने नीति अंगाल्दै स्वदेश फर्किए । 
मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ उनीहरु भारतको निर्वासित जीवन त्यागेर स्वदेश फर्किएको दिनको सम्झनामा दिवस मनाउँदै आईएको काँग्रेस बागलुङका सचिव हरिहर शर्मा बताउँछन ।   दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक संक्रमणबाट नेपाललाई बचाउन आफू माथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्किएका कांग्रेस नेताहरुले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए । प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन संघर्ष गरेका बीपी कोइरालाले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सारेको दृष्टिकोण अहिले पनि उत्तिकै सान्दर्भिक मानिन्छ । राष्ट्रियता, प्रजातन्त्र र आर्थिक समृद्धि ‘राष्ट्रिय एकता तथा मेलमिलाप’बाट मात्रै सुनिश्चित हुने भन्दै ४४ वर्षअघि अवलम्बन गरेको नीति सान्दर्भिक रहेको नेताहरु बताउँछन् ।
 

प्रतिक्रिया