गणेश मावि ४४ औं वार्षिकोत्सवमा मन्त्री पाठकले भने-शिक्षा क्षेत्रमा परिवर्तन आवश्यक छ 

  • पुस २०, २०८१

बागलुङ- गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले बदलिँदो युगसंगै शिक्षा क्षेत्रमा पनि आमूल परिवर्तनको आवश्यकता रहेको बताए । बागलुङ नगरपालिका –१४ नारायणस्थानमा रहेको गणेश माध्यामिक विद्यालयको ४४ औं बार्षिकोत्सवको उद्घाटन गर्दै उनले विद्यार्थीले प्रारम्भिक शिक्षा प्राप्त गर्न पाउने नैसर्गिक अधिकार रहेकाले आफ्ना बालबालिकालाई नियमित विद्यालय पठाउनका लागि अभिभावकलाई आग्रह गरे । उनले महंगो बन्दै गएको शैक्षिक क्षेत्रलाई राज्यले जनमैत्री, सुगम र गुणस्तरियुक्त बनाउन, सामान्य नागरिककका बालबालिकाले शिक्षा आर्जन गर्ने थलो र वातावरण निर्माण गर्नुपर्ने बताए । 
‘संविधानमा समाजवाद उन्मुख राज्य व्यवस्था भनेर लेखिए पनि त्यहिं अनुरुप शिक्षा व्यवस्थामा परिवर्तन नहुँदा मुलुकको शिक्षा क्षेत्रमा समस्या देखा परेको छ पाठकले भने,–‘हामी हाम्रा बालबालिकाको अधिकारलाई कहिँ पनि बञ्चित गराउनु हुँदैन, समाजवाद उन्मुख नीति निर्माण गर्न नसक्दा परिणाम स्वरुप मुलुकको शैक्षिक क्षेत्रमा समस्या देखा परेका छन् । यस्ता समस्या समाधान गर्न हामीले अंगिकार गरेको व्यवस्था अनुसार नीति निर्माण गर्नुपर्छ ।’   
उनले देशको शैक्षिक क्षेत्रमा संस्थागत र सामुदायिक विद्यालयले महत्वपूर्ण योगदान गरेको चर्चा गरे । सामुदायिक र संस्थागत विद्यालयमा सबै बालबालिकाले सहज रुपमा पढ्ने वातावरण बन्नुपर्ने मन्त्री पाठकको जोड थियो । उनले विद्यार्थीको शैक्षिक विकासका लागि शिक्षक र अभिभावकको पनि उत्तिकै दायित्व भएको बताए । पाठकले गणेश मावि जिल्लाकै नमुना विद्यालय भएको हुँदा यहाँबाट उच्च शिक्षामा पुगेका विद्यार्थीहरु धेरै राम्रो प्रगतीमा खुसी व्यक्त गरे । 
मन्त्री पाठकले दुर्गमका जनता अब स्वास्थ्य सेवाबाट बन्चित हुनुनपर्ने बताए । ‘गण्डकी प्रदेश सरकार ग्रामिण क्षेत्रका जनताको स्वास्थ्यप्रति सधैं सचेत छ’ पाठकले भने, ‘त्यसका लागि दुर्गमका स्वास्थ्य संस्थाहरुको स्तरोन्नतीको काम भईरहेको छ ।’ उनले गण्डकी प्रदेशका सवै स्वास्थ्य संस्थाबाट जनताले सहज रुपमा सेवा प्राप्त गर्न सक्ने वातावरण बनाउने आफु प्रतिवद्ध रहेको बताए । 
बार्षिकोत्सवकै अवसरमा विद्यालयमा नवनिर्मित बालउद्यानको उद्घाटन गरिएको छ ।  बालउद्यान निर्माणका निम्ती गण्डकी प्रदेश सरकारबाट ५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । 
बार्षिकोत्सवको अवसरमा बागलुङ नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष चक्रबहादुर खत्री, वडा नं. १३ का वडा अध्यक्ष नारायण शर्मा पौडेल, वडा नं.१२ का वडा अध्यक्ष कोपिलामणी शर्मा नेकपा एमाले बागलुङ नगरकमिटीको सचिव धुव्र श्रेष्ठ, नेपाल शिक्षक संघ बागलुङका प्रतिनिधि घनश्याम रिजाल, त्रिभुवन मावि पैयुँपाटाका प्रधानाध्यापक कृष्ण प्रसाद शर्मा, स्थानिय समाजसेवी तथा सम्मानित व्यत्ति लेखनाथ सुवेदी, विद्यालयका पूर्व विद्यार्थी तथा स्याङ्जा जिल्लाका प्रहरी उपरिक्षक शालिग्राम शर्मा लगायतले विद्यालयको शैक्षिक विकासका निम्ती सवैको साथ र सहयोगको आवश्यकता रहेको बताए । 
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक एकनाथ रिजालले विद्यालयको प्रगती तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयमा हाल ७१८ विद्यार्थी अध्ययनरत रहेका छन । जसमध्ये १ सय जना विद्यार्थी बाहिरी वडा र बाहिरी जिल्लाका रहेको प्रधानध्यापक रिजाल बताउँछन । कक्षा १२ सम्म संचालन भएको यस विद्यालय धौलागिरी क्षेत्रकै नमुना विद्यालयको रुपमा परिचित रहेको छ । सो कारण देशका अन्य विद्यालयबाट पनि शैक्षिक भ्रमणका लागि विद्यार्थी र शिक्षकहरु आउने गर्दछन । विद्यालयले आफ्नै मातहतमा छात्राबास पनि संचालन गरेको छ हाल ५० जना विद्यार्थी छात्रावासमा बसेरै अध्ययन गर्ने गरेको प्रधानाध्यापक रिजालले जानकारी दिए । 
कार्यक्रममा विद्यालयलाई विभिन्न स्तरबाट सहयोग गर्ने सहयोग दाता, पुर्व विद्यार्थी, शिक्षक लगायतलाई सम्मान गरिएको थियो । बार्षिकोत्सवको अवसरमा विद्यालयमा विभिन्न खेलकुदका कार्यक्रम तथा सांस्कृतिक कार्यक्रम संचालन गरिएको थियो । 
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालमुकुन्द ढकालको अध्यक्षता व्यवस्थापन समितिका सदस्य स्वर्गेन्द्र बहादुर खत्री र विद्यार्थी सदिक्षा सुनारको स्वागत तथा नारायण श्रेष्ठ र शिक्षक केशव शर्माको संचालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया