यातायात व्यवस्था कार्यालय बागलुङले ट्रायल पास गरेकै दिन लाईसेन्स दिने कार्य सुरु गरेको छ । हाल ट्रायल पास गरेपछि एक वर्षसम्मको अवधिका लागि छुट्टै क्यूआर कोडसहितको परीक्षणकालीन सवारी चालक अनुमित पत्र व्यवस्था गरिएको छ । हाल चालकले ट्रायल पास गरेपनि एक वर्ष सम्म लाईसेन्स नपाउदा कर तिरेको रसिद बोकेर हिड्नु पर्ने बाध्यता रहेको थियो । सो कुरालाई मध्यनजर गर्दै परिक्षणकालिन लाईसेन्सको व्यवस्था गरिएको यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारसिङ थापाले जानकारी दिए । मंगलबारबाट एक वर्षे परिक्षणकालिन सवारी चालक अनुमति पत्र बाड्न सुरु गरेका छौँ । थापाले भने,–‘जसका कारण अहिले ट्रायल पास गरिसकेपछि पनि राजश्व तिरको बिलको भरमा मात्र सवारी चलाउनु पर्ने बाध्यता समेत हटेर गएको छ । परिक्षणकालिन सवारी चालक अनुमति पत्रमा एक वर्षको समय भित्र पाँच पटक सम्म ट्राफिक नियमको उल्लंघन गरेमा स्मार्ट लाईसेन्स प्रकृयामा समेत जादैन ।’ उनले लाईसेन्सले सवारी चालकलाई ट्राफिक नियममा ल्याउन पनि थप सहज हुने आशा गरेका गरेको बताए ।
अनुमति पत्रमा जडान गरिएको क्यूआर प्रणालीले लाईसेन्स नक्कली हो या सक्कली हो समेत छुट्टाउने सक्ने प्रबिधी समेत रहेको छ । परिक्षणकालिन सवारी चालक अनुमति पत्र व्यवस्था गरिएपछि आफुहरुलाई निकै सहज हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका कार्यालय प्रमुख बद्रि नाथ शर्माले जानकारी दिए । परिक्षणकालिन अनुमति पत्रले सवारी चालकलाई थप जिम्मेवार समेत बनाउने उनले बताए ।