काठमाडौं । यातायात व्यवसायीहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली एक महिनाका लागि फिर्ता लिने निर्णय गरेसँगै व्यवसायीहरूले आन्दोलनका कार्यक्रम हालका लागि स्थगित गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।
‘हालको लागि आन्दोलन स्थगित भएको छ । यसबारे थप निर्णय सार्वजनिक हुन्छ,’ अध्यक्ष विजय स्वाँरले भने । गण्डकीले ल्याएको उक्त नियमावलीका कारण सार्वजनिक यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए ।
उनीहरू देशभर सडक ठप्प पारेपछि संघीय सरकारसमेतको उपस्थितिमा वार्ता भएको थियो । गएराति भएको सहमतिको ड्राफ्ट आजै साँझ गण्डकी प्रदेश सरकारसमक्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पठाएको थियो ।सोही अनुसार, गण्डकी सरकारले एक महिनाका लागि नियमावली स्थगित गरेको छ ।