एकिकृत समाजबादी बागलुङले एक जिल्ला सदस्य बराबर २० पार्टी सदस्य अभियान संचालन गर्ने 

  • असोज १७, २०७८

नेकपा एमाले सँग विभाजन भएको नेकपा एकिकृत समाजबादी बागलुङले एक जिल्ला सदस्य बराबर २० पार्टी सदस्य अभियान संचालन गर्ने भएको छ । समाजबादीको शनिबार सम्पन्न पहिलो पुर्ण बैठकले सदस्यता विस्तार गर्नका निम्ती सो अभियान संचालन गर्ने निर्णय गरेको हो । आईतबार पत्रकार सम्मेलन मार्फत बैठकको निर्णय सार्वजनिक गर्दै विगतमा नेकपा एमालेको सदस्य रहेका  सदस्यलाई पुरानै मितिलाई कायम गरी नविकरण गरिने र सदस्यता नविकरण गर्दा शुल्क अनिवार्य लिने निर्णय गरेको जिल्ला कमिटी बागलुङका सचिव भरत पुरीले जानकारी दिए । पत्रकार सम्मेलनमा पार्टीका आगमी कार्यक्रमका बारेमा जानकारी दिँदै सचिव पुरीले समाजबादीको पहिलो प्रथमिकता भनेको पार्टीका जनसंगठनका भेला सम्पन्न गर्ने र सदस्यता बृद्धि गर्ने रहेको बताए । पार्टीको गत असोज ९ गते आयोजित जिल्ला भेलाबाट लाल बहादुर थापाको नेतृत्वमा समाजवादीको ७५ सदस्यीय जिल्ला कमिटि गठन भएको थियो । पार्टीले जिल्ला कमिटी गठन पश्चात १५ सदस्यीय सचिवालय समिति समेत गठन गरेको छ । समितिको अध्यक्षमा लालबहादुर थापा, उपाध्यक्षमा केशर छन्त्याल, सचिवमा भरत पुरी, उपसचिवमा चक्र थापा, सदस्यहरुमा हरिबहादुर घर्ति, श्याम पुन, इन्द्र थापा, पिंगलराज गौतम, जिवन आचार्य यामबहादुर श्रीष, सिता छन्त्याल थापा शालिकग्राम शर्मा, वेदप्रसाद शर्मा प्रदिप आचार्य र सुरज बोसेल रहेका छन ।  समाजबादीले वडा तह सम्मका इन्चार्ज र आगमी कात्तिक सम्म सबै जनवर्गिय संगठनको भेला गर्ने र सदस्यतालाई विस्तार गर्ने जनाएको छ । 
समाजवादी बागलुङका अध्यक्ष लाल बहादुर थापाले तीन महिना भित्र सबै जनसंगठन तथा पेशागत संगठनहरुलाई तीन महिना भित्र पूर्णता दिनेगरी धमाधम संगठन विस्तार भइरहेको बताए । 
सचिवालय, संगठन विभाग, स्कूल विभाग, जनजाति विभाग, पेशागत विभाग लगायतका ३० वटा विभाग गठन गरिसकेका छौं थापाले भने, छिट्टै नै जनसंगठन र पेशागत संगठन पनि निर्माण हुने छ । गाउँगाउँमा समाजबादी पु¥याउने छौं । उनले विद्रोह गर्दै नयाँ पार्टी दर्ता भएपछि समाजवादीमा प्रवेशको समेत लहर आएका बताए ।  एमाले भन्दा ठूलो पार्टी बनाउने लक्ष्य छ, तर समय लाग्ला, अहिले वडा तहमै समाजवादी पु¥याउने हाम्रो योजना हो, त्यही अनुसार संगठन विस्तार भइरहेको छ अध्यक्ष थापाले भने ।
संगठन विभागमा पार्टी अध्यक्ष लाल बहादुर थापा, क्षेत्र नम्बर १ को संयोजकमा पार्टी उप–सचिव चक्र बहादुर थापा, क्षेत्र नम्बर २ को संयोजकमा पार्टी उपाध्यक्ष केशर छन्त्याल, पेशागत विभागको इन्चार्जमा पिङ्गलराज गौतम, महिला विभाग प्रमुखमा सिता छन्त्याल, प्रचार विभागमा शालिकराम शर्मा, युवा इन्चार्जमा प्रदिप आचार्य सुरज बोसेल खेलकुद महासंघ इन्चार्जमा नारायण पौडेल विद्यार्थी विभागको इन्चार्ज प्रदिप जिसी स्वास्थ्य विभागको इन्चार्ज लगायतका विभिन्न ३० विभागमा ५६ जनालाई जिम्मेवारी तोकिएको एकीकृत समाजवादी बागलुङका सचिव भरत पुरीले बताए । 
पार्टीले एक अर्काको रचनात्मक सल्लाहलाई ग्रहण गर्दै आलोचनात्मक ढंगले बहस गर्दै आएकोमा हामीबाट अलगिएर जानेहरुलाई शुभकामना दिदै नयाँ सिद्धान्तको प्रतिपादन गर्न नयाँ पार्टीको जन्म भएको  अध्यक्ष थापाले बताए । 
पार्टीले असोज २१ मा युवा संघको बागलुङ नगर भेला गर्ने, कार्तिक महिना भित्र अनेरास्ववियू, बुद्धिजीवी, जैमिनी नगर युवा भेला, प्रेस संगठन भेला, मजदुर भेला र असोज मसान्त भित्र अनेमसंघको क्षेत्रिय कमिटि बैठक बसिसक्ने बताएको छ । 
समाजबादीले जिल्लाको बागलुङ नगरपालिकाको संयोजकमा जिवन आचार्य, काठेखोलाको यामबहादुर श्रीष, बरेङको संयोजकमा चुडामणी जैसी, गलकोटको संयोजकमा नितु खड्का, ताराखोलाको संयोजकमा नारायण रोका, निसीखोलाको संयोजकमा दिपक पुन, जैमिनीको संयोजकमा इन्द्र थापालाई जिम्मेवारी दिएको छ । 
 

प्रतिक्रिया