बागलुङ- बागलुङमा मंगलबार अर्थात भदाै ११ गते हनुमान नाँच नाचिने भएको छ । ३ सय वर्ष पुरानो यो नाच बागलुङमा ९ वर्षपछि नाचिन लागिएको आइतबार पत्रकार सम्मेलन गरि जानकारी दिईएको छ ।
२०७२ सालमा देखाएपछि विभिन्न कारणले हनुमान नाच नाच्न सकिएको थिएन । योे वर्ष विधिवत रूपमा हनुमान नाच देखाउने तयारी भइरहेको नाच संरक्षण परिषदका अध्यक्ष तीर्थप्रसाद श्रेष्ठले जानकारी दिए । तीन, पाँच, सात र नौ गरी बिजोड वर्ष पारेर नाच नचाउने परम्परा रहेको अध्यक्ष श्रेष्ठको भनाई छ । उनले आगामी भदौ ११ गते सुरु हुने नाच चैतको अन्तिम मङ्गलबार बिर्सजन गरिने जानकारी दिए ।
भदौको पहिलो वा दोस्रो मङ्गलबार पारेर बागलुङ बजारको नारायणचोकमा हनुमानको मूर्ति प्रतिस्थापन गरी पूजा विधि गरेपछि नाच सुरु गर्ने चलन छ । सोही दिन भीमसेनको मन्दिरमा विशेष पूजाआजा गरी बोका बलि दिने परम्परा रहिआएको छ । पौराणिककालका वीर हनुमानको आराधानाले शक्ति प्राप्त हुनुका साथै सुख, समृद्धि प्राप्त हुने विश्वासमा हनुमान नाच नाच्ने गरिएको छ । रामायणका प्रमुख पात्र रहेका हनुमानमा निहित पराक्रम, वीरता, अनुशासन र भक्तिभावलाई नृत्यको माध्यमबाट प्रदर्शन गन्छि ।
हनुमान नाचकोलागि १३ जोडी कलाकारले हनुमानको स्वरुप धारणा गरेर दिने प्रस्तुति कलात्मक हुनुका साथै विभिन्न दश तालमा यो नाच नाचिन्छ । पाँच सय वर्ष पहिले भक्तपुरबाट सुरु भएको नाच पछि त्यहाँबाट बागलुङ बसाइँ सरेर आएका नेवारहरूले हनुमान नाचको संस्कृतिसँगै ल्याएको बताइन्छ । बागलुङमा नेवार समुदायको इतिहास झण्डै साढे तीन सय वर्ष पुरानो छ । १७६८ सालमा पहिलोपटक नेवार जाति बागलुङ प्रवेश गरेको बताइन्छ । हनुमान नाच मल्लकालीन समयमा भक्तपुरका राजा भुपतिन्द्र मल्लले सुरु गरेका थिए । हनुमान नाच मङ्गलबार, बिहीबार र शनिबार नाच्ने पराम्परा रहेको छ । नेवारबाहेक अन्य समुदायका कलाकारलेपनि नाचमा भाग लिने गर्दछन् । पत्रकार सम्मेलनको सञ्चालन जय राजभण्डारीले गरेका थिए ।