बागलुङ- बागलुङमा उत्पादन भएको अर्गानिक वस्तुहरुको बजारिकणका लागि कोशेली घर संचालनमा ल्याईएको छ । बागलुङ उद्योग बाणिज्य संघले स्थानीय उत्पादनको खरीद गरी ब्राण्डीङ गरेर कोसेली घर मार्फत विक्री गर्न थालेको छ । संघले २० लाख लागतमा कार्यालय परिसरमै कोसेली घर स्थापना गरेको छ ।
उद्यमीहरुबाट उत्पादित कृषि जन्य अर्गानिक उपज, हस्तकला सामग्री, पर्यटकीय स्थलको फोटो लगायतका वस्तुहरु विक्री गर्न राखिएको छ ।
स्थानीय उत्पादनको संकलन गरी ब्राण्डीङ गरेर विक्री गर्ने उद्देश्यले संघले गण्डकी प्रदेश सरकार, पर्यटन तथा उद्योग कार्यालय, बागलुङ नगरपालिकाको सहयोगमा कोसेली घर स्थापना गरेको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले बताए ।
“गाउँमा उत्पादन भएको सिन्की, भट्टले बजार पाउदैन, बजारका ठूला होटलमा बाहिरबाट सिन्की आउँछ, बजारको जिम्मा लिने कोही नहुँदा सानो परिणाममा उत्पादन भएको कृषि उपज गाउँमै खेर जान्छ” कँडेलले भन्नुभयो “बजारीकरणको जिम्मा उद्योग वाणिज्य संघले लिएपछि गाउँबाट बजार झर्दा झोलामा बोकेर कृषि उपज ल्याए भैहाल्यो, हामीले ब्राण्ड बनाएर विक्री गर्ने गरेका छौं ।” कोसेली घरमा सिन्की देखि नेपाली कागजका सामाग्री पाइने कँडेलको भनाई छ ।
भटमास, मकै, मह, सिन्की, भट्ट, भाँगो, टिमुर, हस्तकला, बाँसबाट बनेका सामाग्री मायाको चिनो, बागलुङका पर्यटकीय स्थलको फोटो, हातले बुनेका कपडा, काठबाट बनेका भाडा कुँडा लगायतका सामग्री विक्री गर्न थालिएको छ ।
गण्डकी प्रदेश सरकारको रु ३ लाख ७२ हजार, पर्यटन तथा उद्योग कार्यालयको रु ५ लाख, बागलुङ नगरपालिकाको २ लाख र उद्योग वाणिज्य संघ बागलुङको रु ९ लाख गरी रु १९ लाख ७२ हजारको लागतमा कोसेली घर सञ्चालनमा आएको महासचिव ऋषिराम गोतमले जानकारी दिए ।
गौतमका अनुसार संघले कोसेली घरलाई दीर्घकालिन गराउनका लागि ५ लाखको सामग्री खरीद तथा चार लाखको कोष स्थापना गरेको बताए । उक्त कोषबाट सामग्री खरीद र विक्रीका लागि दीर्घकालिन रुपमा सहयोग पु¥याउने छ । कोसेली घर लक्ष्मी पुजाको दिनबाट सुभारम्भ गरिएको छ ।
मायाको चिनोका रुपमा प्रयोगमा आउने सामग्री दिनका लागि समेत कोसेली घर उपयुक्त हुँनेछ । विदेशमा समेत रहेका आफन्तलाई कोसेली पठाउन कोसेली घर प्रभावकारी बन्ने देखिएको छ ।
कोसेली घरको आज गण्डकी प्रदेशसभा सदस्य जित शेरचनले उद्घाटन गरेका हुन । उनले स्थानीय उत्पादन र बजारीकरण मिलाउन कोसेली घर अब्बल हुने शेरचनले बागल्ुङको स्थानिय उत्पादनले राष्ट्रिय देखी अन्तराष्ट्रिय बजार ओगटनेमा विश्वास रहेको बताए । शेरचनाले यहाँ उत्पादन हुने आलु, भाँगो भट्ट र गुन्द्रुक बाहिरी जिल्लामा कोशेलीको रुपमा पठाउन सकिने बताए ।
कार्यक्रम बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कंडेलको अध्यक्षता र स्वागत, महासचिव ऋषिराम गौतमको संचालन र प्रथम उपाध्यक्ष सञ्जयकुमार श्रेष्ठको धन्यबाद मन्तत्वमा सम्पन्न भएको थियो ।