बागलुङ जिल्लाको बिकासको सपना

  • कार्तिक २२, २०७८

नेपाल भित्रको सानो नेपाल भनेर चिनिने बागलुङ जिल्ला प्राकृतिक सम्पदाले भरिपुर्ण सुन्दर जिल्ला हो । बागलुङ जिल्लालाई बुट्टे नलिको जिल्ला ,झोलुङ्गे पुलको जिल्ला, देशकै एक मात्र सिकार आरक्ष भएको ढोरपाटन सिकार आरक्षको जिल्ला, कालिका भगवती मन्दिर रहेको जिल्ला, लघु जलविद्युतको जिल्ला भनेर चिनिन्छ । त्यसैगरि ढोरपाटन, घुम्टे ,पञ्चकोट, भैरवस्थान ,कारिकोट,हाडीकोट र गाँजाको दह लगायतका महत्वपुर्ण पर्यटकीय ठाँउहरु रहेका छन । बडीगाड,निसिखोला ,तमानखोला ,दरमखोला ,काठेखोला , ठेउलेखोला र पालुङखोला लगायतका खोलाले बागलुङलाई सिंचित गरेको तथा कालिगण्डकी नदिले बागलुङ जिल्लालाई स्पर्श गर्दै बगिरहेको छ , सुन्दर फाँटहरु र हरियाली वन जंगल प्रशस्त रहेका छन । यस्तो सुन्दर जिल्लालाई अव बिकासको खाँचो रहेको छ र विकासको लागि ईमान्दार र सक्षम नेतृत्वको आबश्यकता रहेको छ । सपना देख्ने नेतृत्वले निम्न बमोजिमका योजनाहरु केही वर्षभित्र सम्पन्न गर्नेछ।

भौतिक पुर्वाधार तर्फः-

मोटरबाटोः- बागलुङ बुर्तिबाङ हुँदै ढोरपाटनसम्मको बाटोको स्तरबृद्वि गरि ४ लेनको बनाईनेछ । बाटोको दुरि कम गर्न बागलुङ दोबिल्ला देखि गल्कोट नरेठाँटीसम्म ४ लेनको सुरुङ मार्ग निर्माण गरिनेछ भने दोबिल्ला देखि घोडाबाँधेसम्म र घोडाबाँधे देखि गल्कोटसम्म केवुलकार संचालन गरिनेछ । बागलुङ -कुश्मिशेरा-बरेङ हुँदै गुल्मी शान्तिपुरसम्मको मोटरबाटो स्तरबृद्वि गरि ४ लेनको बनाईने छ साथै बाटोको दुरी कम गर्नको लागि जैमुनी डाँडाखानी देखि बरेङसम्म मोटेरवल पुल निर्माण गरिनेछ । बागलुङ दक्षिण तथा पश्चिम मूलबाटोबाट प्रत्येक वडा कार्यालयसम्म सडक कालोपत्रे गरिनेछ । छिमेकी पर्वत जिल्ला संग जोड्न वलेवा-कुश्मा,जैमुनी न.पा. विनामारे देखि फलेवास र जैमुनी छिस्ति देखि पर्वतको दक्षिण भेग जोड्न मोटरेवल पुल निर्माण गरिनेछ ।

जल यातायातः- कालिगण्डकी नदिमा बागलुङ मालढुङ्गा देखि गुल्मी जिल्लाको रिडीसम्म स्टीमर संचालन गरिनेछ ।

हवाई यातायातः- वलेवा एयरपोर्टलाई स्तरबृद्वी गरि बलेवा- काठमाडौं, बलेवा- भैरहवा र बलेवा- भरतपुर उडान नियमित संचालनमा ल्याईनेछ भने एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा विदेशी पर्यटक भित्र्याउनको लागि ढोरपाटनमा अन्तराष्ट्रिय स्तरको विमानस्थल निर्माण गरि संचालनमा ल्याई बागलुङ जिल्लालाई सोझै बाह्य मुलुकसंग जोडीनेछ साथै अर्नाकोटमा पर्यटकीय विमानस्थल निर्माण गर्न आवश्यक पुर्वाधार बनाईनेछ। ।

जल विद्युतः- ढोरपाटनमा जलाशय निर्माण गरि बिद्युत उत्पादन गरिनेछ भने बडीगाड,निसिखोला ,तमानखोला ,दरमखोला ,काठेखोला , ठेउलेखोला र पालुङखोला लगायतका खोलाबाट १००मेघावाट विद्युत उत्पादन गरि सबै घरमा निशुल्क बिजुली पुर्या ईनेछ साथै खपत गरि बाँकी रहेको विजुली छिमेकी जिल्लामा विक्रि गरि आय आर्जन गरिनेछ ।

पर्यटनः- नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षको विश्वव्यापी प्रचार प्रसार गरिनेछ । सिकार खेल्नका लागि अहिले वर्षमा दुई पटक अनुमती प्रदान गरिए पनि आउँदा दिनमा यसलाई बढाईने ५ ।  पर्यटकीय विकासका लागि बागलुङ बजारदेखि भैरवस्थान , कारिकोट र गाजाको दहमा तथा गल्कोट देखि घुम्टेको लेक एवं कुश्मीशेरा देखि राङखानी हाडीकोटसम्म केवुलकार संचालन गरिनेछ साथै घोडाबाँधे देखी घुम्टेको लेकसम्म सोझै मोटरेवल पुल निर्माण गरिनेछ । गलकोट देखि घुम्टेको लेकसम्म बागलुङमा पाईने स्थानीय स्लेट ढुङ्गा प्रयोग गरि ४ फिट चौडा पदमार्ग निर्माण गरिनेछ साथै बाटोको दुबै किनारमा लालिगुँरास फूल रोपि आकर्षक बनाईनेछ । पर्यटकीय क्षेत्रमा रिसोर्ट संचालन गर्न उत्प्रेरित गर्न पर्यटन उद्योगीलाई ५० प्रतिशत अनुदान रकम उपलब्ध गराईनेछ ।

कृषीः- कृषकहरुलाई सूचिकृत गरि मल बिउ तथा हाते ट्याक्टर निशुल्क उपलब्ध गराईनेछ भने जमिनको चक्लाबन्दी गरिनेछ साथै फलफूल,पशुपालन र माछापालनको लागि पकेट क्षेत्र घोषणा गरि अनुदान रकम उपलब्ध गराईनेछ साथै कृषकबाट उत्पादित बस्तुको बजारको ग्यारेण्टी गरिनेछ ।

शिक्षाः- सबैलाई माध्यामिक तहसम्म निशुल्क गुणस्तरीय शिक्षा उपलब्ध गराईनेछ,माध्यामिक तहसम्म सवै विद्यार्थीलाई दिवाखाजाको व्यवस्था साथै दलित ,अल्पसंख्यक जाति तथा समुदाय एवं निम्न आय भएका गरिव घरपरिवारको पहिचान गरि तिनीहरुलाई उच्च शिक्षासमेत निशुल्क उपलब्ध गराईनेछ । बागलुङमा बागलुङ विश्व विद्यालय,गल्कोटमा कृषी विश्व विद्यालय र बुर्तिवाङमा प्राविधिक शिक्षालय खोलिनेछ ।

खाद्यान्नः-बृद्व,असहाय तथा अशक्तको लागि निशुल्क खाद्यान्न उपलब्ध गराईनेछ ।

आवाशः-बृद्व, असहाय तथा अशक्तकोलागि सुविधा सम्पन्न आवासको व्यवस्था मिलाईनेछ ।

स्वास्थ्यः- धौलागिरी अस्पताललाई ICU र भेन्टीलेटरबाट सुविधा सम्पन्न बनाईनेछ भने बाँकी नौवटै गाँउपालिका/नगरपालिका सदरमुकाममा सुविधा सम्पन्न अस्पताल निर्माण गरिनेछ । दैवी प्रकोपबाट पिडित एवं बिरामीको तत्काल उद्दारको लागि सबै गाँउपालिका/नगरपालिका सदरमुकाममा एक/एकवटा हेलिकप्टरको व्यवस्था मिलाईनेछ ।

उद्योग:- ताराखोला गाँउपालिका र जैमुनी नगरपालिकामा स्लेट ढुङ्गाको उद्योग संचालन गरि निर्यात गरिनेछ,कालिगण्डकी किनारमा क्रसर उद्योग संचालन गरि गिट्टी तथा वालुवा छिमेकी जिल्ला,प्रदेश र भारतमा निकासी गरि आय आर्जन गरिनेछ साथै बागलुङ जिल्लामा अधिकतम रुपमा उत्पादन हुने स्थानीय बस्तुको पहिचान गरि लघु उद्योग स्थापना तर्फ आबश्यक कदम चालिनेछ ।

धार्मिक स्थलः- जिल्लाकै प्रसिद्ब शक्तिपिठ कालिका भगवति मन्दिरमा सुनको छाना हालि उक्त मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गरिनेछ साथै उक्त मन्दिरको व्यापक प्रचार प्रसार गरि बार्षिक ५० लाख धार्मिक पर्यटक भित्र्याईनेछ । बागलुङ जिल्ला बरेङ गाँउपालिकामा रहेको सत्यवती मन्दिर, बा.न.पा. १४  अमलाचौरमा रहेको भैरबस्थान मन्दिर र जैमुनीको ब्याडथलामा रहेको थन्थाप भगवती मन्दिरको पुनर्निर्माण गरि व्यापक प्रचार गरि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याईनेछ ।

संग्राहलयः- बागलुङ जिल्लामा रहेका अल्पसंख्यक जाति जनजातिहरु गन्धर्व,माझी,छन्त्याल,थकाली ,मुश्लिम र नेवार जातिहरुको संग्राहलय निर्माण गरि उनिहरुको संस्कार संस्कृतीको जगेर्ना गरिनेछ । जनसंख्याको हिसाबमा बागलुङ जिल्लाको सबैभन्दा ठुलो जाति मगर समुदायको भाषा र संस्कृतिको संरक्षण गर्न बिशेष कार्यक्रम ल्याईनेछ ।

साथै बागलुङबासी जनताको आबश्यकता र माग अनुसारका अन्य योजनाहरु पनि केही बर्ष भित्र सम्पन्न गर्ने गरि अगाडी बढाउन सकिने व्यहोरा समेत जानकारी गराईन्छ । साथै यहाँहरुका सुझाबहरु पनि उल्लेख गरिदिनुहुन अनुरोध छ।

प्रतिक्रिया