नारायण रिजाल- बागलुङका ग्रामिण क्षेत्रमा अधिकाशं किसानको बारीमा भाङ्गो उत्पादन हुन्छ । विषेश गरी अचार र चट्नीका लागि स्वादिलो हुने भाङ्गो अहिले बागलुङ आउने पाहुनाका उपहार प्रदान गरिन लागिएको छ । सामाजिक संस्था लायन्स क्लबले बागलुङमा आउने लायन पाहुनालाई भाङ्गो उपहार दिएर पठाएको छ । लायन्स क्लब डिष्ट्रीक ३२५ जे को बागलुङमा भएको क्याबिनेट बैठकमा सहभागी हुन आउने पाहुना बागलुङमा उत्पादिन भाङ्गो उपहार दिइएको क्याबिनेट बैठकका संयोजक नरेश कँडेलले बताए । देशका विभिन्न ठाउँबाट ७०० प्रतिनिधि आएका छन ।
‘चटनी र अचारका लागि यहाँको भाङ्गो निकै रुचाउने गरेको पाइन्छ, भाङ्गोको प्रचार प्रसार र ब्राण्डिङ पनि होस् भन्ने हाम्रो चाहाना हो,’ संयोजक कँडेलले भने,‘एक लाख रुपैयाँको भाङ्गो किनेर प्रदान गरेका छौं । हरेक प्रतिनिधिको झोलामा कम्तीमा एक माना भाङ्गो राखेर उपहार स्वरुप प्रदान गरेका छौं । कार्यक्रममा अतिथि बनेर आउने विशिष्ट व्यक्तिहरुलाई बागलुङमै उत्पादन भएको डाली मायाको चिनो दिने र त्यसभरी भाङ्गो राखेर दिने तयारी गरेका छौं ।’ उपहार दिनका लागि ताराखोला, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाबाट भाङ्गो किनिएको उनले बताए ।
‘लायन्स क्लबमा आवद्ध सात सय बढि साथीहरु यो बैठकमा भाग लिनुभएको छ । संयोजक कँडेलले भने,‘उहाँहरु सबैलाई हामीले बागलुङको उपहार स्वरुप यहाँ उत्पादन भएको भाङ्गो प्रतिनिधि व्यागमै हालेर दिएका हौं ।
यसरी उपहार दिंदा केही आर्थिक भार आयोजकलाई परे पनि यहाँको स्थानीय उत्पादनको प्रवद्र्धन हुने कँडेलको विश्वास छ । कार्यक्रममा यहाँका अन्य स्थानीय उत्पादनहरुको समेत प्रवद्र्धन गरिएको छ ।
बागलुङ आउने पाहुनालाई यहाँ उत्पादन भएको बस्तु नै उपहार प्रदान गर्दा उत्पादिन बस्तुको प्रर्वद्धन हुनुका साथै प्रचार प्रसार पनि भएको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ बताउँछन । हाम्रै किसानको बारीमा उत्पादित भएको बस्तु यहाँ आउने पाहुनालाई उपहार दिँदा यहाको त्यो बस्तुले यहाँको पहिचाहन बोकेको हुन्छ । नगरप्रमुख श्रेष्ठले, भने, यहाँ उत्पादन हुने भाङ्गो मात्र नभएर गुन्द्रुक, आलु, लगायतका बस्तुलाई पनि जोड्न सकिन्छ । यसले यहाँ उत्पादिन बस्तुको बजारीकरण हुनुका साथै प्रर्वद्धन पनि हुने गर्दछ ।
श्रेष्ठले यस्ता कार्यक्रम हुँदा पाहुनाका लागि स्थानिय उत्पादन बाटै बन्ने खानाका परिकारहरुको व्यवस्था झनै राम्रो हुने बताए ।
कार्यक्रममा आउने पाहुनाका लागि बागलुङका १० वटै पालिकाका धार्मिक तथा पर्यटकीय सम्पदाहरुको प्रचार प्रसारका लागि बागलुङ लायन्स स्मारिका तयार पारी प्रदान गरिएको प्रचार प्रसार संयोजक श्रीकृष्ण पौडेलले बताए । क्याबिनेट बैठकका लागि बागलुङ आउँदा ढोरपाटन लगायत बागलुङका विभिन्न पर्यटकीय क्षेत्रहरुमा घुम्न जान चाहाना राख्नेहरुलाई त्यहाँसम्म पुग्नका लागि आवश्य समन्वय गरिएको छ ।