• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • समाज ,
  • स्थानीय सरकार ,
  • पर्यटन

आहा ! हाँडिकोट साँच्चिकै अदभूत लाग्दछ

  • असार २६, २०७९

नारायण रिजाल- सहरको कोलाहल र प्रदूषण छाडेर यहाँ आइपुग्दा मन चङ्गा जस्तो हुन्छ । यहाँबाट देखिने माछापुच्छे, अन्नुपुर्ण धौलागिरी जस्ता  दजैनौ हिमश्रृंखलाको मनमोहक दृश्य देख्न पाउँदा स्वर्गीय आनन्दको आनुभूति हुन्छ । अझ चिसो हावाको स्पर्शले सम्पूर्ण थकान मेटाएर मनमा नयाँ जोश र उमंग भरिदिन्छ । बिहानी सूर्योदयको पहिलो किरणदेखि बेलुकी सूर्यास्तसम्म हिमालले अनेक रंग फेर्छ । तल हरियाली वनजंगल डाँडामा पुग्दा बादल भित्र हराए जस्तो हुन्छ ।  यो दृश्य आफैँमा एउटा सुन्दर कला भएको भान हुन्छ ।  बागलुङको जैमिनी नगरपालिकामा रहेको हाँडिकोट टापुबाट देखिने केही दृश्य साँच्चिकै अद्भूत लाग्दछन् ।  
‘आहा ! हाँडिकोट नभनी सुखै छैन
जैमिनीको वडा नं.१० राङखानी, वडा नं. ७ जैदि र वडा नं. ८ छिस्तीको संगमस्थल हाँडीकोट साँचिकै सुन्दर छ । त्यहाँ पुगेर ‘आहा ! हाँडिकोट नभनी सुखै छैन । समुद्री सतहदेखि दुई हजार १९५ मिटर उचाइमा रहेको हाँडीकोट । वर्षाको समयमा जुकाको समस्या, हुस्सु र कुहिरोले ढाकिने र  हिउँदमा हिउँले घुम्टो हाल्दा पनि पर्यटकहरु नियमित पुगेका हुन्छ । विशेषत विदाको दिन यहाँ पुग्ने आन्तरिक पर्यटकको घुईचोनै लाग्छ । 
    प्रचारप्रसारको अभावकै कारण प्रकृतिको अनुपम उपहार भएर पनि हाँडीकोटले गाईबाख्रा हेर्ने गोठाला मात्रै भेटेर वर्षौं बितायो । बाइसे चौबिसे राजाका पालामा रहेको दरबार उठेपछि उराठलाग्दो भएको हाँडीकोटले पछिल्लो समय न्याय पाउन थालेको छ । अहिले दैनिक आन्तरिक पर्यटकको रोजाई बनेको छ । 
हिमाल सँग फोटो खिच्न र बादल सँग मितेरी गास्छन पर्यटक
    समथर जमिन, राजदरबारका भग्नावशेष, मन्दिर र शिला सुसज्जित हाँडीकोटमा पुगेर पहाड खोचमा मडारिएको बालदसँग तस्वीर खिचाउने आजभोलि दिनदिनै हाँडीकोट पुग्छन् । ‘छुट्टिको दिनमा त यहाँ आईरहन मन लाग्छ, यहाँ आएर परिवार सँगै दिनभर रमाईलो गरेर फर्कन्छौं कुश्मिसेरा बजारबाट हाँडिकोट घुम्न पुगेका चुडामणी शर्मा भन्छन । दैनिक आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । हिमाल सँग फोटो खिच्न र बादल सँग मितेरी गास्नकै लागि यहाँ आए जस्तो हुन्छ । साँचिकै रमणीय ठाउँ नै हाँडिकोट हो जस्तो लाग्छ ।’
अझै आर्कषित बनाउन भौतिक संरचना निर्माण
    यसअघि पैदलै यात्रा गर्नुपर्ने बाध्यता हटेर सडकले जोडिएपछि हाँडीकोटमा नियमितरुपमा पर्यटक पुग्न थालेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा बताउँछन । हाँडिकोटको पर्यटन विकास र यसलाई अझै आर्कषण बनाउनका निम्ती भौतिक पुर्वाधानर निर्माण गर्न  नगरपालिकाले लगानी बढाएको छ । हाल सम्म भ्युवटावर निर्माण, प्रतिक्षालय निर्माण, मन्दिर निर्माणका लागि २२ लाख रुपैयाँ खर्च गरिसकेको छ भने यस वर्ष खानेपानी व्यवस्थापनका निम्ती ९ लाख रुपैयाँमा ट्याङ्की निर्माण गरिएको उपप्रमुख शर्माले बताए ।  माथि डाँडामा पानीको श्रोत नभएका कारण झण्डै ५ सय मिटर तल खानेपानीको ट्ङ्की निर्माण गरेर लिफटिङ् प्रविधिबाट माथि लैजाने योजना रहेको छ ।  आगामी आर्थिक वर्षमा पनि भ्युटावरमा रेलिङ र तारजालीका लागि ३ लाख रुपैयाँ विनियोजन गरिएको नगरपालिकाले जनाएको छ । 
पर्यटकले टापुमै ‘क्याम्प फायर’ गरेर रात बिताउँछन्
    नगरपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा व्याडथलादेखि झन्डै १ किमि लामो पदमार्ग पनि निर्माण गरिएको छ । पर्यटकहरू पैदलयात्रा गरेर पनि हाँडीकोट पुग्न थालेका छन । 
दक्षिणमा गुल्मी, पूर्वमा पर्वत, उत्तरतर्फ धौलागिरि र अन्नपूर्ण  माछापुच्छे लगायतका दजैनौ हिमशृंखला देखिन्छ । बन्दोबस्तीसहित पुग्ने कतिपय आन्तरिक पर्यटकले टापुमै ‘क्याम्प फायर’ गरेर रात बिताउँछन् । माथि नै बस्ने प्रबन्ध मिलाएकाले सूर्यास्त र सूर्योदयको अवलोकन एकै यात्रामा गर्न सक्छन् ।
पुरातात्विक महत्वको क्षेत्र हाँडिकोट
हाँडीकोट चौबिसे राज्यको पालामा रहेको भुरेटाकुरेमा गनिन्छ । त्यसैले यहाँ पुरातात्विक महत्वका क्षेत्र पनि छन । भुरेटाकुरे राजारजौटाले प्रयोग गरेका कतिपय सामग्री यहाँ संग्रह गरेर राखिएको छ ।  त्यसका लागि संग्राहलय बनाएर संरक्षण गर्ने नगरपालिकाको योजना रहेको छ । 
व्याडथला र डाँडाखानीबाट २ हजार २ सय मिटर अग्लो हाँडीकोट उक्लेपछि वरपरका सबै बस्तीसमेत देखिन्छ । हाँडिकोटको नजिकका डाँडाखानी र व्याडथलामा सामुदायिक होमस्टे संचालनमा छ । होमस्टेमा खाना र बस्नका निम्ती राम्रो व्यवस्था छ । होमस्टे बस्न नचाहने पर्यटकका लागि नजिकै नान्दुक बजारमा होटलहरु पनि प्रयाप्त मात्रामा छन । पर्यटन पर्वद्धनको उद्देश्य राखेर हरेक वर्ष  हाँडीकोट महोत्सव समेत गरिदै आएको छ । 

कसरी पुग्ने हाँडिकोट ?
सदरमुकाम बागलुङ बजारदेखि तीन घण्टाको मोटरयात्रामा ब्याडथला पुग्न सकिन्छ । बागलुङ सदरमुकाम सँग कुश्मिसेरा बजार सम्मको सडक कालेपत्रे छ । कुश्मिसेरा देखी राङखानी हुँदै जिपमै हाँडिकोट पुग्न सकिन्छ भने सर्कुवा हुँदै व्याडथलाबाट पैदले हिँडे पनि एक घण्टाभित्रैमा हाँडीकोट पुगिन्छ । पूर्वाधार पनि बन्न शुरु गरेको र प्रचारप्रसार पनि हुन थालेको स्थितिमा पछिल्लो समय हाँडीकोट पुग्ने आन्तरिक पर्यटक बढ्न थालेका छन् ।

प्रतिक्रिया