• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • समाज ,
  • अर्थतन्त्र

चार्डपर्व नजिकिए सँगै बजार अनुगमनलाई तिव्रता

  • असोज ९, २०७९

बागलुङ- चाडपर्व नजिक आएपछि जिल्लाका सरोकारवालाले बजार अनुगमनलाई तीव्रता दिएका छन् । अनुगमनको क्रममा केही स्थानमा सुझाव दिइएको छ भने तत्काल सुधार नभए कारवाहीको चेतावनी दिइएको छ । विशेषगरी खाद्यबस्तु, चिया पसल, रेष्टुरेन्ट लगायतको स्थानमा मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने बस्तुहरु प्रयोग हुने र ती बस्तु म्याद गुज्रेका तथा अन्य हिसाबले खराब देखिएपछि सुझाव दिइएको हो ।
खाद्य प्राविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रशासन, प्रहरी, नगरपालिका र पत्रकार समेतको सहभागितामा भएका अनुगमनले गुणस्तर सुधारका धेरै क्षेत्र पहिल्याएको बताइएको छ । उपभोक्ता मञ्चले पनि अनुगमनमा पटकपटक सहयोग र सहकार्य गरेको छ । ग्रामीण बजारमा समेत गरिएको अनुगमन र सदरमुकाममा व्यापक रुपमा भएका अनुगमनमा खाद्यबस्तुहरुको भण्डारन सुरक्षित नभएको, म्याद सकिएका बस्तुहरु सुरक्षित स्थानमा नराखी बेच्न राखेझै गरिने लगायतका अवस्था पनि देखिएकोले सुझाव र निर्देशन दिइएको घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि विष्णुनाथ शर्माले बताए ।
यसअघि भएका अनुगमनमा चिया पसल, रेष्टुरेन्ट तथा होटलमा सरसफाइको आवस्यकता देखिएको बताइएको थियो । निरन्तरको अनुगमनमा पनि खाद्यबस्तुको उपभोग हुने स्थानमा सरसफाइमा ध्यान नदिएको पाइएको खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्राविधिक सहायक सहन्साकुमार महतोले बताए । निर्देशन दिएका कतिपय पसलमा भने सुधारको संकेत देखिएको शाहको भनाइ छ ।
‘सुधार हुन हामी पुगेर अनुगमन गर्नैपर्ने, सुझाव दिनैपर्ने र नभए कारवाहीको चेतावनी दिनुपर्ने देखियो’, उनले भने, ‘आम उपभोक्ता, व्यवसायी र सरोकारवाला सचेत भएमा म्याद गुज्रेका सामान बेच्ने काम पनि रोकिन्छ ।’ अनुगमनको क्रममा कतिपय स्थानमा शौचालय, भाडा धुने स्थान र हातधुने स्थान फोहोर पाइने गरेको छ । सुधारको निर्देशनपछि भने केहीले सुधारेका छन् ।
केही होलसेल पसल र डिपार्टमेन्टल स्टोरमा पनि सुधारका लागि सुझाव दिइएको शर्माले जानकारी दिए । म्याद नाघेका बस्तु छुट्टै राखेपनि लामो समयदेखिका बस्तु नष्ट नगरेको पनि भेटिएका थिए । ‘छुट्टै स्थानमा राखेकोले जथाभावी बेचेको छैन भन्ने देखियो’, उनले भने, ‘समयमा नष्ट गर्ने काम पनि गर्न भनेका छौं ।’ चाडपर्व शुरु भएकोले बजारमा बिक्री हुने तथा उपभोग हुने हरेक बस्तु तथा सेवाको अनुगमन गर्नुपर्ने उनले औल्याएका छन् । मूल्य सूचि नराखेका पसललाई पनि अनिवार्य राख्न निर्देशन दिएको उनले बताए ।
चाडपर्व सुरु भएपछि कालोबजारी गर्ने, कतिपय सामान भएकोलाई नभएको भन्ने तथा बिल नकाट्ने प्रवृत्तिले उपभोक्ताहरु ठगिने क्रम बढेको छ । हरेक वर्षजसो हुने यस्ता क्रियाकलाप न्युनिकरणका लािग पनि अनुगमन समितिले काम गर्ने बताइएको छ । सहायक प्रजिअको नेतृत्वमा पनि पटकपटक बजार अनुगमन भैरहेको छ ।

प्रतिक्रिया