गुरूराज घिमिरे - विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभन्दा ठूलो सम्पत्ति उसको शरीर हो । त्यसलाई स्वस्थ राख र आफूलाई निर्दिष्ट उद्देश्य र लक्ष्य मुताविक सुयोग्य बनाऊ । साथै सफलताका निम्ति योजना, स्रोत र संगठनको आवश्यकता हुन्छ, त्यसको प्रबन्ध मिलाऊ । यति भए मात्र लक्ष्य भेदन गर्न सक्छौ ।'
कतिपय विद्वानहरू उपदेशक मात्र हुन्छन्, त्यसको स्वयं प्रयोक्ता र दृष्टान्त हुँदैनन् । तर चाणक्य त संसारका त्यस्ता अतुलनीय एवं अलौकिक विद्वान थिए, जसले आफूले गरेर देखाए, अनि मात्र दुनियाँलाई उपदेश दिए । वर्तमान सन्दर्भमा उनका विचार कति उपयोगमा आएका छन् या छैनन्, बहस गर्दै गरौंला तर आज कांग्रेसभित्रका केही मौलिक र आधारभूत सांगठनिक विषयमा संक्षिप्त चर्चा गरौं ।
अन्न, पानी र सम्पत्तिका निश्चित स्रोत हुन्छन्, जसको निरन्तर संरक्षण भएन भने एकदिन सबै सिध्दिन्छन् र विकराल संकट निम्तिन्छ । यो संकटले मानव जाति मात्र होइन, चराचर जगतमा नै विपत्ति ल्याउन सक्छ । यसको तत्त्वज्ञान मानव जातिबाहेक अरूलाई हुँदैन । त्यसैले उसले यस्ता विपत्ति आउन नदिन हरसम्भव कोशिश गर्छ । यस्तो कोशिश निरन्तर हुनुपर्छ, अन्यथा अवसानको निश्चित तिथि बाढीसहित आइपुग्छ र बढारेर सबैलाई लैजान्छ ।
नेपाली कांग्रेस झण्डै सात दशकदेखि नेपालको राजनीतिमा अग्रणी भूमिकामा छ । यो अविच्छिन्न उत्तराधिकारवाला गतिशील लोकतान्त्रिक संस्था हो । यस दलसँग लामो ऐतिहासिक अनुभव र संघर्षको धारावाहिक शृंखला छ र यो अतुलनीय छ । यसका आफ्ना सांगठनिक अवयवहरू छन् । दलमा आवद्ध भ्रातृ र शुभेच्छुक संस्थाहरूको लर्को छ ।
यी सबैका आ-आफ्ना कार्यक्षेत्र र सांगठनिक आधार छन् । यसको सञ्चालन र परिचालनका निश्चित विधि र प्रकृयाहरू छन् । यी सबै उभिने धरातल छ र आफ्ना सदस्यहरूप्रतिको कर्तव्य र दायित्व छ, समाजप्रतिको जिम्मेदारी पनि छ । यसको हेक्का संस्थाका जिम्मेवार मानिसहरूले सदैव राख्नुपर्छ ।
उपरोक्त विषय र प्रसंगको चर्चा किन गर्नुपर्यो भन्ने कारण पनि प्रस्ट छ । कांग्रेसले आफ्नो चौधौं महाधिवेशन त जसोतसो सम्पन्न गर्यो तर भ्रातृ संघ-संगठनको अवस्था के छ त ? यो विषय साँच्चै भन्ने हो भने खुलेर बहस गर्न समेत गाह्रो छ । पार्टीका सामु अब यो विषयलाई उच्च प्राथमिकता दिनुपर्ने आवश्यकता देखिन्छ । भ्रातृ संस्थाहरू पार्टीका तागत हुन् । अझ भन्ने हो पार्टीको त्यस्तो 'हाइड्रोपावर' जहाँबाट शक्ति निसृत हुन्छ ।
एउटा त्यस्तो भण्डार जहाँ पार्टीको योग्य जनशक्ति भन्डारण गरिन्छ र आवश्यकता अनुरूप आपूर्ति गरिन्छ । हाइड्रोपावर र भण्डार रित्तियो भने के हुन्छ, कसैले कल्पना गरेका छौं या छैनौं । यसमा पनि नेपाल विद्यार्थी संघको अरू भ्रातृ संघभन्दा फरक महत्त्व छ । अहिले कांग्रेसको नेतृत्वमा पुगेका अधिकांश नेता गणको पाठशाला नेविसंघ हो ।
यी सबैले कांग्रेसको कखरा सिकेको प्राथमिक स्कूल हो । स्कूल भत्कियो भने कसैको राजनीतिक गुजारा त चल्ला तर पार्टीको भविष्य रहनेछैन । यो सत्यलाई अरूले सम्झाउनु या बुझाउनु धृष्टता नै हुन्छ । तथापि आज केही न केही चर्चा गर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।
२०७३ साल यता सबै जसो भ्रातृ संस्थाहरू कोमामा छन् । स्ववियु निर्वाचन हुन छाड्यो । अध्ययनकालमा आफ्नो अतिरिक्त व्यक्तित्व विकास गर्न चाहने युवा विद्यार्थीले उक्त अवसर प्राप्त गर्न सकेन भने उसले एकातिर नेतृत्व विकासको गुमाउँछ, अर्कातिर विद्यार्थी संगठन र राजनीतिक दलप्रतिको वितृष्णा बढ्छ । विश्वविद्यालयमा हुने नियमित प्रतिस्पर्धा अवरुद्ध हुँदा भविष्यका योग्य नेताहरू पहिचान हुने प्रक्रिया अवरुद्ध हुन पुग्छ ।
परिणाम देखिएन भने छलफलको अर्थ छैन । कांग्रेसका नेताहरूसँग मैले त भनेकै थिएँ नि, भएन के गर्नु ? भनेर उम्किने सुविधा छैन । के परिणाम निकाल्नु भो ? त्यसको मात्रै अर्थ छ । त्यसैले अबको कार्यसूची एकसूत्रीय रूपमा भ्रातृ संस्थाको सुधार र व्यवस्थापनलाई राख्नुपर्छ । कांग्रेसको सफलताका लागि यो कार्ययोजना प्रस्थानबिन्दु हुनसक्छ ।
तत्पश्चात् ऊ कुनै व्यवसायमा लाग्ला या विदेश जाला र आफ्नो गुजारा गर्ला । उसको व्यक्तिगत जीवनमा त खासै समस्या पर्दैन तर उसले राजनीतिक दललाई हेर्ने दृष्टिकोण पूरै बदलिन्छ । एक प्रकारले उसले राजनीतिलाई नै घृणा गर्न पुग्छ । यसको मूल्य राजनीतिक दल र मौजुदा प्रणालीले चुकाउनु पर्छ । अनि फेरि क्रान्तिको आह्वान गर्ने ? त्यतिबेला सहयोग कसले गर्छ ? को आउँछ साथ दिन ? त्यतिबेला क्रान्तिको बागडोर सम्हाल्ने पुरानो नेतृत्व समेत असान्दर्भिक भइसक्छ र नयाँ पुस्ता साथमा हुँदैन । अनि देश कता जाला ?
नयाँ सन्ततिहरू त राजनीतिबाट यति टाढा पुगिसकेका हुनेछन् कि समाज केही धुर्त र चण्डाल राजनीतिक व्यापारीहरूको कब्जामा पुग्नेछ । राजनीतिक व्यापारीहरूका लागि प्रणाली, जनअधिकार, राष्ट्रियता, मानवअधिकार र नागरिक कर्तव्य त फगत बुद्धिविलासका निरर्थक विषय हुन् भन्ने कुरा हामीले बिर्सनु हुँदैन । अनि यसको दोष कसलाई दिने ? आजको नेतृत्वले सोच्नु पर्दैन ? टाढा जानु पर्दैन, ली क्वान र महाथीरले के गरेर देश बनाए ? हेर्नुपर्दैन ? उनीहरूका राष्ट्र निर्माणका सबै सारथि तरुण युवा नै थिए ।
फरक भौगोलिक अवस्थिति र सामाजिक /धार्मिक परिवेश भएपनि राजनीतिक संकल्पविना देश बन्दैन भन्ने कुरा सम्झाइरहनु पर्दैन होला । १९६५ देखि १९९० को २५ वर्षभित्रै सिंगापुर बनेको हो । माझी र समुद्री डाँकाहरूको "सेल्टर"को रुपमा रहेको बन्दरगाह भिलेज या टापुलाई विश्वको समृद्ध मुलुक बनाउने ली कुनै छुट्टै धातुले बनेका मानव थिएनन् ।
प्रकृतिले बनाएको देश होइन सिंगापुर, हामी जस्तै मानिसले बनाएको हो । हाम्रो त विडम्बना ! प्रकृतिले दिएका अपार सम्पदालाई कोपरेर देशलाई कुरूप बनाउँदैछौं । सन् १९९० यताका ३०/३२ वर्षमा के गर्यौं हामीले ? २०/२५ वर्षमा बालुवामय युएई स्वर्ग बनेको होइन ? त्यसैले चाणक्य वा ली क्वान लगायतको कुरा किन आउँछ भने दृढ अठोट र सोही बमोजिमको मेहनत भयो भने चाहेको उपलब्धि हासिल गर्न सकिँदोरहेछ ।
जुन समाजले नयाँ सन्ततिलाई निराश बनाउँछ, त्यो समाज बन्दैन । ली, महाथीर या देङले नयाँ पुस्ताको प्रतिभा र मेहनतको सहारामा समृद्ध देश बनाएका हुन् । हामीले टाढाको अमेरिका या युरोप हेर्नै पर्दैन । तर हामी विद्यार्थीलाई निराश पार्दैछौं । त्यति मात्र होइन, राजनीतिप्रति नै घृणा ओकल्ने विष्फोटक जमात बनाउँदैछौं । ने.वि.संघ भनेको नयाँ पुस्ता हो र देशको भरपर्दो जनशक्ति हो ।
यही पुस्ताको आँट, प्रतिभा र जाँगरले मात्र देश बन्छ । भर्खरै नेपाली पासपोर्टको अन्तर्राष्ट्रिय बेइज्जतको टीठलाग्दो तस्वीर हेरेपछि र विश्वव्यापी भएको समाचार पढेपछि त हाम्रो होश खुल्नु पर्ने होइन र ? अग्रजहरूले बनाइदिएको संस्था बिगार्ने अधिकार कहाँबाट पायौं हामीले ? न विधिको पालना छ, न सांगठनिक व्यवस्थापन छ, न उद्देश्य मुताविकको क्रियाशीलता छ, न वैधानिक प्रबन्ध अनुरुपको गतिशील नेतृत्व छ, न 'बडी', न बैठक, न अधिवेशन । यो जात्रा कतिञ्जेल ? यसले प्रतिक्रान्तिको जग तयार पार्दैछ ।
दुःखको कुरा यसको आयोजक हामी आफैं छौं । राजनीतिमा आफ्नो मानो पकाएर मात्र हुँदैन होला नि ! आफ्ना संस्थाहरू त जोगाउनु पर्ला नि ! यो विषय उठाउँदा उठाउँदा थाकेका अनगिन्ती अनुहारहरू फेरि पार्टीको संरचनामा मुख्य भूमिकामा आउनुभएको छ र उहाँहरूबाट थोरै आशा पनि छ ।
उहाँहरूको पहिलो दायित्व र कर्तव्य भ्रातृ संघ संस्थालाई सही बाटोमा हिँडाउने हो। अब पनि भ्रातृ संस्था नसुधार्ने हो भने साँच्चै ढिला हुनेछ । मूल थुनेर नहर खनेजस्तो हुनेछ ।
विद्यार्थी संगठन मात्र होइन, नेपाल महिला संघ, नेपाल तरुण दल, किसान संघ, दलित संघ, सांस्कृतिक संघ लगायतका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको हविगत उही छ । अधिवेशनपछि समिति विस्तार नै नगरी कार्यकाल सिध्दिएको छ । कार्यसमिति भएका संगठनहरू समेत अकर्मण्य सावित भएका छन् । संस्थाभित्र चरम अनुशासनहीनता छ, हरेकले संस्थागत चरित्र गुमाएका छन् ।
संगठनका घोषित र निर्दिष्ट उद्देश्य बेवारिसे भएका छन् । यी लगायत कांग्रेसका सबैजसो संस्थाहरूको उही हाल छ । पार्टीको सामर्थ्य एकीकृत छैन । कुनै पनि परिवार वा सेना संगठित नरहने हो भने विघटन अवश्यम्भावी छ ।
संस्था समेत त्यस्तै हो । राजनीतिक दल समेतको लामो र स्थायी भविष्य हुँदैन । नेपाल र भारतलगायत अन्य मुलुकमा कतिपय राजनीतिक दलहरू इतिहासको गर्तमा विलुप्त भएका छन् । के हामी त्यसैको प्रतिक्षामा हो ? त्यसैले कांग्रेसले आफ्नो आगामी कार्यसूची तय गर्नुपर्छ । यसको प्राथमिकताक्रम निर्धारण गर्नुपर्छ ।
एउटा सच्चा लोकतान्त्रिक संस्थाले बढीभन्दा बढी काम गर्छ, निरर्थक बहसमा लामो समय खेर फाल्दैन । गैरलोकतान्त्रिक शक्तिहरू अनुत्पादक बहसलाई ठूलो काम ठान्दछन् ।
यसको कुनै अर्थ छैन । परिणाम देखिएन भने छलफलको अर्थ छैन । कांग्रेसका नेताहरूसँग मैले त भनेकै थिएँ नि भएन के गर्नु भनेर उम्किने सुविधा छैन । के परिणाम निकाल्नु भो ? त्यसको मात्रै अर्थ छ । त्यसैले अबको कार्यसूची एकसूत्रीय रूपमा भ्रातृ संस्थाको सुधार र व्यवस्थापनलाई राख्नुपर्छ । कांग्रेसको सफलताका लागि यो कार्ययोजना प्रस्थानबिन्दु हुनसक्छ ।
यो चर्चा गर्दा फेरि पनि चाणक्यको कार्ययोजना, संगठन व्यवस्थापन र परिचालनको कौशल सम्झनै पर्छ । सामान्य पार्टी संगठनको मामलालाई विश्वविख्यात प्रसंगमा किन जोड्ने भन्ने प्रश्न उठ्न सक्छ। तर हामीले बुझ्नुपर्छ, हाम्रो जीवन र जगतलाई बुझ्ने र मानव समाजलाई अग्रगति दिने मार्गदर्शक विचार र सिद्धान्तहरू अग्रजहरूले छाडेर गएका नासो नै हुन् ।
तसर्थ कांग्रेसले आफ्नो आन्तरिक जीवनलाई सुधार्नका लागि काम प्रारम्भ गर्दा कमी कहाँ छ, कारण के हो र समाधान के हो भन्ने बिन्दु पहिल्याएर उपचार शुरू गर्नुपर्छ । नत्र अंग्रेज सेनाले दरबार घेरिसक्दा पनि मेरो जेरीपूरी सुरक्षित छँदैछ नि भनेर निश्चिन्त रहने लखनउका नबाबको नियतिको प्रतिक्षा गर्दा फरक पर्दैन । कार्यकर्ता र सदस्यहरूलाई रुवाएर प्राप्त हुने या हासिल गरिने मान प्रतिष्ठा टिकाउ हुँदैन । लोकान्तरबाट साभार