• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • अर्थतन्त्र ,
  • स्थानीय सरकार

कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालन

  • कार्तिक १५, २०८१

मुस्ताङ- मुस्ताङको उपल्लो भेग स्थित नेपाल र चीनबीचको सीमास्तम्भ  -२४ नम्बर सीमास्तम्भ- रहेको कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनमा आएको छ । कोरोला नाकामा यस अघि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका मुस्ताङवासीले मात्र व्यापारका लागि आवतजावत गर्दथे । कार्यालय सञ्चालनले भने यस नाकाबाट आवतजावत गर्न चाहने जोकोही नेपालीलाई सहज हुने विश्वास लिइएको छ ।
कोरोला नाकामा नेपालले प्रिफ्याव प्रविधिको १० कोठे अध्यागमन तथा सुरक्षा पोष्ट स्थापना गरेको हो । अध्यागमन कार्यालय सञ्चालनको लागि सरकारले कोरला नाकासम्म विद्युत् प्राधिकरणको केन्द्रीय प्रशारण लाइनको विस्तार गर्नुका साथै नेपाल टेलिकमको इन्टरनेटसहित मोबाइलको सेवा पुर्याइसकेको छ ।

कोरोला नाकामा चीनले आफ्नोतर्फ भन्सार कार्यालयका साथै अन्य आवश्यक पूर्वाधार निर्माण गरिसकेको छ । गृहमन्त्री रमेश लेखकले आज कार्यालयको शुभारम्भ गर्दै अध्यागमन कार्यालय सञ्चालनसँगै चीनसँगको द्विपक्षीय सम्बन्ध अझै प्रगाढ बन्ने विश्वास व्यक्त गरे ।

उनले दुईदेशका नागरिक आवतजावतसँगै द्विपक्षीय व्यापार अभिवृद्धिका लागि अध्यागमन कार्यालय महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । समुद्र सतहदेखि चार हजार छ सय ५० मिटर उचाइमा रहेको यो नाकाको गत वर्ष कात्तिक २७ गते चीनको सिगात्से प्रान्तको झोम्वा काउन्ट्रीका मेजेष्ट्री नुर्वु छिरिङ र मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

गण्डकी प्रदेशको उत्तरी भूूभागमा अवस्थित कोरला नाका सञ्चालनमा आएसँगै प्रदेशकै दक्षिणी नाका भारतसँग जोडिने त्रिवेणी रहेका कारण व्यापार प्रवर्द्धन, पर्यटन विस्तार आदिका लागि यो बहुुउपयोगी बन्ने विश्वास लिइएको छ । दुुई ठूला छिमेकी राष्ट्रसँग जोडिएको गण्डकी प्रदेशको समृद्धिमा यो नाका सञ्चालन कोषे ढुङ्गा सावित हुने विश्वास लिइएको छ ।
 

प्रतिक्रिया