बागलुङ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन(लिजा)मा बागलुङ नगरपालिका जिल्लामै पहिलो बनेको छ ।
१० स्थानीय तह रहेको बागलुङमा ८७.२५ अंक प्राप्त गरेर जिल्लामै पहिलो भएको हो । कार्यसम्पादन महाशाखा प्रमुख रेमलाल कँडेलका अनुसार आर्थिक वर्ष २०८०।०८१ को मूल्यांकनमा बागलुङ नगरपालिका जिल्लामै पहिलो बनेको हो ।
नगरप्रमुख बसन्त कुमार श्रेष्ठले नगरपालिकाले गरेको कार्यसम्पदानका आधारमा जिल्लाकै उत्कृष्ट पालिका घोषणा भएको जानकारी दिए । नगरपालिकाले वार्षिक रुपमा सम्पादन मुल्याङ्कन बढाउदै लगेको छ । आर्थिक वर्ष २०७८।७९ मा ७७.५ अंक, आर्थिक वर्ष २०७९।८० मा ८३.७५ अंक र आर्थिक वर्ष २०८०।८१ मा ८७.२५ अंक प्राप्त गरेको हो ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको देशभरको नतिजा अनुसार जिल्लाका १० स्थानीय तहमा ८६ अंक प्राप्त गरेर निसीखोला गाउँपालिका दोस्रो भएको छ । यस्तै गलकोट नगरपालिकाले ८१ अंक प्राप्त गरेर तेस्रो भएको छ ।
यस्तै जैमिनी नगरपालिकाले ८०.७५ अंक प्राप्त गरेको छ भने ढोरपाटन नगरपालिकाले ८० अंक प्राप्त गरेको छ । यस्तै तमानखोला गाउँपालिकाले ७९।७५ अंक, बरेङ गाउँपालिकाले ७७.५०, बडिगाड गाउँपालिकाले ७७.२५, ताराखोला गाउँपालिकाले ७६. ६० र काठेखोला गाउँपालिका ७५.५० प्राप्त गरेको छ ।
तीनवटा प्रणालीलाई मन्त्रालयले चालु वर्षदेखि भने स्थानीय शासन कार्यान्वयन मूल्यांकन प्रणाली (एलजी पास) नामाकरण गरेको छ । उक्त प्रणालीले तीनवटै क्षेत्रलाई एकरुपतामा हेर्ने गर्छ । जस अनुसार ५ शिर्षकमा २ दर्जनबढी उपशिर्षकमा अध्ययन गरेर कार्यसम्पादन मूल्यांकन गर्न थालेको हो । सुशासन तथा संस्थागत विकास, सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास र वन वातावरण तथा बिपत व्यवस्थापनको क्षेत्रमा पालिकाले काम गर्ने भएकोले ती विषयगत क्षेत्रका उपशिर्षकमा मूल्यांकन गर्न शुरु भएको छ ।
तोकेको समयमा तोकेका काम पुरा गरेर प्रविष्टी नगरेसम्म पालिकाले नम्बर पाउँदैनन् । त्यसका लागि सबै शाखा जिम्मेवार बन्ने, आइटी शाखाले तोकेको दिनमा तोकेका सामाग्री अपलोड गर्नुपर्ने काम गर्नुपर्दछ ।
गण्डकी प्रदेशमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो भएको छ । आर्थिक वर्ष २०८०।०८१ को मूल्याङ्कनमा अर्जुनचौपारीले उत्कृष्ट अंक सहित प्रदेशमा पहिलो स्थान पाएको हो । अर्जुनचौपारीले ८८.७५ अंक पाएको छ ।
स्याङ्जाकै भीरकोट नगरपालिकाले ८८.२५ अकं सहित गण्डकीमा दोस्रो स्थान पाएको छ भने पर्वतको जलजला गाउँपालिकाले ८८ अंक सहित तेस्रो भएको छ । प्रदेश भित्रका ३ पालिकाले ८८ अंक पार गर्दा २२ पालिकाले ८५ अंक पार गरेका छन् । यस्तै, ४१ पालिकाले ८० अंक कटाएका छन् । गण्डकीको एकमात्रै महानगर पोखराले ८३।५ अकं ल्याएको छ । नगरपालिकातर्फ गोरखाको पालुङटार ८७।७५ अंक सहित दोस्रो हुँदा गाउँपालिकातर्फ गोरखाकै भीमसेन थापा गाउँपालिका समान ८७।७५ अंक सहित तेस्रो भएको छ । समग्र पालिकाहरुमा पालुङटार प्रदेशमा चौथो र भीमसेनथापा पाँचौ भएको छ ।