बागलुङ - जिल्लाको बागलुङ नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयमा गत आईतबार देखी बार्षिक परिक्षा सुरु भएको छ । प्राथमिक, आधारभुत र माध्यामिक तहमा अध्ययन गर्ने सवै विद्यार्थीले एकै पटक परिक्षा दिई रहेका छन । नगरपालिकाले कक्षा ८ को परिक्षा नगरस्तरीय बनाएको छ भने एसइइ कक्षा ११ र १२ बाहेक अन्य कक्षाको परिक्षा विद्यालय स्तरीय नै संचालन गरेका छन । नगरपालिकाले संचालन गरेको कक्षा आठको परिक्षा भने ‘इन्टरचेञ्ज’ अर्थात अन्तर विद्यालय परिक्षा प्रणालीमा संचालन गरिएको छ । विशेष त शिक्षाको गुणस्तर बृद्धिका लागि कक्षा ८ को परिक्षा अन्तर विद्यालय परिक्षा प्रणालीमा संचालन गरिएको बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताए ।
नगरपालिकाले सदरमुकाम क्षेत्रका सवै सामुदायिक विद्यालयमा परिक्षा केन्द्र निर्धारण गरेर संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थी पनि सोही केन्द्रमा सहभागी गराएको पोखरेलले बताए । ‘आईतबार देखी सवै विद्यालयमा सवै कक्षाका बार्षिक परिक्षा भएका छन । त्यो मध्ये कक्षा ८ को परिक्षा हामी नगरपालिका स्तरीय बनाएका छौं, पोखरेलले भने, –शिक्षाको गुणस्तर सुधार र बृद्धिका लागि यस वर्ष देखी ‘इन्टरचेञ्ज’ प्रणाली लागु गरेका छौं । सदरमुकाम क्षेत्रमा विद्यालय फरक छन भने ग्रामिण भेगका विद्यालयमा केन्द्राध्यक्ष र निरिक्षक अन्य विद्यालयको राखिएको छ ।
नगरपालिकाले विषेश त विद्यार्थीको मनोबल उचो बनाउन र शिक्षाको गुणस्तर सुधारका निम्ती यस वर्ष देखी अन्तर विद्यालय परिक्षा प्रणाली सुरुवात गरेको नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताए । ‘इन्टरचेञ्ज’ प्रणाली मार्फत परिक्षा लिने जिल्लामै पहिलो स्थानिय बागलुङ नगरपालिका रहेको छ । ‘शिक्षाको गुणस्तर सुधार गर्नका निम्ती परीक्षाहरुको मोडेलमै पनि परिवर्तन आवश्यक छ । हामी केही परिवर्तन गर्ने सोचका साथ यो प्रणाली लागु गरेका हौं, नगरप्रमुख श्रेष्ठले भने,–‘एउटा विद्यालयको विद्यार्थी अर्को विद्यालयमा पुगेर परिक्षा दिँदा उसमा थप हौसला थपिन्छ भने आगामी एसइई परिक्षाका लागि झनै टेवा पुग्छ । कक्षा ८ को परिक्षा सम्पुर्ण एसईइ मोडलमा संचालन गरिएको उनले बताए । होम सेन्टरलाई हटाउने गरी यस्तो प्रणाली ल्याएको हो ।
भौगोलिक हिसाबले सोही विद्यालयमै परिक्षा लिनुपरेमा अन्य विद्यालयबाट केन्द्राध्यक्ष र निरिक्षक पढाईएको नगर शिक्षा अधिकृत पोखरेलले बताए । नगर भित्रका ५० वटा विद्यालयका १ हजार २ सय ३० विद्यार्थी परिक्षामा सहभागि हुनेछन भने २७ वटा केन्द्र रहेका छन । नगर क्षेत्र भित्रका सवै संस्थागत विद्यालयका विद्यार्थी सामुदायिक विद्यालयमा पुगेर परिक्षा दिएका छन । नगरपालिकाले अहिले ल्याएको परिक्षा प्रणाली आधारभुत तह र माध्यामिक तहमा लागु गरेमा शिक्षाको गुणस्तर माथि उकास्न सकिने नगरपालिकाका सामाजिक विकास समितिका संयोजक ज्ञानेन्द्र गौतम बताउँछन । ‘विद्यार्थीका मुल्याङ्कनका आधार र शैली धेरै फरक हुन्छन । यसमा हामीले जोड दिनुपर्दछ गौतमले भने,–‘आफ्ना बाबु नानिको पढाईको बारेमा अभिभावकले पनि सोच्न जरुर छ । यसले मात्र हामीले राम्रो नतिजनाको अपेक्षा गर्न सक्छौं नत्र पुरानै शैलीमा जान्छ । नगरपालिकाले यो परिक्षा प्रणाली संचालन निम्ती परिक्षा समिति नै गठन गरेर नगर भरी नै एउटै प्रश्नपत्र निर्माण गरी परिक्षा संचालन गरेको छ ।
नगरपालिकाले संचालन गरेको परिक्षाको निरिक्षण गर्दै नगर प्रमुख बसन्त कुमार श्रेष्ठ र सामाजिक विकास समितिका संयोजक ज्ञानेन्द्र गौतम । तश्विर peoplekhabar.com