बागलुङको जैमिनी विगत ३ महिना देखि डाक्टर विहिन बनेको छ । नगरपालिकाको केन्द्र कुश्मिसेरामा रहेको कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका करार सेवामा कार्यरत डाक्टरको तीन महिना अगाडि नै अवधि सकिएकाले जैमिनी अहिले डाक्टर विहिन बनेको हो ।
स्वास्थ्य मन्त्रालय र बिभागमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि डाक्टर नपठाएको जैमिनी नगरपालिकाले जनाएको छ । नगरपालिकाको केन्द्रमा रहेको कुश्मिसेरा प्राथमिक केन्द्रमा एकजना डाक्टरको दरबन्दी भएपनि डाक्टर अध्ययन विदामा गएकाले करारमा डाक्टरको नियुक्ती गरिएको थियो । करारमा नियक्ती भएका डाक्टरको पनि असार मसान्तमा करार अवधी सकिएपछि अहिले कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्र डाक्टर विहिन छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत स्वास्थ्य सेवा बिभागमा डाक्टर पठाउन पत्राचार गरेपनि अझैसम्म नआएको जैमिनी नगरपालिका स्वास्थ्य शाखा संयोजक गोविन्द प्रसाद आचार्यले जानकारी दिए । यसअघि करारमा आएका डाक्टर राजु भट्टराई क्षेत्रीको गत बैशाख १४ गते करार अवधि सकिएको थियो । तर कोरोना संक्रमणको अवस्था र तत्कालको समस्या समाधानको लागि उहाँलाई दुई महिना करार थप गरी असार मसान्तसम्म राखिएको थियो । असार मसान्त पछि उहाँको अवधी सकिएर विदाई भएपछि अझैसम्म अर्को डाक्टर आएका छैनन् ।
कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा एकजना मेडिकल अधिकृत (डाक्टर)को स्थाई दरवन्दी भएपनि स्थायी डाक्टर सुस्मा आचार्य अध्ययन विदामा गएकाले मन्त्रालयमा दुईबर्षे करार सम्झौता गरी क्षेत्री कुश्मिसेरा आएका थिए । अहिले पनि मन्त्रालयमा निरन्तर कुराकानी भैरहेको र बिभागबाट छिटै सरकारी कोटामा अध्ययन गरेका मेडिकल अधिकृत भएपनि पठाउनेमा आफुहरु विश्वस्त रहेको संयोजक आचार्यले बताए ।
मन्त्रालय र बिभागमा पहलकदमी भैरहेपनि डाक्टर अभावका कारण समस्या भएको छ । प्रायः प्राइभेट पढेका डाक्टरहरुले सुगम ठाउँ नै खोज्ने भएकाले सरकारी छात्रबृत्तिमा पढेकाहरुले दुर्गममा सेवा गर्नैपर्ने प्रावधान अनुसार त्यस्ता डाक्टरहरु आउने भएपनि अहिले करारमा नियुक्ती गरेर कुश्मिसेरा आइहाल्ने डाक्टर नभएको स्वास्थ्य सेवा बिभाग टेकुले जनाएको छ ।
अहिले कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार त्यहाँका स्वास्थ्यकर्मीहरुले गरिरहेका छन् । श्रोत र साधन नभएका कारण डाक्टर भएपनि जटिल प्रकारका उपचार कुश्मिसेरामा सम्भव थिएन । कार्यभार बढेपनि जनताको सेवामा लाग्नुपर्ने बाध्यतामा अहिले स्वास्थ्यकर्मी रहेको स्वास्थ्य संयोजक आचार्यले बताए । डाक्टर नहुँदा प्राथमिक स्वास्थ्य केन्द्रबाट डाक्टरको उपचार सेवा दिनुपर्ने विरामीहरुलाई रेफर गरेर अन्यत्र पठाउनुपर्ने बाध्यता रहेको छ ।
स्वास्थ्य विमा गरेकाहरुलाई सेवा दिइरहेको स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा विमा सेवा पनि प्रभावित भएको छ । सामान्य उपचार पाएपनि डाक्टरको सेवाका लागि कागज बनाएर रेफर गर्नुपर्ने झण्झट हुने गरेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।