पोखरा महानगरपालिकाको बजेट ८ अर्ब ३५ करोड

  • असार ८, २०८२

पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि झन्डै साढे ८ अर्बको बजेट ल्याएकाे छ । उपमेयर मन्जुदेवी गुरुङले आगामी वर्ष कार्यान्वयन गर्ने गरी ८ अर्ब ३५ करोडको बजेट प्रस्तुत गरेकी हुन् ।


पूरा बजेटमध्ये सङ्घ सरकारको सशर्त अनुदानबाट ३ अर्ब १३ करोड अर्थात ३६.१३ प्रतिशत र अन्य स्रोतबाट ५ अर्ब २२ करोड अर्थात् ६३.८७ प्रतिशत छ ।नगरपालिकाले ९५ करोड खर्च गर्ने गरी प्रस्ताव गरिएको छ । यसबाहेक सामाजिक विकासमा ३८ करोड, आर्थिक विकासमा १८ करोड, वडा कार्यालयमा १ अर्ब, पूर्वाधार तर्फ २ अर्ब ३३ करोड, सहरी विकास, पर्यटन, वन तथा वातावरणमा ३८ करोड बजेट प्रस्ताव गरिएको गुरुङले बताइन् ।

पूरा बजेटलाई आन्तरिक राजस्वबाट ३ अर्ब २३ करोड पूर्ति गर्ने लक्ष्य छ । प्रदेश राजस्व बाँडफाँटबाट ४ करोड २८ लाख, सङ्घको राजस्व बाँडफाँटबाट ३३ करोड ८लाख, सङ्घको समानीकरण अनुदान ५२ करोड ८७ लाख, प्रदेश समानीकरण अनुदान ८ करोड १५ लाख प्राप्त हुने अनुमान छ ।

चालू आर्थिक वर्षमा पोखरा महानगरपालिकाले १ अर्ब ५५ करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको थियो । गत असारमा उपमेयर मन्जुदेवी गुरुङले खर्च व्यहोर्ने शीर्षकमध्ये १ अर्ब ५५ करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य प्रस्तुत गरेकी थिइन् ।
जेठ मसान्त अर्थात ११ महिनाको अवधिमा नगरपालिकाले जम्मा ९६ करोड आन्तरिक आम्दानी शीर्षकबाट कमाएको छ । आर्थिक वर्ष सकिन केही हप्ता मात्र बाँकी रहँदा यो आम्दानी बढीमा १ अर्ब १८ करोड पुग्ने संशोधित अनुमान गरिएको छ । संशोधित अनुमान सफल भएपनि लक्ष्य भेटाउन ३७ करोड रुपैयाँ पुग्दैन ।

साँघुरिँदो स्रोत, आर्थिक मन्दी, करदातामा उत्साह नहुनु लगायत कारणले महानगरले निरन्तर आन्तरिक आम्दानी गुमाइरहेको छ । खासगरी नदीजन्य सामग्रीबाट ठुलो राजस्व गुमाएको छ । अन्य स्रोत पनि पर्याप्त परिचालन गर्न सकेको देखिँदैन । यस्तो अवस्थामा महानगरपालिकाले आगामी वर्षको बजेट प्रस्तुत गरेको छ । सामान्य लक्ष्य समेत हासिल गर्न नसकेको पोखराले आगामी वर्ष चालू वर्षको अनुमान भन्दा दोब्बर रकम आन्तरिक राजस्वबाट उठाउने लक्ष्य लिएको छ । 

उपमेयरबाट प्रस्तुत ८ अर्ब ३५ करोड १५ लाख रुपैयाँको बजेट नयाँ योजना थप्ने नाममा कृत्रिम रूपमा फुलाइएको छ । राजस्व परामर्श समितिले आगामी वर्षको लागि १ अर्ब ६० करोड मात्रै आन्तरिक आम्दानी हुने लक्ष्य बजेटमा राख्न सुझाएको थियो ।

तर आइतबार बसेको कार्यपालिका बैठकले योजनाको चाप बढेको भन्दै फुलाएर ३ अर्ब २३ करोड पुर्‍याएको हो । प्रारम्भिक तयारीमा पौने ७ अर्ब हाराहारीको बजेट प्रस्ताव तयार गरिएको थियो । तर अन्तिम समयमा ह्वात्तै बढाएर आकार आकासिएको हो ।
बजेटको आकार बढाउने मुख्य माध्यम आन्तरिक प्रक्षेपण नै हो । नयाँ योजना थप्नकै लागि आन्तरिक आम्दानीको प्रक्षेपण कृत्रिम रूपमा बढाइएको नगरपालिकाकै एक उच्च कर्मचारीले बताए ।

‘बजेटको आकार बढीमा ७ अर्ब हुन्छ भन्ने हाम्रो अनुमान थियो । सोही अनुसार तयारी भइरहेको थियो । तर अन्तिम समय (बिहान कार्यपालिका बैठक)मा आकार एकाएक साढे ८ अर्ब पुर्‍याइयो,’ उनले भने, ‘१ अर्ब आन्तरिक आम्दानी पुर्‍याउन त हम्मेहम्मे छ । सवा ३ अर्ब कसरी उठ्छ र यो बजेट कार्यान्वयन हुन्छ ? वास्तवमा भन्ने हो भने बजेटको आकार कृत्रिम रूपमा फुलाइएको छ ।’ उनका अनुसार जनप्रतिनिधिको नयाँ कार्यक्रम थप गर्नका लागि नै अस्वाभाविक राजस्व प्रक्षेपण गरिएको हो । ‘अहिलेको बजेटबाट नयाँ कार्यक्रम थप्ने अवस्था छैन । १ अर्ब १६ करोडजति बहुवर्षे योजनाकै दायित्व बाँकी छ,’ उनले भने, ‘कि एउटा पनि कार्यक्रम थप्न भएन । नयाँ थप्ने हो भने बजेटको आकार बढाउनुपर्थ्यो । हामीले बजेट नथपौँ भनेर सुझाव दियौँ, नेतृत्वबाट ध्यान दिइएन ।’

बजेट वक्तव्य समेत यति हतारमा बनाइएको छ कि आगामी वर्ष कति चालू र कति पूँजीगत खर्च हुन्छ भन्ने पनि उल्लेख छैन । राजस्वको यथार्थभन्दा अत्यधिक बढी आँकलन गरेर बजेट फुलाउनु अर्थतन्त्रमा जोखिमपूर्ण हो ।

 


 

प्रतिक्रिया