आदर्श कपको उपाधी : छात्र तर्फ चिल्ड्रेनलाइफ र छात्रा तर्फ आदर्शलाई

  • जेठ २०, २०८२

बागलुङ -   बागलुङमा आयोजित आदर्श कप फुटबलको दोस्रो संस्करणको उपाधी चिल्ड्रेनलाईफ र आयोजक आदर्श विद्यामन्दिरले जितेका छन ।  माध्यमिक शिक्षा परीक्षा (एसईई) स्तरीय दोस्रो आदर्श  प्रतियोगितामा छात्रतर्फ चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुल र छात्रातर्फ आयोजक आदर्श विद्यामन्दिर स्पोर्टस् क्लब विजेता बनेका हुन ।

मंगलबार बाङेचौर खेलमैदानमा सम्पन्न छात्रतर्फको फाइनल खेलमा आयोजक आदर्श विद्यामन्दिर स्पोर्टस् क्लब ‘निलो’लाई ०–१ गोल र छात्रातर्फ न्यु ओयसिस एकेडेमीलाई ट्राइबेकरमा १–२ गोलले पराजित गर्दै आयोजक आदर्श विद्यामन्दिरले दोस्रो संस्करणको आदर्श कपको उपाधि जितेका हुन् ।

छात्रतर्फको खेलमा चिल्ड्रेनका रिदिस क्षत्रीले दोस्रो हाफको ४ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । रिदिसले फ्रिकिक मार्फत  गोल गरेका थिए । उनको गोलले नै  चिल्ड्रेन लाईफले ७५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने अवसर दिलायो । उपविजेतामा सिमित बनेको आदर्श विद्यामन्दिर ‘निलो’ले ३७ हजार ५ सय रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।


छात्रतर्फ सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता आदर्श विद्यामन्दिरका सुझाव बानियाँ घोषित हुँदा चिल्ड्रेन लाईफका क्यारोन पुन उत्कृष्ट गोलरक्षक, प्रतिक थापा उत्कृष्ट मिडफिल्डर, विशाल थापा उत्कृष्ट स्ट्राइकर र निशान बुढा उदयमान खेलाडी र आदर्श विद्यामन्दिरका युकेन खत्री उत्कृष्ट डिफेन्डर घोषित भए । होलिचाइल्ड बोर्डिङ अनुशासित टिम बनेको छ ।

यस्तै, छात्रातर्फको खेल खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टीमा आदर्शको लागि कट्रिना रोका र स्मृती शेरचनले गोल गरेभने जियाना दिन मियाँ, मोनिता पुन र यमन दिन मियाँ गोल गर्न असफल भए । न्यू ओयसिसको लागि आयुषा आलेले गोल गर्दा स्मारिका श्रेष्ठ, रस्मी थापा, ममता क्षेत्री र प्राप्ती अर्याल गोल गर्दा असफल भए ।

छात्रा तर्फको च्याम्पियन बनेको आदर्श विद्यामन्दिरले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । उपविजेता न्यू ओयसिसले १५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक आदर्श विद्यामन्दिरका प्रिन्सीपल भुपेन्द्र केसीले जानकारी दिए । 

छात्रातर्फ आदर्श विद्यामन्दिरकी यमन दिन मियाँ सर्वोत्कृष्ट खेलाडी घोषित हुँदा आदर्शकै सन्ध्या थापा उत्कृष्ट गोलरक्षक, जियाना दिन मियाँ उत्कृष्ट मिडफिल्डर, आरजु सुवेदी उदयमान खेलाडी र न्यू ओयसिसकी आयुषा आले उत्कृष्ट डिफेन्डर र प्राप्ती अर्याल उत्कृष्ट स्ट्राइकर घोषित भए । छात्रातर्फ धौलागिरी आवासिय मावि अनुशासित टिम घोषित भयो । प्रतियोगिताभरमा उत्कृष्ट प्रशिक्षक आदर्शका अनुप पाण्डे घोषित भए ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय