बागलुङ- राधा माधव समिति बागलुङले सत्संग भवन निर्माण गर्ने भएको छ । भवनको सोमबार बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले शिलन्यास गरेका छन । बागलुङ नगरपालिका–४ उपल्लाचौरमा निर्माण हुन लागेको मन्दिरको कुल १ करोड २० लाख रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न गरिने राधा माधव समिति बागलुङका अध्यक्ष भिमसेन कुमार श्रेष्ठले जानकारी दिए ।
भवनको शिल्यान्यास गर्दै नगर प्रमुख श्रेष्ठले विभिन्न धार्मिक संम्पदाको निर्माणले बागलुङलाई थप धार्मिक पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न सकिने बताए । उनले राधे राधे कुनै निश्चित धर्मको मात्र नभई सवैको साझा संस्था रहेको बताए । श्रेष्ठले बागलुङ नगरपालिकाले सवै धार्मिक सम्पदाको रक्षाका निम्ती सहयोग गर्ने बताए ।
कार्यक्रममा बागलुङ नगरपालिका–४ का वडा अध्यक्ष कुमार विक्रम क्षेत्री, गौरिधाम शिवमन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बहादुर जिसी, राधामाधव समिति रामबजार पोखराको अध्यक्ष नारायण बानिया, बागलुङका साहित्यकार प्रेम छोटा, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कंडेल लगायतले बोलेका थिए ।
कार्यक्रम राधा मानव समितिका अध्यक्ष भिमसेन कुमार श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष तुलसीराम सापकोटाको स्वागत र सचिव दिपक कंडेलको संचालनमा सम्पन्न भएको थियो । भवन निर्माणका निम्ती बागलुङ नगरपालिकाबाट १५ लाख रुपैयाँ र गण्डकी प्रदेश पर्यटन उद्योग तथा अपुर्ति मन्त्रालयबाट १५ लाख रुपैयाँको सहयोग गरेको छ । बाँकी रकम विभिन्न व्यक्ति र संघ संस्थाले सहयोग गर्ने अपेक्षा गरिएको राधा माधव समितिले जनाएको छ । भवन निर्माणका लागि समितिका अध्यक्ष भिमसेन कुमार श्रेष्ठले ११ आना जग्गा र स्थानिय बाबुचन्द्र केसीले उक्त स्थानमा सडकका लागि आवश्यक जग्गा निःशुल्क प्रदान गरेका थिए । समितिले आगामी डेढ वर्षमा भवन निर्माणको काम सम्पन्न गर्ने लक्ष्य राखेको छ ।