बागलुङ -- नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम बारेमा उद्योगी व्यवसायीसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
केही समय पहिले सम्पन्न नीजि क्षेत्रको छाता संगठन उद्योग वाणिज्य संघको ६१औँ साधारण सभा तथा १९औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी सदस्यलाई वधाई तथा शुभकामनासँगै नीति तथा कार्यक्रमका बारेमा छलफल गरिएको हो ।
छलफलमा उद्योगी व्यवसायीहरुले नगरमा करको दायरा फराकिलो बनाउन र दर घटाउन आग्रह गर्दै व्यवसायीको सरक्षण गर्न निति तथा कार्यक्रम र बजेट निर्माणका लागि सुझाव दिएका थिए ।
कार्यक्रममा बोल्दै बागलुङ नगपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले नीजि क्षेत्र आर्थिक क्षेत्रको समृद्धिको आधार स्तम्भ भएकोले नगरपालिका उद्योगी व्यवसायीहरुको साथमा रहेको बताए । उनले नीजि क्षेत्रको समस्या आफुले नजिकबाट नियालेको भन्दै व्यवसायी मैत्री नीति तथा कार्यक्रमको लागि आफू प्रतिवद्ध रहेको बताए ।
नगरपालिका र नीजि क्षेत्रको सहकार्यतालाई अगाडी बढाएर आर्थिक समद्धि हासिल गर्नु आवश्यक रहेको श्रेष्ठको बनाई थियो । उद्योग वाणिज्य संघसँग सार्वजनिक निजी साझेदारी कार्यक्रम (सानिसा) कार्यक्रम गर्न नगरपालिका तयार रहेको श्रेष्ठले जानकारी दिए । व्यवसायिक सुरक्षाको प्रत्याभुती दिलाउन नगरपालिका र उद्योग वाणिज्य संघको कार्यगत एकता आवश्यक रहेको समेत उनको भनाई थियो ।
नगर उपप्रमुख राजु खड्काले नगरपालिका समृद्ध बागलुङ नगरको परिकल्पनाका साथ आगाडी बढेकोले हरेक क्षेत्र र वर्गका नागरिकको सल्लाह सुझाव र साथ आवश्यक रहेको बताए ।
सरोकारवाला र आम नागरिकको सुझावबाटै नगरपालिकाको कार्यक्रम र बजेट बनाउने योजना नगरपालिकाको रहेको खड्काले बताए ।
कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्यले बजारमा काम गर्ने जनशक्ति नहुँदा उद्योग चलाउन विदेशी कामदार ल्याउनुपर्ने अवस्था रहेको भन्दै युवाहरुलाई गाउँमै उद्यमी बनाउने खालका कार्यक्रम ल्याउन नगरपालिकालाई आग्रह गरेका थिए ।
नगरपालिका र संघ मिलेर नगरको पर्यटन उद्योग र रोजगारीको क्षेत्रमा काम गर्न अब ढिला गर्न नहुने शाक्यको भनाई थियो । शाक्यले आगामी नीति तथा कार्यक्रममा उद्योगी व्यवसायी मैत्री योजना ल्याउन आग्रह गरे ।
कार्यक्रममा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ऋषिराम गौतम महासचिव इन्द्रमणी पौडेल (अर्जुन) ले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम नगरपालिकाका प्रशासन शाखा प्रमुख भिमसेन पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।