काठमाडौं–नेपाली कांग्रेसका युवा नेता दक्ष पौडेलले नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । राष्ट्रिय सहकारी विकास बोर्डको सहअध्यक्ष भएर काम गरिसकेका पौडेलले खसआर्य तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने जनाएका छन् ।
कांग्रेसलाई आम कांग्रेसजनको भरोसायोग्य पार्टी बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको बताए । ‘कांग्रेसको राजनीतिबाट मुलुकको रुपान्तरणमा योगदान गर्ने अठोट लिएको छु,’ पौडेलले भने, ‘पार्टी भित्र रहेर सुदृढ संगठन बनाउन पहल गर्नेछु ।’
पौडेलले कांग्रेसको सन्तनेता कृष्ण प्रसाद भट्टराईसँग पनि लामो समय सहकार्य गरेर काम गरेका थिए । बागलुङको अमलाचौरमा राजनीतिक परिवारमा जन्मिएका पौडेले सामाजिक, राजनीतिक,सहकारी क्षेत्रमा क्रियाशिल छन् । पौडेल २०४३देखि २०४९सम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको सचिवालयमा बसेर काम गरेका थिए । सरस्वती क्याम्पस काठमाडौंमा नेविसंघको संगठन गरेर सक्रिय राजनीति सुरु गरेका थिए । पञ्चायत विरोधी अभियानमा संलग्न भएको आरोपमा पौडेलका पिता भिमनाथ शर्माको हत्या भएको थियो ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि काठमाडौं क्षेत्र नं ७बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका पौडेल १३ औं महाधिवेशनमा पनि महासमिति सदस्य थिए । पौडेलले कोभिड १९को संक्रमणको बेला काठमाडौं लगायत बागलुङमा पनि विरामीको उपचारमा सहयोग, अस्पतालमा अक्सिजन ग्यास, कोभिडका विरामीको उपचारमा सहयोग लगायतका काम गरेका थिए ।
लामो समयदेखि सामाजिक काममा सक्रिय युवा उद्यमी समेत रहेका पौडेलले नेपाली कांग्रेसका आम कार्यकर्ताको सुख दुःखमा साथ दिँदै आएका छन् । पौडेलले आफ्ना बाबुको स्मृतिमा भिमनाथ शर्मा प्रतिष्ठान स्थापना गरेर प्रतिष्ठानमार्फत सामाजिक काम गर्दै आएका छन् ।