कालिका मन्दिरको जंगलमा १ सय ६० जातका बनस्पती 

  • असोज १७, २०७८

जिल्लाकै ऐतिहासिक धार्मिक स्थलको रुपमा रहेको बागलुङ कालिका भगवती मन्दिर परिसरको जंगलमा १ सय ६० जातका वनस्पतीको पहिचान भएको छ । मन्दिर परिसरको जंगलमा अध्ययन गरिरहेको वनस्पति विद्को समूहले हालसम्म पहिचान भएका वनस्पतीको विषयमा जानकारी गराएको हो ।
मन्दिर परिसरमा रहेका रूखको पहिचान र गणना थालिएकाले वनस्पति पहिचानमा सहज भएको हो । कालिका भगवती गुठी व्यवस्थापन समितिले करिब १ सय ९० रोपनी जग्गामा रहेको वनका रूखका वर्ग छुट्याउँदै गणना सुरु भएको जनाएको छ । परिसरका सयौं वर्ष पुराना साल, सल्ला, चिलाउने, कटुसलगायत विभिन्न जातिका रूखको पहिचान गरी वैज्ञानिक नामसहित ट्याग लगाइँदै छ ।
मन्दिरमा करिब ४ सय वर्ष पुराना रूख पाइएको गुठीका अध्यक्ष राजु खड्काले बताए । बोटबिरुवा अध्ययन गर्दा केही महत्वपूर्ण वनस्पति फेला परेको टोलीमा सहभागी प्रवीण भण्डारीले बताए । उनी चिनमा वनविज्ञान विषयमा पीएचडी अध्ययन गरिरहेका छन् ।
‘जैविक विविधता र वनस्पतिको अभिलेखीकरणसँगै मन्दिर परिसरको जंगलमा रहेका ६० प्रजातिका रूखको वैज्ञानिक नामसहित ट्याग लगाइएको छ,’ उनले भने, ‘हामी अध्ययनको क्रममा छौं, मन्दिरको जंगलमा महत्वपूर्ण वनस्पति भुइँसुनाखरी फेला परेको छ ।’ जंगलमा सर्पगन्धा लगायत औषधीय गुण बोकेका वनस्पति समेत पाइएका छन् ।
मन्दिरको अधिकांश भूभाग जंगलले ढाकिएको छ । भक्तजनलाई पर्यटनमैत्री वातावरण बनाउने र जंगलमा पाइने वन्यजन्तुको संरक्षण गर्ने तयारी गरिएको समिति अध्यक्ष खड्काले बताए  । 
 

प्रतिक्रिया