बागलुङ- ट्राफिक प्रहरी कार्यालय बागलुङले चालु आर्थिक बर्षको तीन महिनामा १८ लाख ९७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । चालु आर्थिक बर्षको साउन, भदौ र असोज महिनामा मात्रै उक्त राजश्व संकलन गरेको जनाएको छ ।
ट्राफिक नियम उल्लंघन गरेका २ हजार ८ सय ५० सवारी साधनबाट सो राजश्व संकलन गरिएको ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख राजकुमार केसीले बताए ।
कार्वाही पर्नेमा सबैभन्दा बढि मोटरसाईकल रहेका छन् । यो तीन महिनाको अबधिमा ९ सय ७९ मोटरसाईकलबाट ६ लाख ३९ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको छ । ३ सय ८५ कारजीपबाट ३ लाख ८८ हजार, ३ सय ४९ ट्रक तथा ट्रिपरबाट २ लाख ४० हजार रुपैयाँ, ४ सय ९३ ट्याक्टरबाट ३ लाख ४२ हजार, ४ सय १९ बसबाट २ लाख ७४ हजार ५ सय र अन्य २२ सवारी साधनबाट १३ हजार गरि १८ लाख ९७ हजार रुपैयाँ राजश्व संकलन भएको हो ।
पछिल्लो तीन महिनाको राजश्व अघिल्लो बर्षको तीन महिनाको भन्दा झण्डै ८ लाख रुपैयाँले बढि हो । ट्राफिक प्रहरी प्रमुख केसीले आफुहरुले बागलुङ बजारमा ट्राफिक जाम व्यवस्थापन र दुर्घटना न्यूनिकरणको लागि महत्वपूर्ण भूमिका खेलेको बताए ।
‘ट्राफिक नियम उल्लंघन गर्नेलाई जरिवाना गर्ने, सचेतना गर्ने लगायतको कामहरु गर्दै आएका छौँ’ प्रमुख केसीले भने–‘त्यहि कारण पनि पछिल्लो समय बागलुङमा दुर्घटनाको सख्यामा कमि हुँदै आएको छ ।’
उनले मदिरा सेवन गरि सवारी चलाउने, सवारी चालक अनुमति पत्र र बिलबुक बिना सवारी चलाउने, दु्रत गतिमा सवारी चलाउने, सिट क्षमता भन्दा बढि यात्रु राख्ने लगायतका सवारीलाई कार्वाही गरिएको बताए ।