बागलुङ- महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ बागलुङमा हस्तकलाद्धारा निर्मित कुसन बनाउने तालिम संचालन गरिएको छ ।
महिला उद्यमी विकास समिति बागलुङको आयोजना र बागलुङ नगरपालिका वडा नं. २ को सहयोगमा आईतबार देखी १५ दिनको लागि तालिम सुरु गरिएको हो ।
तालिमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले नयाँ नयाँ सिप र ज्ञानले महिलाहरुलाई आत्मनिर्भर बन्न टेवा पु¥याउने बताए । उनले पछिल्लो समय बढ्दो प्रयोग हुने हस्तकलाका द्धारा निर्मित सामाग्रीहरुको तालिमहरुले महिलालाई उद्यमी बन्न प्रेरित गर्ने बताए । खड्काले नगरपालिकाले आउँदा दिनमा पनि महिला तथा बालबालिका लक्षित प्रभावकारी कार्यक्रम ल्याउने तयारी रहेको बताए ।
कार्यक्रममा बागलुङ उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष नरेश कंडेलले महिलाहरुले सिप ज्ञानका साथै नेतृत्व विकासमा पनि जोड दिनुपर्ने बताए । उनले महिलाहरुले उत्पादन गरेका हस्तकलाका सामाग्रीको बजार व्यवस्थापनका निम्ती बागलुङ उद्योग बाणिज्य संघले सहजीकरण गर्ने बताए ।
कार्यक्रममा बागलुङ नगरपालिका–२ का वडा सदस्य विदेश कुमार श्रेष्ठ, सिर्जनशिल नारी समाजका अध्यक्ष शान्ती ज्ञावली, महिला हित वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लिला खड्का लगायतले तालिम सफलताको शुभकामना व्यक्त गरेका थिए । तालिममा ५८ जना महिलाहरु सहभागी भएका छन भने सहजीकरण प्रशिक्षक लक्ष्मी शाक्यले गर्ने छन । समितिले यस अगाडी पनि महिलाहरुको नेतृत्व विकास सम्बन्धी तालिम संचालन गरेको छ । बागलुङ उद्योग बाणिज्य सँग सँगै निरन्तर सहकार्य गर्दै आएको समितिले महिलाहरुको क्षमता विकासका निम्ती विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ । कार्यक्रम महिला उद्यमी विकास समितिका अध्यक्ष भगवती केसीको अध्यक्षता र स्वागत, सचिव जुनु श्रेष्ठको संचालन र सहसचिव सिता राजभण्डारीको धन्यबाद मन्तव्यमा सम्पन्न भएको थियो ।