• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • समाज ,
  • स्थानीय सरकार ,
  • पर्यटन

बागलुङको पञ्चकोटमा ब्रह्माण्डीय महायज्ञ

  • फाल्गुण ९, २०८०

बागलुङ - धार्मिक एवं पर्यटकीय गन्तव्यको रुपमा विकास भएको बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा बृहत ब्रह्माण्डीय महायज्ञ बुधबार देखी सुरु भएको छ ।  महायज्ञको गण्डकी प्रदेशका १ सय ८ जना कन्याले शुभारम्भ गरेका छन् । अनन्त श्री विभूषित मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा) को अगुवाईमा महायज्ञ फागुन २३ गतेसम्म १५ दिन सञ्चालन हुने छ । महायज्ञमा २१ हजार ५ सय ५५ क्विन्टल धान्यान्चल समेत गर्न लागिएको महायज्ञ मुल आयोजक समितिका संयोजक स्वामी कमलयनाचार्यले जानकारी दिए । 
ब्रह्माण्डीय महायज्ञ अहिलेसम्म नेपालमा नभएको र बागलुङमा पहिलो पटक हुन लागेको उनी बताउँछन । ‘अहिले सम्मको जानकारी  अनुसार यस्तो ब्रह्माण्डीय महायज्ञ नेपालमा पहिलो पटक सुरु भएको छ, कमलयनाचार्यले भने,—‘हजारौं वर्ष पहिले कहिले भएको भए नेपालमा भयो, तर त्यो कतै इतिहासमा छैन्, महायज्ञको अध्यक्ष भगवान मुक्तिनाथ, संरक्षक भगवान पशुपतिनाथ, आह्वानकर्ता भगवान बुद्ध र स्वागतकर्ता गण्डकी नदी कृष्णगण्डकी र शुक्लागण्डकी दिदी बहिनी रहनेछन् । यो एउटा अद्भुत संयोग रहनेछ ।’ 
२५ फिट अग्लो मौलो २१ हजार कर्ताबाट धान अर्पण 
ब्रह्माण्डी महायज्ञ केवल धार्मिक कार्यक्रम मात्र नभई जल जोगाउन राष्ट्रिय आह्वान भएको कमलनयनाचार्यले बताए । ‘जल र गौ जोगाउन सक्यौ भने नेपाल समृद्ध हुन्छ,’ उनले भने,‘यो महायज्ञ मात्र होइन । यो ब्रह्माण्डीय महायज्ञ हो । यहाँ जल, उर्जा, विकास तथा वातावरण, देश विकासको अवधारणा र कार्यान्वयनका साथै राजनीति र सुशासनका बारेमा सम्मेलन हुनेछन् ।’ १५ दिनसम्म चल्ने महायज्ञमा २५ फिट अग्लो मौलो २१ हजार कर्ताबाट धान अर्पण गरेर पुरिनेछ । 
हरेक दिन फरक—फरक सम्मेलन
महायज्ञ संचालन हुने हरेक दिन फरक फरक कार्यक्रम संचालन हुनेछन् । पहिलो दिन बुधबार जल, उर्जा, विकास तथा वातावरण सम्मेलन हुनेछ । फागुन १० गते राष्ट्रिय राजनीति एवं कर्मचारी सहितको उपस्थितिमा पञ्चकोटको महत्वबारे प्रकाश पारिनेछ । यस दिन राष्ट्रपती रामचन्द्र पौडेल पनि पञ्चकोट आउने कार्यक्रम रहेको छ ।  फागुन ११ गते राष्ट्रिय शिक्षा प्रणालीको कार्यान्वयन सम्मेलन, फागुन १२ गते गण्डकी बिकासको अवधारणा र कायान्वयन सम्मेलन, फागुन १३ गते प्रादेशिक राजनीति र सुशासन सम्मेलन हुनेछ ।
फागुन १४ गते राष्ट्रिय सुरक्षा प्रणाली, न्यायिक पद्दती कार्यान्वयन सम्मेलन, फागुन १५ गते आत्म निर्भरमुखी राष्ट्रिय कृषि सम्मेलन, फागुन १६ गते योग नथा खेल सम्मेलन, फागुन १७ गते पूर्विय चिकित्सा पद्दती र जनस्वास्थ्य बिकास सम्मेलन हुने भएको मुल संयोजक कमलनयनाचार्यले बताए । यस्तै फागुन १८ गते राष्ट्रिय अर्थतन्त्रको विकास र वित्तिय संस्थाको योगदान, फागुन १९ गते समावेशीताको सिद्दान् र महिलाको क्षमता बिकास सम्मेलन, फागुन २० गते भाषा, साहित्य र संस्कृति संरक्षण सम्मेलन हुने छ । फागुन २१ गते समाजसेवा र समाजसेवीको प्रभावकारीता सम्मेलन, फागुन २२ गते प्राकृतिक श्रोत संरक्षण र वातावरण सम्मेलन तथा फागुन २३ गते बैदिक सनातन तथा बौद्ध धर्म र धार्मिक संस्थलको संरक्षण सम्बन्धी सम्मेलन समेत हुने भएको संयोजक कमलनयनाचार्यले बताए । 
विश्वशान्ति कलश निर्माण गरिने
बागलुङ नगरपालिका—६ स्थीत पञ्चकोटको एकिकृत विकासको काम सुरु भएपछि यो ठाउँ जिल्लाकै पर्यटकीय एवं धार्मिक गन्तव्यको रुपमा विकास हुन थालेको छ । २०७१ सालमा महायज्ञ संचालन गरेर  विश्वशान्ति कलश निर्माणका काम शिलन्यास भए पनि काम पूरा हुन सकेको छैन । १०८ फिट अग्लो कलशमा करिब एक हजार पाँच सय व्यक्तिहरु अटाउनेगरी कलस निर्माणको काम अगाडी बढेको छ । कलश निर्माणका लागि ४० फिट जमिनमुनीबाट फाउण्डेसन तयार पार्ने काम भैसकेको उनले बताए । ‘४० फिट तलबाट कलसका लागि फाउण्डेसनको काम भैसकेर एक तला ढलान भैसकेको छ,’उनले भने,‘यो नेपालमै पहिलो पटक विश्वशान्तिको सन्देश कालीगण्डकीको तटबाट सन्देश प्रवाह गर्नेगरी काम गर्दैछौं ।’
५ हजार ५ सय ५५ केजीको महाघण्टा
५ हजार ५ सय ५५ केजीको महाघण्टा तयार भएर पञ्चकोटमा आइपुगेको छ । उक्त महाघण्टा महायज्ञकै अवसरमा विहिबार राष्ट्रपति रामचन्द्र पौडेलले अनावरण कार्यक्रम रहेको छ । पञ्चकोटमा अहिलेसम्म ५० करोड बढिको पूर्वाधार तयार भैसकेका छन् । २०७१ सालमा सञ्चालन गरिएको पहिलो महायज्ञबाट उठेको रकमबाट सुरु गरिएको पञ्चकोट निर्माणको कामले अहिले एउटा स्वरुप धारण गरेको छ । यहाँ शीश महल, सत्सङ्ग भवन, गणेश मन्दिर, हनुमानको मूर्ति, पञ्चनारायण मन्दिर, लक्ष्मीनारायण मन्दिर, गरुडशिला लगायतका संरचनाहरु निर्माण भै सकेको छ । यसका साथै यहाँ गरुडनारायणको मन्दिर, हनुमानको मूर्ति स्थापना, सडक पूर्वाधारको सुधार तथा निर्माण, खानेपानीको व्यवस्थापन लगायका कामहरु सम्पन्न भै सकेका छन ।  ठूलो भौतिक र धार्मिक संरचनाहरु ताराजालकोट रहेको ठाउँमा निर्माण भैरहेका छन । 
पुण्य भुमि बन्दै पञ्चकोट 
लामो समयसम्म मुस्ताङको मुक्तिनाथ, चितवन र भारतमा समेत बसेर तपस्या गरेपछि बागलुङ फर्किएका मुक्तिनाथ बाबा कमलनयनाचार्यले आफ्नो जन्म ठाउँलाई धार्मिक तिर्थस्थलको रुपमा बदल्न देखेको सपनाले विस्तारै साकार रुप लिन थालेको छ । मुक्तिनाथ बाबा कमलनयनाचार्यका अनुसार यस क्षेत्रमा शालिग्राम सिला पाईने विश्वमै एक मात्र नदि कालिगण्डकी किनार, अन्य पवित्र पुण्यभूमि र मुक्तिक्षेत्र भूमि रहेका कारण पञचकोट पनि एउटा पुण्य भुमिका रुपमा विकास हुनेछ ।  यहाँ सबैतिर भगवानको बास भएको ठाउँ छन् मुक्तिनाथ बाबाले भने, मैले सबै देउताहरुलाई एकै ठाउँमा दर्शन गर्न मिल्ने गरी धाम बनाउने संकल्प गरेको हुँ ।’ एक जना सन्यासी बाबाको सपनालाई साकार रुप दिनका लागि सबैले सहयोग पनि गरेको स्थानिय बताउँछन । सुरुवातमा त्यो केबल मुक्तिनाथ बाबाको सपना भए पनि अहिले त्यो बागलुङको समृद्धिसंग जोडिएर आउन थालेपछि सबैले अपनत्व महसुस गर्ने वाताबरण बनेको छ । यस क्षेत्रलार्ई पञ्चकोट धामको रुपमा विकास गर्दै गर्दा बागलुङ जिल्ला र आसपासका क्षेत्रलाई राम्रो फाईदा पुग्ने बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ बताउँछन । 
गण्डकी प्रदेशको समृद्धिमा ईट्टा थपिने
पञ्चकोट धामको विकाससंगै गण्डकी प्रदेशककै समृद्धिमा ईट्टा थपिने नगरप्रमुख श्रेष्ठ बताउँछन ।  यहाँको संरचना पुरा भए पछि पञ्चकोट क्षेत्र गण्डकी प्रदेशको धार्मिक पर्यटनको पहिलो रोजाई बन्नेमा विश्वास लिईएको छ । लामो समयपछि स्वामी आफ्नो जन्म ठाउँ फर्कनुभयो, उनले भने । जन्मभूमि फर्किएपछि यसलाई धामको रुपमा विकास गर्ने स्वामीले संकल्प पुरा गर्नु सवैको कर्तव्य हो ।’ यस क्षेत्र महत्वुपुर्ण गन्तव्यको रुपमा विकास हुनेछ । 
पाँच वटा कोटहरुको एकिकृत विकासको रुप पञ्चकोट
पञ्चकोट विभीन्न पाँच वटा कोटहरुको एकिकृत विकासको रुप हो । त्यस क्षेत्रमा रहेको ताराजालकोट, कारिकोट, माझकोट, रायँरायँकोट र संसारकोटलाई प्रतिकात्मक रुपमा एकै ठाउँमा विकास गरेर पञ्चकोट नामाकरण गरिएको स्वामी ऋषि प्रपन्नार्यको भनाई छ । सबै पाँच वटा कोटहरुमा जान सम्भव छैन, संसारकोट निकै टाढा पनि पर्ने भएकाले त्यहाँ सजिलै पुग्न पनि सकिदैन,’ उनले भने ‘अहिले संरचनाहरु बन्दै गरेको ठाउँ ताराजाल कोटको ठाउँ हो । सबै कोटहरुलाई एकै ठाउँमा विकास गरी पञ्चकोट नामाकरण गरिएको हो ।’
साझा धामको रुपमा विकास गरिने
धार्मिक हिसाबले यस क्षेत्र मुक्तिक्षेत्र र पुलत्स्य पुलह ऋषिले तपस्या गरेको ठाउँ भएको बताईएको छ । नेपालमा भएका सबै गोत्रहरुको मूल पुरुषलाई पञ्चकोटमा स्थापना गरिने स्वामी कमलयनाचार्य बताउँछन ।  यो कुनै एक भगवानको धाम होईन ।’ पञ्चकोटलाई कुनै धार्मिक स्थल विशेषको विकल्पको रुपमा विकास गरिने छैन सवैको साझा हुनेछ । यसको छुट्टै महिमा र गरिमा स्थापित हुनेछ ।’ 
एनआरएनद्धारा एघार लाख रुपैयाँ सहयोग
महायज्ञको पहिलो दिन एनआरएनको तर्फबाट पञ्चकोटको पुर्वाधार निर्माणका लागि एघार लाख एघार हजार एक सय एघार रुपैयाँ दिने घोषणा गरिएको छ । एनआरएनका महासचिव सोम सापकोटाले धार्मिक पर्यटकिय गन्तव्यको रुपमा विकास गर्नका निम्ती उत्त रकम सहयोग गरिएको बताए । 

प्रतिक्रिया