• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • राजनिति ,
  • ढोरपाटन ,
  • ट्रेन्डिंङ

कांग्रेस गोरखाको सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत

  • असोज १८, २०७८

गोरखा- नेपाली कांग्रेस गोरखाको सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत चयन भएका छन्।  १४ औं महाधिवेशनअन्तर्गत आज भएको जिल्ला अधिवेशनको उम्मेदवारी दर्तामा सभापति पदमा न्यौपानेको मात्रै उम्मेदवारी परेको थियो।

उम्मेदवारी दर्ता गर्दा न्यौपानेको प्रस्तावक गोरखा नगरपालिकाका मेयरसमेत रहेका नेता राजनराज पन्त र समर्थक राजेन्द्र बजगाईं थिए।

४३ वर्षका न्यौपाने कांग्रेस केन्द्रीय सदस्य गगन थापानिकट हुन्। न्यौपाने गोरखाको आरूघाट गाउँपालिका वडा नम्बर २ मान्बुका हुन्। न्यौपानेलाई जिल्ला सभापति बनाउन गोरखाका ११ स्थानीय तहका पार्टी सभापतिहरूले हस्ताक्षर नै गरेका थिए।

न्यौपाने यसअगाडि कांग्रेस गोरखाको सचिव थिए। उनी नेविसंघ गोरखा सभापतिमा दुई कार्यकाल रहेर पनि काम गरेका थिए।

उनले आइतबार भएको महाधिवेशन प्रतिनिधिको चुनावमा गोरखा प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट सबैभन्दा धेरै मत ल्याएका थिए। उनी लामो समयदेखि गोरखामा रहेर संगठन विस्तारमा खटेका नेतामा पर्छन्। गोरखामा उपसभापति, सचिव, सहसचिव, सदस्यलगायत पदमा भने मंगलबार बिहान ८ बजेदेखि निर्वाचन हुनेछ। यी सबै पदमा दुई जनाभन्दा धेरैले उम्मेदवारी दर्ता गराएका छन्।

प्रतिक्रिया