फुटसल प्रतियोगिताको उपाधि कास्कीलाई 

  • असार २६, २०८२

बागलुङमा आयोजित पत्रकार महासंघको अन्तर जिल्ला आमन्त्रित फुटसल प्रतियोगिताको उपाधि नेपाल पत्रकार महासंघ कास्की शाखाले जितेको छ । मंगलबार भएको फाईनल खेलमा पत्रकार महासंघ बागलुङको सेतो समुहलाई पराजित गर्दै पत्रकार महासंघ कास्कीले उपाधि जितेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा ६—५ गोल अन्तरले कास्कीले उपाधि जितेको हो । बागलुङको सेतो, रातो र निलो गरी तीन समुह र म्याग्दी कास्कीको पत्रकार महासंघको सहभागिता रहेको उक्त प्रतियोगितामा कास्कीले पत्रकार महासंघ म्याग्दी र बागलुङ सेतोले बागलुङ निलोलाई पराजित गर्दै फाईनल प्रवेश गरेका थिए । 
प्रतियोगिताको पहिलो खेलमा पत्रकार महासंघ म्याग्दीले पत्रकार महासंघ बागलुङको रातो समुहलाई ८—१ गोल अन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा पत्रकार महासंघ बागलुङको सेतो समुहले निलो समुहलाई ६—१ गोल अन्तरले जित्यो । तेस्रो खेलमा कास्कीले म्याग्दी पत्रकार महासंघलाई ७—२ गोल अन्तरले पराजित गरेको थियो । प्रतियोगितको विजेता बनेको पत्रकार महासंघ कास्कीले नगद १५ हजार मेडल ट्रफी र प्रमाणपत्र पाउनेछ । उपविजेता बनेको पत्रकार महासंघ बागलुङको सेतो टोलीले नगद १० हजार, मेडल ट्रफी र प्रमाणपत्र पाउनेछ ।
 विधागत रुपमा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई पनि ट्रफी प्रदान गर्ने नेपाल पत्रकार महासंघ बागलुङका फुटसल व्यवस्थापन समिति संयोजक अर्जुन कार्कीले बताए । उक्त पुरस्कार नेपाल पत्रकार महासंघ बागलुङको रजत वर्षको मूल समारोहको अवसरमा बुधबार बिहान प्रदान गरिनेछ । नेपाल पत्रकार महासंघ बागलुङ स्थापना भएको २५ वर्ष पुगेको सन्दर्भमा बागलुङ शाखाले वर्षैभरी विभिन्न कार्यक्रमको आयोजना गरी रजतवर्ष मनाउने निर्णय गरेको छ । 
पत्रकारका लागि एक दिवसीय ध्यान शिविर
नेपाल पत्रकार महासंघ बागलुङको रजत वर्षको अवसरमा पत्रकारका लागि एक दिवसीय ध्यान शिविर सम्पन्न भएको छ । मंगलबार नेपाल पत्रकार महासंघ बागलुङले ओशो अमृतम ध्यान केन्द्र बागलुङसंगको सहकार्यमा ध्यान शिविर सम्पन्न गरेको हो । उक्त कार्यक्रममा ओशो अमृतम ध्यान केन्द्र बागलुङकी सञ्चालिका ज्योत्सना शाक्यले योग र ध्यानको महत्वको विषयमा पत्रकारहरुलाई जानकारी गराउनका साथै अभ्यास समेत गराएकी थिईन् ।
 पत्रकारहरुलाई योग र ध्यानसंग जोडेर शारिरिक र मानसिक रुपमा स्वस्थ बनाउन यो शिविर सञ्चालन गरिएको नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरलले बताए । बिहान ६ बजेबाट ९ बजेसम्म पत्रकारका लागि ध्यान शिविर सञ्चालन गरिएको थियो । नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष हरिनारायण गौतमले योग र ध्यानले जीवन जगत बुझ्नका लागि सहयोग पुग्ने बताए । 
उक्त अवसरमा ओशो अमृत ध्यान केन्द्र बागलुङले पूर्व ओलम्पियन खेलाडी भगवती केसीलाई सम्मान समेत गरेको थियो । नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरल र पूर्व अध्यक्ष हरिनारायण गौतमले दोसल्ला ओडाएर सम्मान गरेका थिए । चुलो चौकोमा सिमित हुने घरबाट निस्केर खेलकुदमा अगाडि बढ्नु चूनौतीपूर्ण समयमा गरेको शाहस उदाहरणीय बनेको भन्दै सम्मान गरिएको हो । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय