संगम घर्तीमगर,बागलुङ- नेपालबाट सति प्रथा उन्मुलन भएको करिब एक सताब्दी पुगेको छ । तत्कालिन राणा प्रधानमन्त्री चन्द्र शमसेरले विक्रम सम्बत १९७७ साल असार २५ गते मुलुकी ऐन मार्फत यसको उन्मुलन भएको हो । अहिलेको पुस्तालाई सतिप्रथाको बारेमा भन्यो भने कथा सुनाए जस्तै लाग्छ । तर यसको प्रतिकात्मक रुप बागलुङको बडिगाड गाउँपालिका—३ सिसाखानीमा अझै पनि देख्न पाईन्छ । गीतबाट मान्छे मुर्छित पार्ने र गीतबाटै मान्छे ब्युँताईन्छ भन्दा तपाईलाई लाग्न सक्छ, कुनै दन्त्यकथा सुनाईदैछ । अहिलेको युग विज्ञानको युग हो र विज्ञानले भौतिकतालाई प्राथमिकता दिन्छ । यद्यपी हाम्रो कतिपय यस्ता संस्कार संस्कृतिहरु अझै पनि जीवीत छन्—जसले अध्यात्म र भगवान छन् भन्ने कुरामा भरोसा दिलाउँछ । यसको एउटा उदाहरण हो—सति घाटु ।
सति घाटु पौराणिक धर्म ग्रन्थहरुमा आधारित रहेर गाईने गीत र त्यसैमा प्रस्तुत गर्ने नृत्य र हाउभाउ हो । अर्को शब्दमा भन्दा एक सताब्दी अगाडी नेपालमा चल्दै आएको सति प्रथाको अभिनय सहितको नृत्य हो—सति घाटु । नेपालको मगर र गुरुङ समुदायमा प्रचलित लोपोन्मुख घाटु नाँच अहिले पनि विभीन्न ठाउँमा देख्न पाईन्छ । तथापी सति घाटु करिब लोप हुने चरणमा पुगिसकेको छ । बागलुङको सिसाखानीको परिचय अहिले पनि सति घाटुले दिन्छ । छिमेकका ठाउँहरुमा पुग्यो भने—सिसाखानीमा ठूलो ओखरको रुख छ । त्यसको फेदमा घाटु नाँच्छन् । बैशाख पूर्णिमामा म पनि घाटु हेर्नका लागि त्यहाँ गएको छु भन्नेहरु धेरै भेटिन्छन् । सति घाटु करिब साढे दुई देखि तीन सय वर्षदेखि त्यहाँ चलेको विश्वास गरिन्छ । यसको ईतिहाँस खोज्दै जाँदा अहिले पाँचौं पुस्तासम्म मात्रै जानकारी पाउन सकिन्छ । घाटु गुरु कुलबहादुर भुजेल भन्छन्,‘१९८७—८८ यताको त्यस्तै पाँच छ पुस्तासम्मको बारेमा जानकारी छ, त्यो भन्दा अगाडीको कुनै जानकारी छैन ।’
अहिले सिसाखानीमा नाँच्दै आएको घाटु जलजलाको झुलेडाँडाबाट आएको ८५ वर्षीया घाटु गुरु सहिकला पुन बताउँछिन् । ‘हामीले त यहाँ घर्ती बाजेले घाटु नँचाएको देखेको हो, पहिले जलजलाको झुलेडाँडामा नाँच्थे रे अहिले त्यहाँ हराईसकेको छ,’ उनले भनिन् । घाटु नाँचमा ती सबै कुराहरु हुन्छन् जो धर्म ग्रन्थहरुमा उल्लेख गरिएका छन् । या त अहिले पनि दैनिक जीवनमा भैरहन्छन् । यो नाँचको सुरुवात चैत्राष्टमी देखि शुरु हुन्छ र दशरा तिथीमा गएर समाप्त हुन्छ । यद्यपी यो तिथी असार महिनामा पर्ने र त्यतीबेलासम्म गाउँघरमा कामको माँचो सुरु भैसक्ने भएकाले आजकाल जेठको २० मा घाटु नाँचको विधिवत समापन गरिन्छ । घाटु नाँचको सुरु गर्दा र समापन गर्दा विधिवत रुपमा पूजा गर्नुपर्छ । चैत्राष्टमीमा शुरु भएको घाटु नाँच विशेषगरी वैशाखे पूर्णिमामा धेरै नाँचिन्छ । चैत देखि जेठसम्म तीन महिना मात्रै घाटु नाँच नाँच्ने प्रचलन रहेको घाटु गुरु भुजेल बताउँछन् । ‘चैत देशैंमा शुरु गर्छौं र जेठको २० मा पुगेर सक्छौं,’ उनले भने,‘यसको बीचमा पर्ने सबै चाडवाडका तिथीहरुमा घाटु नाँचिन्छ । त्यति गर्दा पनि गीत नसकिए अन्य समयमा पनि नाँचेर जेठमा सक्छौं । दशरा तिथी असारमा पर्ने भएका बर्खा लाग्छ काम शुरु हुन्छ ।’
घाटु गीतका मुख्य पात्र राजा पर्शराम हुन् । उनले दैनिक जीवन गरेका र उनका रानीहरुको क्रियाकलापलाई पनि गीतमा उतारिन्छ । पर्शुरामको शिकार खेल्ने बानीको प्रस्तुती पूरै दिनभरी हुन्छ, जसलाई ऐरा खेल्ने पनि भनिन्छ । रानीहरुले बिहान उठेर पँधेरामा नुहाउन गएको देखि राजाको मृत्यु पश्चात रानीहरु सति गएको कुरालाई पनि गीतैबाट प्रस्तुत गरिने भएकाले यसलाई सति घाटु भनिएको कथन छ । रानीहरु सति गएको गीत गाउँदा घाटु मुर्छित पर्छिन् पछि गीतबाटै उनलाई ब्यूँताईन्छ ।
कसरी नाँचिन्छ घाटु ?
घाटु कन्याले नाँच्ने नाँच हो । विधिवत पूजासंगै घाटु लाग्ने गीत गाउन शुरु हुन्छ । घाटु नाँच्न चाहाने कन्याहरुलाई परम्परागत पोशाखमा सजाएर लस्करै बीचमा राखेर गीतको सुरुवात गरिन्छ । घाटु नाँच कसैले म नाँच्छु भनेर नाँच्न पाउने विषय होईन । यसका लागि घाटु लाग्नुपर्छ । घाटु गुरुहरुले विभीन्न देवी देवताका पुकारा गर्दै गीत गाउँदै जाँदा घाटुको आँखा आफै बन्द हुन्छ जसलाई घाटु लाग्ने भनिन्छ । गीत गाउँदै जाँदा जो जसलाई घाटु लाग्छ उनीहरु मात्रै नाँच्न पाउँछन् । घाटु गुरु भूजेल भन्छन्,‘घाटु नाँच भगवानको नाममा नाचिने भएकाले यसका लागि चोखो जिउ भएको कन्या चाहिन्छ । घाटु को नाँच्ने भनेर हामीले छान्ने होईन भगवानले छान्ने हो । हामीले भगवानको गीत गाउँछौं, घाटु लाग्यो भने आफै आँखा बन्द हुन्छ ।’
गाँवै केरे सिमे भूमे शिरै चलि आउ
हो... रे तिम्रै र बाली कन्या शिरै चलि आउ
यसरी नै विभीन्न भगवानको नाम जपेर गीत गाउँदै जाँदा घाटुको आखा बन्द हुन्छ । घाटुको लागिसकेपछि वीरकोट बाँध्ने काम सुरु हुन्छ । घाटुको निधारमा बाँधिने रातो रिबनलाई वीरकोट भनिन्छ । त्यो पनि गीतसंगै बाँध्नुपर्छ ।
खरुवाले कोरी कोरी बाँध्यो वीरकोट
शिरैमाको उपरैमा बाँध्यो वीरकोट
वीरकोटैको उपरैमा फूलै लावेला
गीतहरु यसरी अगाडी बढ्दै गर्दा शिरमा रिबन बाँध्ने र त्यसमा फूल लगाउनेसम्मको काम हुन्छ । त्यसपछि अर्को प्रक्रिया शुरु हुन्छ । घाटुको सुरक्षा । विधिवत रुपमा पूजा गरेर सुरुवात हुने भएकाले तन्त्र मन्त्र जानेकाहरुले बीचमा घाटुलाई अप्ठ्यारो पार्न सक्ने भएकाले घाटुको सुक्षाको गीत पूरा नभई नाँच्न नमिल्ने घाटु गुरुहरुको भनाई छ । ‘मान्छेहरु कोही कस्ता हुन्छन् कोही कस्ता हुन्छन्, घाटुलाई कुनै अप्ठ्यारो नपरोस् भनेर गीत गाउँछौं,’ भुजेलले भने । विधिवत प्रक्रिया पूरा भएपछि घाटुको नृत्य सुरु हुन्छ । घाटुमा महिला नाँच्ने भएकाले महिलाकै गीत पहिले आउँछ र अन्त्य पनि महिलाकै गीतबाट हुन्छ ।
सत्य साँचो गुरु होउला उठी नाँचैला
उठ नाँच सुन रानीरानी नाँचैला ....
घाटु गीतमा ८४ रानीको नाम लिनुपर्छ । हरेक रानीको नाम लिँदै गीत गाउँदै गएर ८४ पु¥याउनुपर्छ । त्यसपछि रानीको झारिया (आम्खोरा) नचाउने नाँचको पालो आउँछ । घाटुको नजिकमा झारिया राखिएको हुन्छ । सत्य दिनको झारियालाई मारैला भन्दै गीत गाउन थालेपछि घाटु झारिया खोज्न थाल्छिन् । गीत मार्फत त्यसलाई हातमा लिने शिरमा राख्ने अनि पुनः हातमा लिने काम हुन्छ । पछि त्यही झारिया लिएर चौरासी धारामा पानी लिन जान्छन् । नुहाउँछन् फर्किन्छन् । रानीहरुको दैनिकी यसरी नै चलिरहँदा राजा पर्शुरामको बारीमा हरिण आउँछ । त्यसपछि सुरु हुन्छ अईरा (शिकार) खेल्ने पालो । घाटुहरुलाई प्रतिकात्मक धनुषवाण दिईन्छ । एक जना पुरुष मान्छे मृगको रुप लिन्छ । एक जना पर्शुराम, अर्का लक्ष्मण र अन्य थप सिकारी हुन्छन् । साथमा कुकुर पनि हुन्छ ।
रामको बारी जौ बारी खायो हरिण
राम—मार्ने परो लक्ष्मण हरिण
अघि अघिर राम लक्ष्मण र पछि कुकुर
लक्ष्मण—स्याउले बथान आयो दाजै हान हरिण
१६ सय सिकारीले घेरै हालैला
यसरी नै क्रमैसंग गीतबाट सिकारका चरणहरु पूरा हुँदै जान्छन् । मृगको रुप लिएको व्यक्ति अघि अघि मान्छेको भीडभाडमा भाग्दै जान्छ । राम लक्ष्मण कुकुर र अन्य सिकारीहरु पछ्याउँदै जान्छन् । कुकुरको घाँटीमा घण्टी बाँधिएको हुन्छ । मृग भाग्दै गर्दा र शिकारीले पछ्याउँदै गदा धूलो उडेको दृश्य देखाउन प्रतिकात्मक रुपमा खरानी र भुसको धूलो उडाईन्छ । अन्तमा राम लक्ष्मणले मृग मार्छन् । सारा गाउँलेमा सिकार वितरण र्गछन् । एवं रितले अगाडी बढिरहँदा एक पर्शुरामको अचानक मृत्यु हुन्छ । त्यसपछि सबै रानीहरु सति जान्छन् । अनि सुरु हुन्छ सति घाटु ।
गाई हेर्ने ग्वालाले जोरै मुरली
गंगाजीको निर तिर बज्यो मुरली
सुनैले बाँधेको रुपैले बाँधेको हाँसी मुरली
मुरलीको धुन सुन्दा खाए मुर्छा
यसरी गित गाउँदै जाँदा घाटु आफै बेहोस् हुन्छिन् । अचानक ढल्दा चोट नलागोस भनेर अरुले अड्याएर सहयोग गर्छन् । घाटु सति गएको बेला उनीहरुको धड्कन मात्र चल्छ । उनीहरु भने अर्धचेत अवस्थामा हुन्छन् । घाटु गुरु भुजेल थप्छन्,‘सति ढाल्दा विशेष ध्यान दिनुपर्छ गीत कही कतै तलमाथि भयो भने मुर्छित अवस्थामा रहेको घाटु सधैंका लागि मर्न सक्ने पनि खतरा हुन्छ ।’ घाटु नाँचमा सति गएको बेला आफुले केही पनि थापा नपाउने घाटु चन्द्रा राना बताउँछिन् । ‘ढलेपछि के भयो भन्ने हामीलाई केही थाहा हुँदैन,’ उनी भन्छिन्,‘ढल्ने बेला कतै ठोकिएको भए पनि ब्युँतिएपछि दुःखेको महशुस हुन्छ । आँखा चिम्लीएको बेला दिन र रातको अवस्था मात्र छुट्याउने सकिन्छ । सति जाँदा केही पनि थाहा हुँदैन ।’ सति गएको घाटुलाई बिउँताउने गीत छुट्टै हुन्छ ।
काली चमर सेती चमर हरैला
गरुडैको प्वाँखैले हरैला
गंगाजीको जलैले छल्केला
बेटैको लौरीले ठोकी ठोकी पावै चलैला
यसरी गीत गाउँदै जाँदा शरिरको प्रत्येक अंगहरु विस्तारै चल्न थाल्छन् । बेटैको लौरीले ठोकी ठोकी पावै चलैला भन्दा खुट्टा चल्न थाल्छ । त्यसैगरी शरिरका अन्य अँगहरु चल्दै जान्छन् ।
चोया चन्दन साडी समाई उठैला
बेटैको लौरी टेकी उठैला
सत्य साँचो गुरु होउला उठैला
यसरी गीत गाउँदै जाँदा सति गएको घाटु उठ्छन् । घाटु उठेपछि बच्चालाई दूध खुवाउने लगायतका प्रक्रियाहरु चल्छन् । घाटुको आँखा खोल्नका लागि पुनः देवी देवताका नाम जम्दै गीत गाउनुपर्छ । जून भगवानको नाम लिँदा घाटुको आँखा बन्द भएको थियो आँखा खोल्नका लागि उही भगवानको नाममा गीत गाउनुपर्छ ।
सत्य साँचो सिम भूमे जाउ थकान (ठेगानमा)
घाटुको आँखा खुलेपछि अन्तिम एउटा झम्के पाराको गीत गाईन्छ । जून गितमा नाँच्दा घाटुको ज्यान हल्का हुने र आफ्नो नियमित दैनिकीमा फर्किन सहज हुने बताईन्छ ।
यो कण्ठाश्री शिरफूलैमा पहिरिउ
दश बीस भैकलीराम
झियाराम पातकी भैकलीराम
यो कण्ठाश्री जुतियामा पहिरिउ
..........
घाटुका लागि यत्ति नै कलाकार चाहिन्छ भन्ने छैन । नाँच्नका लागि एक जना देखि चार पाँच जनासम्म जति भए पनि हुन्छ । गीत गाउनका लागि पनि आठ—१० जना भए पुग्छ । बजाउनका लागि घाटुको पाउमा बाँधिने चाँप बाहेक अरु हुँदैन । घाटु नाँच यसरी नै सुरु भयो भन्ने कुनै प्रमाण भेटिदैन । यद्यपी विगतमा मनोरञ्जनको कुनै पनि माध्यम नहुँदा यसैलाई मनोञ्जनको माध्यम बनाईएको हुन सक्ने तर्कहरु छन् । समयक्रमसंगै मनोरञ्जको प्रसस्त माध्यमहरुको विकास हुँदै जाँदा र युवापुस्ताले घाटु नाँचलाई चासो नदिँदा अहिले लोपोन्मुख अवस्थामा छ । ‘आजकाल युवाहरुलाई यसप्रति कुनै मतलब छैन, बुढाबुढीहरु बसेका छन्, दिन काटेका छन् भनेर भन्छन,’घाटु गुरु कुलबहादुर भुजेलले भने,‘यो हाम्रो परम्परा हो यसलाई जोगाउनुपर्छ भन्नेमा कसैको ध्यान छैन ।’
सति घाटुले भगवान छन् भन्ने कुरालाई बल दिने अर्का घाटु गुरु ताराबहादुर घर्ती बताउँछन् । ‘सति घाटु भगवान छन् भन्ने कुरालाई कुराको प्रमाण हो,’ उनी भन्छन्,‘गीतबाट बोलाउँदा आउने र पठाउँदा जाने कुराले त्यसलाई देखाएको छ ।’ युवापुस्ताको आकर्षण नहुँदा अहिले घाटु नाँच्ने कन्याहरुको समेत अभाव हुन थालेको छ ।