पछिल्लो समयमा बागलुङ जिल्लाका कृषकहरु परम्परागत विधि त्यागेर आधुनिक कृषियन्त्र तथा विधितर्फ आकर्षित भएका छन् । कामका लागि जनशक्ति कम लाग्ने, झार कम आउने, चाँडो र धेरै उत्पादन गर्न सकिने जस्ता गुणका कारण यहाँका कृषकहरु आधुनिक प्रविधितर्फ आर्किषत भएका हुन् । किसानले आधुनिक प्रबिधी प्रयोग गर्दा परम्परागत प्रणाली समेत हराउदै गएका छन् ।
कृषि ज्ञान केन्द्र बागलुङको तथ्याङ्क अनुसार बागलुङ जिल्लाभर करिब १५०० व्यावसायिक कृषक छन् जसमा करिब एक हजार कृषकहरुले आधुनिक प्रविधिको प्रयोग गरिरहेका छन् । परम्परागत कृषि प्रणालीले उनीहरुको आम्दानी बढ्ने नभई दैनिकी मात्र सञ्चालन हुने गरेको थियो ।
आधुनिक कृषि कर्मले यहाँका कृषकको कृषिकर्मबाटै गतिलो आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण समेत बनेका छन् । बागलुङका स्थानीय कृषक गोबिन्द सुवेदी भन्छन् ‘केही समय पहिलेसम्म बागलुङका धेरै कृषकहरु परम्परागत कृषिमा निर्भर हुनुहुन्थ्यो, अहिले भने परम्परागत विधि त्यागेर आधुनिक प्रविधितर्फ आकषर््िात हुनु भएको छ ।
थोरै लगानीमा धेरै फाइदा लिन सक्ने भएकाले कृषकहरु आधुनिक प्रविधिमा आकषर््िात हुनु भएको हो ।’ भन्छन् ‘ पहिले झार धेरै आउथ्यो, अहिले कम झार आउने प्रविधिको प्रयोग गर्नुभएको छ, कृषकहरुको पहिले दैनिकी मात्र चल्थ्यो, अहिले भने त्यस्तो छैन, धेरै कृषकहरु व्यवसायिक बनिसक्नु भएको छ ।’
बागलुङका कृषकहरुले अहिले प्लास्टिक टनेल, मिनिट्रिलर हलो, थोपा सिँचाइ, मल्चिङ प्लास्टिक जस्ता प्रविधिहरु प्रयोग गरिरहेका छन् । खनजोतका लागि पशु चौपाया र परम्परागत हलो समेत अहिले प्रयोग हुने क्रम घट्दो छ । विगतमा दुई तीन हल गोरु हुने कृषक परिवारमा अहिले प्रायले पशुचौपाया समेत पाल्न छाडिसकेका छन् ।
‘हामीले केही समय पहिलासम्म खेतबारी गोरुले जोत्ने गरिन्थ्यो, पछिल्लो समयमा विकास भएको आधुनिक प्रविधिको प्रयोग गर्दा अहिले सबैले गोरु पाल्न छाडिसके । गोरु पाल्दा कहिले आफै घाँस काट्नु पर्दथ्यो, कहिले दिनभर चराउन लैजानु पर्र्दथ्यो । एक जना गोरु पाल्ने सुसारे राख्नु पर्दथ्यो’, कृषक भोलानाथ आचार्य भन्छन् ‘आधुनिक प्रविधिको प्रयोग गर्दा समयको बचत भएको छ, घाँस काट्ने र चराउने समयलाई अन्य कामको लागि उपयोग गर्न पाइएको छ ।’
कृषिमा आधुनिक उपकरणको प्रयोग गरी कृषिमा आधुनिकीकरण गर्ने लक्ष्यका साथ तीनै तहका सरकारले कृषकलाई आधुनिक उपकरण प्रयोग गर्नका लागी बढावा दिदै आएका छन् । कृषकले आधुनिक प्रयोग गरेर आफ्नो खेर गएको जमिन समेत सदुपयोग गरिरहेका छन् । जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना भएयता पनि विभिन्न प्रस्ताव लिएर जाने र विभिन्न कार्यक्रमको लागि आवेदन दिने कृषकको संख्या समेत बढेर गएको छ ।
कृषि ज्ञान केन्द्र बागलुङले कृषकलाई आधुनिक प्रविधिको प्रयोग गरी उत्पादन तथा प्रवद्र्धन गर्नका लागि ५० प्रतिशत देखि ९० प्रतिशतसम्म अनुदान सहयोग गर्ने कार्यक्रम समेत सञ्चालन गरिरहेको छ । कृषि ज्ञान केन्द्र बागलुङका कार्यालय प्रमुख भानुभक्त भट्टराई भन्छन् ‘ अहिले बागलुङका कृषक परम्परागत विधि त्यागेर आधुनिक प्रविधि प्रयोग गरिरहेको छन्, यसले कृषक व्यावसायिक बनिरहेका छन् ।
व्यावसायिक रुपमै कृषिमा लागेका कृषकलाई कृषि ज्ञान केन्द्र बागलुङले विभिन्न अनुदानका कार्यक्रम गरिरहेको छ । विभिन्न कार्यक्रमहरुमा व्यावसायिक रुपमै कृषि गरिरहेका कृषकहरुलाई ५० प्रतिशत देखि ९० प्रतिशतसम्मका अनुदानका कार्यक्रमहरु गरिरहेको छ ।’