नारायण रिजाल - बागलुङमा हाल सम्म २ हजार ७ सय १३ नागरिकले बुष्टर डोज लगाएका छन । अग्रपङतीमा खटिने र ६२ देखि ६४ वर्षभित्रका ज्येष्ठ नागरिकहरुले कोभिड–१९ विरुद्धको बुस्टर डोज लगाएका हुन । खोपको दोस्रो मात्रा लगाएको ६ महिना पुगेका अग्रपङतीमा खटिने र ज्येष्ठ नागरिकलाई बुस्टर डोज प्रदान गरिएको हो । जिल्लामा झण्डै ८ हजार नागरिकलाई बुष्टर डोज लगाउने लक्ष्य रहे पनि अहिले सम्म २ हजार ७ सय १२ जनालाई मात्र प्रदान गरिएको स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाईजर राजु खत्रीले जानकारी दिए । जिल्लामा झण्डै ३ हजार ५ सय जेष्ठ नागरिक र अन्य अग्रपङ्तीमा खटिने कर्मचारी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी पत्रकारहरु रहेका छन ।
दुई साता पहिले देखी सुरु गरिएको बुष्टर डोज लगाउने अभियान अहिले पनि जिल्लाका हरेक स्थानीय तहमा सातामा दुई बार खोप सेवा सञ्चालन भइरहेको छ । जिल्लाका दश वटै स्थानिय तहमा दोस्रो मात्राको खोप लगाएको ६ महिनाको अवधि पुगेका जेष्ठ नागरिक तथा अग्रपङतीमा खटिने नागरिकले बुस्टर मात्रा लगाउने पाउने खत्रीले बताए ।
६० वर्षमाथिका सबैलाई बुस्टर डोज लगाउने भनिए पनि दुवै मात्रा खोप लगाएर ६ महिना पुगेका ६२–६४ वर्ष उमेर समूहलाई पहिलो चरणमा खोप दिन लागिएको छ । खत्रीले भने,–‘सरकारी नीतिअनुरुप नै जिल्लामा खोपको उपलब्धता हेरेर सबै ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिइने छ । यसअघि महामारीका बेला अग्रभागमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, पत्रकारलगायत गरी करिब तीन हजारलाई बुस्टर डोज दिइएको थियो । कोभिशिल्ड र भेरोसेल खोप लगाएकाले त्यसकै थप मात्रा पाएका हुन् । पहिले जुनसुकै खोप लगाएको भए पनि अहिले कोभिसिल्डकै बुस्टर मात्रा दिन मिल्ने गरी नयाँ खोप वितरण नीति तय भएको सुपरभाइजर खत्रीले बताए । स्वास्थ्य कार्यालयको तथ्याङक अनुसार जिल्लाका १८ वर्षमाथिका ८८ प्रतिशत नागरिकले कोभिड–१९ विरुद्ध खोपको पहिलो मात्रा लगाएका छन् । भने पुर्ण खोप ७८ प्रतिशतले पुरा गरेका छन ।
पहिलो मात्रा खोप लगाउने एक लाख ६५ हजार ८८१ छन् भने दुवै मात्रा लगाउनेको संख्या एक लाख ३० हजार ३८ रहेको छ । बाह्रदेखि १७ वर्षभित्रका झण्डै २७ हजार बालबालिका र किशोरकिशोरीलाई पनि मोडर्ना र फाईजर खोप दिन सुरु गरिएको छ । अहिले सम्म २३ हजार ५ सय ५ बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए । जिल्लाको २ लाख ५० हजार जनसंख्याको आधारमा हाल सम्म १ लाख ६५ हजार नागरिक १८ वर्ष माथिका छन । जसमा १२ वर्ष देखी १८ वर्ष सम्मका २७ हजार ५ सय नागरिकलाई खोप लगाउनुपर्नेमा हाल सम्म २३ हजार बालबालिकालाई खोप लगाईएको छ । जिल्लामा कुल जनसंख्याको ६८ प्रतिशत नागरिकले पहिलो मात्रा खोप प्राप्त गरेका छन भने ५२ प्रतिशत नागरिकले पुर्ण खोप प्राप्त गरेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । बाह्र वर्षमुनिका बालबालिकाका लागि भने अहिलेसम्म खोप आइसकेको छैन । सरकारले आउँदो चैतभित्रमा सबै नेपालीलाई खोपको पहुँचमा ल्याउने लक्ष्य राखेको छ । सबै उमेर समूहलाई लक्ष्य गरी खोप अभियान चलेमा यहाँका दुई लाख ५० हजार ५४४ जनालाई खोप दिनुपर्नेछ ।
खोपकै कारण कोरोना महामारीको तेस्रो लहर कम जोखिमपूर्ण देखिएको स्वास्थ्यकर्मी बताउँछन् । हाल जिल्लामा कोभिड–१९ का सक्रिय सक््रमितको संख्या चार सय ३३ रहको छ । पछिल्ला दिनमा भने संक्रमितको संख्या घट्दै गएको छ ।