• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • समाज ,
  • स्थानीय सरकार

दब्ल्याङ पहिरोको विकल्पमा नयाँपुल— कालाखोला पक्की पुल बन्ने 

  • भदौ १०, २०८१

बागलुङ - बागलुङको दक्षिण भगेका नागरिकले वर्खा याममा सदरमुकाम आउनका लागि सधै सास्ती खेप्नुपर्ने भएको छ । विगत ४ वर्ष देखी यस क्षेत्रका बासिन्दाले भोग्दै आएका छन । जिल्लाको दक्षिण भेग हुँदै जाने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर र बागलुङ बलेवा—कुश्मिसेरा सडक खण्ड अन्तरगत दब्ल्याङको पहिरोका कारण वर्षा याममा सडक बन्द हुँदा यस क्षेत्रका बासिन्दाले सास्ती खेप्नु परेको छ । 
बागलुङ नगरपालिका—१० भकुण्डे दब्ल्याङ् माथिबाट आएको पहिरोले हरेक वर्ष करिडोर सँगै अर्को सडक पनि अवरुद्ध बनाउँदै आएको छ । पहिरोले तीन स्थानको सडकको ट्रयाक बगाएपछि हिउँदमा जसोतसो चल्ने सवारीसाधन बर्खामा चल्न सक्दैनन् । २०७७ सालमा दब्ल्याङ—दह,भकुण्डे सडक खण्डको ट्याक खोलिए सँगै सुरुवाती भएको पहिरो हरेक वर्ष वर्षा याममा निरन्तर जाँदा दक्षिण भेग सडक सञ्जालबाट पटक–पटक टुट्दै आएको छ । 
हिउँदमा सडक संचालनमा वर्खायाममा सधैको सास्ती
पहिरो प्रत्येक वर्ष बढ्दै गएपछि बर्खामा सडक सम्पर्क टुट्दै आएको हो । पहिरोले सडक बगाउँदा हरेक वर्ष मर्मत गरेर हिउँदको समयमा संचालन भए पनि वर्षामा भने सधै समस्या झेल्दै आउनु परेको बागलुङ नगरपालिकाका —१३ का वडा अध्यक्ष नारायण शर्मा पौडेल बताउँछन । चार वर्ष पहिले झण्डै ५० मिटर पक्की सडक बगाएर सुरु भएको पहिरो अहिले गहिराएर ५ सय मिटर भन्दा बढि भएको छ । हरेक वर्ष नगरपालिका र प्रदेश सरकारको सहयोगमा मर्मत भए पनि वर्खायाममा भने बगाएर कालिगण्डकी  नदिमा मिसिने समस्या निरन्तर रहेको छ । पहिरोकै कारण दक्षिण बागलुङका जनता पर्वतको कुश्मा हुँदै सदरमुकाम आउनुपर्ने बाध्यता रहेको छ भने यहाँ उत्पादन भएका तरकारी, दुध, लगायतका अन्य घरायासी सामाग्रीको ढुवानीमा समस्या भएको पौडेल बताउँछन ।  
यसरी हरेक वर्ष पहिरोले समस्या ल्याएर बारम्बार सडक अवरुद्ध हुन थालेपछि  विकल्पका रुपमा कालीगण्डकी नदीमा पक्की पुल निर्माण गर्न सर्वेक्षण थालिएको छ । पहिरोले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर, बागलुङ बलेवा हुँदै कुश्मिसेरा जाने सडक बर्खामा बन्द हुँदा दक्षिणको बलेवा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका जनतालाई सास्ती भएपछि पहिरोको विकल्पमा पुल निर्माणको योजना अगाडी बढाईएको हो ।  


पहिरोले दुई सडकका ३ स्थानमा ट्रयाकनै बगाएको छ । सडक बगाएपछि त्यसको  विकल्पको रुपमा  मोटरेबल पुल निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि बजेटनै व्यवस्था गरेको छ ।
२५ करोड लागतमा पक्की पुल निर्माण हुने
गत वर्ष गण्डकी प्रदेश सरकारकै पहलमा पहिरोको दिर्घकालिन समाधानका लागि अध्यययन गरेको थियो । अध्ययनको क्रममा झण्डै १८ करोड रुपैयाँ लाग्ने डिपिआर तयार भए पनि त्यो काम अगाडी बढ्न सकेन । यस वर्ष पनि प्रदेश सरकारकै बजेटमा बागलुङ नगरपालिकाले समन्वय गरी ६० लाख रुपैयाँ बजेट व्यवस्थापन गरिएको थियो । जसमा ४३ लाख रुपैयाँको काम भयो तर सोही स्थानको केही भाग भने बगाएको छ । बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का अनुसार उक्त रकमबाट माथिल्लो भागमा पानी काटेर न्यारे  खोलामा ल्याउने काम र बागलुङ कुश्मिसेरा सडक खण्डमा तारजाली लाउने नालिक काट्ने र केही ठाउमा मेसिनरी वाल लगाउने काम भएको छ । अध्ययनका क्रममा पहिरो क्षेत्रमा चट्टान भेटिन अझै केही गहिराई रहेको हुँदा दिर्घकालिन उपायका लागि ठुलो रकम लाग्ने बताईएको थियो । जसअनुसारको रकम व्यवस्थापनमा कठिनाई भए पश्चात यसको विकल्पको रुपमा पक्की पुल निर्माणको योजना बनाईएको गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदी बताउँछन । सुवेदीकै पहलमा यस आर्थिक वर्षमा पुल निर्माणका निम्ती ५ करोड रुपैयाँ विनियोजन गरिएको छ भने यसको कुल लागत २५ करोड लाग्ने अनुमान गरिएको छ । पक्की पुल निर्माणका निम्ती बहुबर्षिय योजनाको रुपमा बजेट विनियोजन भए पश्चात पूर्वाधार विकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा.महेन्द्र बानियाँ, प्रशासन प्रमुख भरत भुषाल, स्थानीय सडक तथा पुल कार्यक्रमका ‘टिम लिडर’ इन्जिनियर अस्मित पोख्रेल लगायतले पुल निर्माण गर्ने स्थानको अध्ययन गरेका छन । 

मध्यपहाडी लोकमार्ग देखी कालिगण्डकी करिडोरमा पुल
पुर्वाधार विकास निर्देशनालयले बागलुङ नगरपालिका—१३ कालाखोला आसपासको क्षेत्रबाट पर्वतको कुश्मा नगरपालिका—१ को सहस्रधारा र २ को नयाँपुल क्षेत्रमा अध्ययन गरेका थिए अध्ययन पश्चात कालाखोला देखी नयाँपुल क्षेत्रमा सम्भावना देखिएको र यसको विस्तृत अध्ययन पुरा भै निर्माणका लागि ठेक्का प्रक्रिया अगाडी बढ्ने प्रदेश सभा सदस्य सुवेदीले जानकारी दिए । यहाँ पुल बनेपछि कालिगण्डकी करीडोर र मध्यपहाडी लोकमार्ग सिधै जोडिनेछन । 
पक्की पुल निर्माण गरे सँगै कालिगण्डकी करिडोर आसपासका क्षेत्रका स्थानियलाई त सहज होला तर बलेवा क्षेत्रको माथिल्लो भाग रायडाँडा भकुण्डेका जनताले भने उस्तै सास्ती खेप्नुपर्ने छ । किनकी पुल निर्माण भए पनि उनिहरुलाई अपायक पर्ने स्थानिय बताउँछन । नयाँपुलबाट पक्की पुल निर्माण भएता पनि माथिल्लो क्षेत्रका जनतालाई यो अपायक पर्ने हुँदा पहिरोको व्यवस्थापनका निम्ती भने प्रदेश सरकारले यस वर्ष पनि बजेट व्यवस्थापन गरेको सांसद सुवेदी बताउँछन । राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरमा नै सधैको समस्या भयो । बागलुङको दक्षिण भेगका जनताले सधै सास्ती खेप्नु परेपछि विकल्पको रुपमा पुल निर्माणको काम अगाडी बढाएका छौं सांसद सुवेदीले भने,—‘बलेवा क्षेत्रको माथिल्लो भेग, भुकुण्डे र रायडाँडाका नागरिक सदरमुकाम आउने सडक त पहिरो हुँदै हो यसको पनि दिर्घकालिन समाधानको उपाय खोज्ने छौं । यस वर्ष ८० लाख रुपैयाँ मर्मतका लागि विनियोजना भएको छ त्यो हिँउदको समयमा काम गरेर पहिराको व्यवस्थापनमा जोड दिनेछौं ।’ उनले दक्षिण बागलुङका जनताले सडक अवरुद्ध हुँदा उपचारसमेत नपाउने अवस्थामा प्रदेश सरकार गम्भीर बनेर कालीगण्डकीमा पक्की पुल हाल्न बजेट विनियोजन गरेको बताए । अध्ययनको काम सकिए सँगै पुलको डिजाईन गरेर फाष्ट ट्रयाकमा पुल बनाउने गरी ठेक्कामा जाने सुवेदीले बताए । 
पहिरो क्षेत्रमा कमजोर माटो संरचना बनाउन जोखिम
पहिरोबाटै सडक सञ्चालनमा ल्याउनका  लागि भूगर्भविद्को समूहले नौ दिन लगाएर  गत वर्ष एक अध्ययन गरिएको थियो । पहिरोको एक्सरेबाट दब्ल्याङ क्षेत्रमा १५ देखि ३० मिटर भित्र मात्रै कडा चट्यान देखिएको र बाहिरको कमजोर माटोमा संरचना बनाउन जोखिम रहने बताएपछि अन्तिम विकल्पका रुपमा पक्की पुलनै गण्डकी प्रदेशको प्राथमिकतामा परेको प्रदेशसभा सदस्य कृष्ण पाठकले बताउँछन । 
माटोको सामान्य अध्ययन नगरी सडक निर्माण गर्दा राज्यको ठूलो रकम नोक्सानी तथा जनतालाई सास्ती भएपछि पहिरोको विकल्पमा पक्की पुल बनाउन थालिएको हो । पटक–पटक अवरुद्ध सडक खुलाउनमात्रै बागलुङ नगरपालिकाले लाखौं रकम खर्च गरि सकेको छ । दब्ल्याङको पहिरो जिल्लाको दक्षिण भेगका जनतालाई ठुलो समस्याको रुपमा रहेको छ । पुल निर्माण प्रक्रिया अगाडी बढाएर समयमा नै काम सम्पन्न भयो भने नियमित सडक संचालनमा भने समस्या हुने थिएन । 
 

प्रतिक्रिया