• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • समाज ,
  • अर्थतन्त्र

बागलुङ बसपार्क नियमित संचालन र व्यवस्थापनका निम्ती सम्झौता

  • भदौ ५, २०८२

बागलुङ -   बागलुङ नगरपालिकाद्वारा संचालित दावगरा बसपार्क क्षेत्रमा सेवा शुल्क संकलन तथा  व्यवस्थापनका निम्ती आर.वि. कन्स्ट्रक्सन पोखरासँग सम्झौता भएको छ । बागलुङ नगरपालिका वडा नं. ४ मा रहेको उक्त बसपार्क नियमित संचालन र व्यवस्थापनका निम्ती २५ वर्षको सम्झौता भएको हो । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ईश्वरी प्रसाद शर्मा र आर.वि. कन्ट्रक्सन पोखराका प्रतिनिधि केदारप्रसाद रिजाल विच सम्झौता भएको हो । उक्त सम्झौता पत्र नगरप्रमुख बसन्त कुमार श्रेष्ठ उपप्रमुख राजु खड्का र बानपा ४ का वडा अध्यक्ष कुमार विक्रम क्षेत्रीको रोहबरमा बसपार्क संचालनको जिम्मा लिने कम्पनीलाई हस्तान्तरण गरिएको छ । 
बागलुङ नगरपालिकाको आन्तरिक आय जम्मा गर्नको लागि स्थानिय सरकार संचालन ऐन, २०७४ को परिच्छेद ९ को दफा ६२ को उपदफा २ बमोजिम नगरपालिकाको बसपार्क व्यवस्थापन ऐन २०८१ र आर्थिक ऐन २०८२ मा व्यवस्था भए बमोजिम नगरपालिकाले तोकेको दरमा कर संकलन प्रयोजनार्थ उत्त कम्पनीलाई जिम्मेवारी प्रदान गरिएको नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिए । 
बसपार्क संचालन र व्यवस्थापन पाएको कन्स्ट्रक्सनले २५ वर्षमा कुल ८ करोड ५५ लाख ६१ हजार १ सय ७२ रुपैयाँ नगरपालिकालाई भुक्तानी गर्नेछ । जसको बार्षिक झण्डै १६ लाख २५ हजार रुपैयाँ नगरपालिकालाई कन्स्ट्रक्सनले भुक्तानी दिने छ ।  सम्झौता पत्रमा सवारी साधन पार्किङकको दररेट समेत नगरपालिकाले कायम गरेको छ  सोही अनुसार कन्स्ट्रक्सनले उठाउने छ  नगरपालिकालाई भुक्तानी दिने छ । 
कुल १७ रोपनी ८ आना क्षेत्रफलमा फैलिएको बसपार्क क्षेत्रमा सुविधा सम्पन्न भवन र २३ वटा सटर ३ वटा टिकट काउण्टर, ५ वटा महिला शौचालय, इभी  चार्जर जडान गर्ने स्थान लगायतका संरचना निर्माण भएका छन । बसपार्कका सटरहरुको ३ हजार ५ सय देखी १० हजार सम्म मासिक भाडा कायम गरिएको छ छ । 
सवारी साधन अन्तरगत रात्री बसको पार्किङ शुल्क २०० देखी मोटरसाईकलको १० रुपैयाँ सम्म पार्किङ शुल्क तोकिएको सम्झौता पत्रमा उल्लेख गरिएको छ । 
सम्झौता अनुसार कन्स्ट्रक्सनले सेवा शुल्क असुलीका सम्बन्धमा नगरपालिकाको गरिमामा आँच आउन खालको कुनै पनि क्रियाकलाप गनै पाउने छैन र यदी त्यस्तो गरेको पाईएमा  अल्प सूचनाका आधारमा विनाशर्त नगरपालिकाले सम्झौता भंग गर्न सक्ने व्यवस्था रहेको छ । 
बसपार्कमा बस तथा सवारी साधानहरुको व्यवस्थापन गर्न जिम्मेवारी कन्स्ट्रक्सनलाई हुनेछ भने यातायात व्यवसायीहरुका विच भए गरेको सहमतीका पक्षहरुलाई समेत विचार गरी काउण्टर व्यवस्था मिलाउने दायित्व समेत कन्स्ट्रक्सनले नै गर्नुपर्ने  व्यवस्था सम्झौतामा रहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत इश्वरी प्रसाद शर्माले जानकारी दिए । बसपार्कलाई केन्द्रविन्दु मानि तय हुने रुट अनुसार सवारी साधन संचालन गर्न नगरपालिका, नगरप्रहरी, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, र ट्राफिक कार्यालयसँग समन्वय र सहकार्य नगरपालिकाले गर्ने सम्झौतामा उल्लेख गरिएको छ । 
बसपार्क संचालनको जिम्मेवारी लिएसँगै यहाँको भौतिक संरचनाको संरक्षणका साथै पानी विजुलीको व्यवस्थापन सम्पुर्ण कन्स्ट्रक्सनले नै गर्ने शर्माले जानकारी दिए । नगरपालिकाले वसपार्क संचालनको प्रभावकारीताको विषयमा पनि समय–समयमा अनुगमन समेत गर्ने सम्झौतमा उल्लेख गरेको छ । 
वर्तमान अवस्थामा बसपार्क निर्माण सम्पन्न भै सकेको र यसलाई प्रभावकारी रुपमा संचालनका  र राजश्व संकलनका निम्ती कन्स्ट्रक्सनलाई जिम्मेवारी दिईएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए । बसपार्कको क्षेत्र विस्तार तथा नयाँ संरचना निर्माण गर्ने गराउने काम भने नगरपालिकाले नै गर्ने छ । त्यसका साथै बसपार्क  व्यवस्थापनमा देखिएका विवादको निरुपण पनि नगरपालिकाले नै गर्ने श्रेष्ठले बताए । 
गत वर्ष नै वसपार्कको निर्माण सम्पन्न भएर गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका थिए । बसपार्कमा नियमित सवारी साधन नजाँदा केही टिकाटिप्पणी पनि भएका थिए । अब निरन्तर संचालन गर्ने नगरपालिकाले बताएको छ । सम्झौता अनुसार तत्काल कार्यान्वयनमा लिएर बसपार्क निरन्तर संचालनमा ल्याउने कन्स्ट्रक्सनका प्रतिनिधि केदार प्रसाद रिजाल बताउँछन । उनले अब सवै बसहरु दावगरा बसपार्कबाट नै छुट्ने यसका लागि यातायात व्यवसायीहको पनि सहयोग रहने विश्वास गरेका छन । 
नगरविकास कोषको ऋणमा बागलुङ नगरपालिकाले ९ करोड रुपैयाँ खर्चेर आधुनिक बसपार्क निर्माण गरेको थियो ।  बसपार्क सञ्चालनसँगै नगरपालिकाको नाममा रहेको जग्गादाताको बाँकी जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढेको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।
२०५८ सालमा कुल ५९ रोपनी जग्गा स्थानीयले नगरपालिकालाई प्रदान गरेका थिए । जसमध्ये १७ रोपनी जग्गामा बसपार्क बनेको छ  । अन्य जग्गा घडेरीका रुपमा जग्गा धनीलाई फिर्ता गर्नुपर्ने छ ।  बसपार्क मध्यपहाडी लोकमार्ग र बागलुङ–बेनी सडक नजिकै भए पनि पहुँचमार्गको समस्याले सञ्चालनमा आउन सकेको थिएन । गत वर्ष नै बसपार्क जाने दुई स्तरीय सडक निर्माण गरिएका छन् ।

प्रतिक्रिया