• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • राजनिति ,
  • विचार/अन्तर्वार्ता ,
  • अन्तरबार्ता

‘समुन्नत नेपाल, सम्मानित नेपाली’ भन्ने संकल्पसहितको राजनीतिक कार्यक्रम अघि सार्दै छु : गगन थापा

  • मङ्सिर २५, २०७८

अबको कांग्रेस कस्तो हुनुपर्छ रु नेपाली कांग्रेसको महाधिवेशनको मुखमा यो प्रश्नमा खासै बहस छैन । बरू केन्द्रीय नेतृत्वका लागि रस्साकसी गरिरहेका नेताहरु चुनाव जित्ने हिसाबकिताबमै बढी व्यस्त छन् । तर त्यसमा एक जना अपवाद छन्– महामन्त्री पदका प्रत्याशी गगनकुमार थापा । उनी ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ भन्ने ठोस मार्गचित्रसहित नेतृत्वको प्रतिस्पर्धामा होमिएका छन् ।

आसन्न महाधिवेशन, कांग्रेसको भविष्य, परिवर्तनका सपनालगायत विषयमा उनै गगन कुमार थापा सँग गरिएका कुराकानी 

तपाईं कांग्रेसको महामन्त्रीमा उठ्दै हुनुहुन्छ, आफूलाई अरू उम्मेदवार भन्दा कसरी फरक रूपमा प्रस्तुत गर्नुहुन्छ ?

नेपाली कांग्रेसको विधानले महामन्त्रीको भूमिकालाई दुई समूहमा विभाजन गरेको छ । राजनीतिक प्रस्ताव र कार्यदिशा तय गर्ने एउटा भूमिका छ भने अर्को सांगठनिक परिचालनका सम्बन्धमा छ । आजको अवस्थामा कांग्रेसले पार्टीका सदस्यलाई सामान्य कुराहरू मात्रै गरेर, देखाएर हुँदैन । अब यो पार्टीका लागि नयाँ सपना र नयाँ संकल्प चाहिएको छ, जसले ९ लाख सदस्यहरूलाई जुरुक्कै उठाउन सकोस् । कांग्रेसलाई मत हालेका ३० लाख नागरिकलाई बाँध्न सकोस् । कहिल्यै मत नहालेका १२र१५ लाख मानिसलाई जोड्न सकोस् ।

नयाँ मतदातालाई राजनीतिक हिसाबले पृष्ठपोषण गर्नुपर्ने आवश्यकता छ । २०६२/६३ को जनआन्दोलन, संविधानसभा र चुनावपछि हामीले एउटा ‘मिसन’ पूरा गरेका छौं । अब अर्को मिसन पूरा गर्नका निम्ति म महामन्त्रीमा उम्मेदवार बन्न खोजिरहेको छु । म राजनीतिको त्यस्तो ठाउँमा छु, जससँग पार्टीसँग जोडिएको अनुभव छ, राज्यसत्तामा काम गरेको अनुभव छ । यो अनुभवका आधारमा अब अगाडि धेरै काम गर्न बाँकी छ । अनुभव नभएको भए, समय नभएको भए महामन्त्रीका रूपमा योगदान गर्न सकिन्नथ्यो होला । अहिले म त्यो जिम्मेवारी लिन सक्ने अवस्थामा छु ।

मेरो हुटहुटी के कुरामा छ भने– मसँग समय कम छ, धेरै काम गर्नु छु २०६२/६३ को आन्दोलनको विरासतसँग जोडिएकाले त्यसबाट दायाँबायाँ गर्नु हुन्न भन्ने मेरो दृढ संकल्प छ । अहिले पार्टीलाई दृढ संकल्प र राजनीतिक स्पष्टता चाहिएको छ । स्पष्टताको अभावमा पार्टी अलमलिन्छ । अहिले त्यस्तै भइरहेको छ । महामन्त्रीका रूपमा पार्टीलाई स्पष्ट दृष्टिकोण दिएर अघि बढ्न सक्छु भन्ने मलाई लागेको छ । जहाँसम्म महामन्त्रीका रूपमा सांगठनिक भूमिकाको कुरा छ, लाखौं कार्यकर्तालाई परिचालन गर्ने, विधिसम्मत रूपमा पार्टी सञ्चालन गर्नुपर्ने र आम सदस्यहरूको पुनः अभिमुखीकरण गर्नुपर्ने अवस्था छ । २००६ सालमा कुनै एउटा व्यक्ति कांग्रेसको सदस्य हुन्थ्यो भने ऊ के सोचेर हुन्थ्यो होला रु एउटा आन्दोलन र विचारसँग जोडिन्छु भन्ने हुन्थ्यो होला । त्यतिबेला हरेक सदस्यलाई मेरो विचार सफल भयो भने त्यसको लाभ देश र जनताले पाउँछन् भन्ने मिसन थियो ।

प्रतिबन्धित कालमा हाम्रा बुबाहरू किन पार्टी सदस्य भए होलान् रु त्यसमा पनि जनताले अधिकार पाउनुपर्छ, अधिकार पाइयो भने देशले राहत पाउँछ भन्ने मिसन थियो । आज कोही किन कांग्रेसको सदस्य हुन्छ रु किनकि म सदस्य भएँ भने यो पार्टी ठूलो हुन्छ, ठूलो भयो भने चुनाव जित्छ, चुनाव जित्यो भने सरकार बनाउँछ भन्ने कुरासँग यो जोडिएको छ । हामीले चुनावभन्दा दायाँबायाँ हेरिरहेका छैनौं । चुनाव त जित्नुपर्छ, तर पार्टीको बृहत्तर भूमिकालाई चुनावी गोलचक्करमा मात्र सीमित गर्नुहुन्न, त्यसभन्दा बाहिर निकाल्नुपर्छ । त्यसका लागि मेरो उम्मेदवारी हो ।

पार्टीलाई चुनावी गोलचक्करबाट बाहिर निकाल्ने काम कसरी सम्भव छ ?

अहिले पार्टीलाई नयाँ राजनीतिक नारा मात्रै होइन, नयाँ कार्यक्रम चाहिएको छ । मैले महामन्त्रीका रूपमा उम्मेदवारी प्रस्तुत गर्नुअघि ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ भन्ने संकल्पसहितको राजनीतिक कार्यक्रम अघि सार्दै छु । हामीले संविधानमा नागरिकसँग जुन बचनबद्धता गरेका छौं, त्यसलाई पूरा गर्ने सन्दर्भमा ठोस कार्यक्रमसहितको खाका मैले ल्याउँदै छु ।

म अब किन नेपाली कांग्रेसको सदस्य बन्ने भन्ने कुराको जवाफ कार्यक्रमसँग जोडेर दिन खोजिरहेको छु । यो कार्यक्रम कार्यान्वयन गर्ने सिलसिलामा आवश्यक परे वडाअध्यक्ष पनि बनौंला । मन्त्री बन्न पनि सकिएला । बन्न नसके पार्टीको सदस्यमात्रै भएर पनि बस्न सकिन्छ । मैले जनताको परिवर्तनको चाहनासँग पार्टीलाई जोड्न चाहेको छु । सरकार हाम्रा लागि दोस्रो कुरा हो । निर्वाचनको गोलचक्करबाट पार्टीलाई बाहिर निकालेर पार्टीको सम्पूर्ण प्रणाली बदल्न सक्छु भन्ने मलाई विश्वास छ ।

तपाईंसहितका युवा नेताहरूले लामो समयदेखि विचारसँगै नेतृत्व परिवर्तनको मुद्दा पनि उठाउनुभएको थियो । अहिले त्यो मुद्दा सेलाएको हो ?

हामीले अहिले जुन–जुन साथीहरूबीच न्यूनतम समझदारी कायम गरिरहेका छौं, त्यसको आधार यही हो । अब कांग्रेसको सुधार सामान्य बदलावले मात्रै हुँदैन, पुनर्जागरण नै चाहिएको छ । पार्टी हुनुको अर्थ, कांग्रेसको सदस्य हुनुको अर्थ के हो रु हामी किन कांग्रेसमा छौं रु हामी भएनौं भने के कुरा गुमाउँछौं रु यी सबै प्रश्नको उत्तर दिन सक्ने नयाँ जागरण चाहिएको छ ।

नेतृत्वमा हामी जसलाई निर्वाचित गर्छौं, उससँग यी प्रश्नको उत्तर हुनुपर्दछ । गणितले उसलाई साथ दियो, तर यी प्रश्नको उत्तर छैन भने पार्टी जहाँ छ, त्यहीं रहने हो । जहाँ छ त्यहीं रहनु भनेको अझै रसातलमा जानु हो ।

कांग्रेसलाई साँच्चै पुनर्जीवन दिन सकिन्छ भन्ने तपाईंको आधार के हो ?

नेपाली मतदाताको ठूलो हिस्सा उदार लोकतान्त्रिक राज्य व्यवस्था र त्यसबाट निःसृत भएर आउने अधिकारको पक्षमा उभिने रहेछ भन्ने दृष्टान्त गएको निर्वाचन हो । गत निर्वाचनको अंकगणित हेर्ने हो भने करिब ३० प्रतिशत मत हामीसँगै थियो । गएको आम निर्वाचनबाट आएको नेकपा र उसले गरेका विभिन्न खालका राजनीतिक कर्महरूले कांग्रेसलाई अहिले एउटा अवसर आएको छ । उदार लोकतन्त्रको सन्दर्भमा कांग्रेसको अरू कोहीसँग तुलना हुन सक्दैन भन्ने कुरा स्थापित भएको छ । नेपाली कांग्रेस समृद्ध हैन, समुन्नत नेपालको पक्षमा छ कांग्रेसको अर्को ‘स्पेस’– वर्तमान संविधानलाई पूर्ण रूपमा स्वीकार्न सक्दा बन्ने हो । तर यसबारे कांग्रेसमा अलमल देखिन्छ । हामीले २०६२र६३ सालको जनआन्दोलनको नेतृत्व गर्‍यौं, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतासहितको संविधान ल्यायौं पनि भन्ने, त्यसपछि कपाल कन्याउने १ यसलाई अझै समृद्ध बनाउने नभनी हामीले चाहेजस्तो संविधान बनेन, धेरै कुराहरू कता–कताबाट आए भन्दै संघीयता र समावेशिताको बहसमा व्यापक अलमल गरेको देखिन्छ । हामीले स्पष्टसँग भन्नुपर्छ– २०६२/६३ को आन्दोलनको विरासतलाई जोडेर कांग्रेसकै नेतृत्वमा यी सबै उपलब्धि आएका हुन् ।

अर्को, यसबीचमा दसौं लाख नयाँ मतदाता थपिएका छन्, जसले अहिलेसम्म कसैलाई मत खसालेका छैनन् । उनीहरूलाई अहिले कुन पार्टी रोज्ने भन्ने ठूलो अलमल छ । वैकल्पिक राजनीतिक शक्ति भन्नेलाई हेरिसके । एकतापछिको बलियो कम्युनिस्ट पार्टीलाई हेरिसके । कांग्रेस पनि हेरिसके । यी मतदाता उदार लोकतन्त्रसँग जोडिएका छन् । कांग्रेसले कुनै पनि अतिवादको पक्षपोषण नगरी आन्दोलनको उपलब्धिलाई जोगाउँछ, सरकारमा पनि पुग्न सक्छ र ‘डेलिभरी’ पनि गर्न सक्छ भन्ने विश्वास हामीले उनीहरूलाई दिलाउन सक्नुपर्छ ।

तपाईंले डेलिभरीको कुरा गर्नुभयो, अहिले कांग्रेस नेतृत्वकै सरकार छ । तर, मुलुकमा सरकारै छ कि छैन जस्तो अवस्था छ । यसबारे के भन्नुहुन्छ र?

यही अवस्था बदल्नुपर्ने चुनौती हामीसामु छ । अहिले कांग्रेसको नेतृत्व चयन गर्दैगर्दा, मैले भनिरहेको कुरा नै, जो ९ लाख पार्टी सदस्य छन्, ३० लाख मतदाता छन्, ती हामीसँगै रहन्छन्, तर हामीलाई त्यतिले मात्र पुग्दैन भन्ने हो । अहिले धेरै साथीहरू कांग्रेसले एक्लै लड्नुपर्छ, एकमना सरकार बनाउनुपर्छ, पाँच वर्ष सरकार चलाउनुपर्छ भन्दै आउनुभएको छ । यदि यसैअनुसार हुने हो भने पनि हामीलाई थप १५ लाख मतदाता चाहिन्छ । त्यसका लागि ३० लाख मतदातालाई मात्र अपिल गरेर हुन्न । कांग्रेसलाई भोट नहालेका थप १५ लाख मतदातालाई हामीले छान्ने नेतृत्वले अपिल गर्न सक्नुपर्छ । अपिल गर्ने नेतृत्वप्रति भरोसा हुनुपर्‍यो, उसले गर्न सक्छ भन्ने विश्वास पनि दिन सक्नुपर्‍यो ।

ती १५ लाख नयाँ मतदाताले खोजेका मुद्दा रोज्न हामीलाई कुनै असहज छैन । तर, हाम्रो विगतलाई हेरेर उनीहरू हामीतिर आउन सकेका छैनन् । किनकि डेलिभरीमा हामीले आफूलाई प्रमाणित गर्न सकेका छैनौं । अब आउने नेतृत्वले डेलिभरी गर्ने कुराको प्रतिबद्धतामात्रै होइन, क्षमता पनि राख्न सक्ने हुनुपर्छ । क्षमता राख्ने आधारहरू देखाउन सक्नुपर्छ । विश्वास जगाउन सक्नुपर्छ ।

यसो भयो भने मात्र कांग्रेस राष्ट्रिय राजनीतिमा सान्दर्भिक पनि हुन्छ र हामी ठूलो पार्टी पनि बन्छौं । ती १५ लाख मतदातालाई आकर्षित गर्न सकेनौं भने पनि हामी पहिलो पार्टी त बन्न सक्छौं । तर, हाम्रो लाइन लामो भएर होइन, अर्काको लाइन छोटो भएर । अर्काको लाइन छोटो हुनासाथ हामी त्यसै लामो देखिन्छौं । २०४८ सालमा हामी करिब ४० प्रतिशतको पार्टी थियौं । अहिले ३० प्रतिशतको वरिपरिमा छौं । कांग्रेसलाई ३० प्रतिशतको पार्टी बनाउने कि ४५ प्रतिशतको भन्ने मुख्य कुरा हो ।

तपाईंलाई ४५ प्रतिशतको पार्टी बनाउन सक्छु भन्ने आत्मविश्वास छ त र ?

एकदमै छ । मेरो व्यक्तिगत अनुभवमा पनि हजारौं तन्नेरीहरू यस्ता छन्, जसले भन्ने गर्छन्– तपाईंको कामले उत्साही बनाएको छ । तर, तपाईंको नेतृत्वतिर हेर्‍यो भने त्यही धारणा बनाउन सक्दिनँ । ती तन्नेरीलाई हाम्रो विचारसँग समस्या छैन । हामीसँग जोडिए पनि समस्या छैन । तर कहीं न कहीं नेतृत्वको ‘इमेज’ का कारण उनीहरू रोकिएका छन् ।

नेतृत्व परिवर्तन गर्ने जुन आकांक्षा नयाँ पुस्ताले लिइरहेको छ, त्यसलाई यो महाधिवेशनले सम्बोधन गर्ला त ?

यसमा एउटा सम्झौतामा जानुपर्ने अवस्थामा हामी आएका छौं । हाम्रो सदस्यता प्रणालीको जस्तो संरचना छ, त्यसले हामीलाई सम्झौता गर्ने ठाउँमा पुर्‍याउँछ । सम्पूर्ण परिवर्तन अहिल्यै गर्नुपर्छ भनेर हामी अघि बढ्यौं भने त्यसको परिणाम अहिल्यै अनुमान लगाउन सकिन्छ । तर यो सम्झौता हामीले डराएर होइन, कांग्रेसभित्रको यथार्थ अवस्थालाई बुझेर गरेका हौं । हामीले सबै कुरा हार्ने कि हाम्रो स्पेस राख्ने भन्ने कुरा महत्त्वपूर्ण छ । हामीले यी सबै कुरा भन्दाभन्दै पनि महाधिवेशनको हलले, बनोटले, प्रतिनिधिले हामीले भनेजस्तो निर्णय नसुनाउने सम्भावना बढी छ । हामी परिवर्तनको आवेग, गति र मर्मलाई बुझेर अघि बढ्नुपर्छ ।

यसको अर्थ सभापति शेरबहादुर देउवाको विकल्पमा मूल नेतृत्व पनि नयाँ आउनुपर्छ भन्ने हो ?

हो । कांग्रेसको अहिलेको नेतृत्वले ठुल्ठूला संघर्ष गरेको छ । ठूलो राजनीतिक योगदान दिएको छ । यसमा कुनै प्रश्न छैन । व्यक्तिगत टिप्पणी पनि छैन । चरित्र र अनेकन टिप्पणी म गर्न चाहन्नँ । अहिलेको नेतृत्व पार्टीको महाधिवेशनबाट निर्वाचित भएर आएको हो । चुनाव जितेर सांसद भएर आएको हो ।

संसदीय दलको निर्वाचनबाट प्रचण्ड बहुमत ल्याएर प्रधानमन्त्री भएको हो । प्रक्रियाबाटै आएको हो । केही थियो र त आयो । तर, कांग्रेस ४५ प्रतिशतको पार्टी बन्ने हो भने, २००६ सालको जस्तो राजनीतिक चेत भएको, २०१५ सालको जस्तो प्रगतिशील चेत भएको, २०४८ सालको जस्तो लोकप्रिय, २०६२/६३ सालको जस्तो सर्वस्वीकृत नेतृत्व भएको, इतिहासको विभिन्न चरणसँग जोडिएको इमेज बनाउने पार्टी बनाउने हो भने अब यो नेतृत्वले सक्दैन । यो नेतृत्वले अब यहींनेर विश्राम लिनुपर्छ ।

तपाईं जुन समूहबाट उम्मेदवारी दिँदै हुनुहुन्छ, त्यहाँबाट आउने नेतृत्व पनि पुरानै उमेर समूहकै जस्तो देखिन्छ । त्यसले तात्त्विक फरक के पार्न सक्ला र ?

हाम्रो पहिलो प्राथमिकता एउटा उम्मेदवार बनोस् भन्ने छ । त्यसमा पनि सकभर पहिलो पुस्ताले विश्राम लिइदिए हुन्थ्यो भन्ने छ । हिजो शेरबहादुर देउवासँग जोडिएका, तेस्रो धारबाट लड्ने म जस्तै साथीहरू अहिले एकठाउँमा छौं । २०७४ को निर्वाचनपछि लामो छलफल, मन्थनबाट हामी एकठाउँमा आएका हौं ।

उमेर समूहको हिसाबले पनि कांग्रेसलाई सही ढंगले अघि बढाउने र नेतृत्व दिन सक्ने पुस्ता हामी नै हो । तर, हामीले अहिल्यै नेतृत्व लिन पार्टीभित्रको संरचनाले गर्दा सकेनौं । अघिल्लो महाधिवेशनमा मैले कोसिस पनि गरेको हो । २०७४ को निर्वाचन सकिएपछि म नै कांग्रेसको सभापति बन्छु भनेर यसको पक्षमा माहोल तयार पारौं भनेर समकक्षी साथीहरूसँग देशभरि घुमेर पहलकदमी पनि लिएको हो ।

हाम्रो आइडिया नै कांग्रेसको आइडिया बन्नुपर्छ भन्ने हो भने नेतृत्व लिन किन आँट नगर्ने भन्ने लागेको थियो । तर, देशैभर जाँदै गर्दा साथीहरूसँग छलफल गर्दै जाँदा मैले के पाएँ भने म तयार छु, तर पार्टीको इलेक्टोरल सदस्य तयार छैनन् । अझै केही समय लाग्छ भन्ने ठाउँमा हामी पुग्यौं । त्यसपछि हामीले बेस्ट स्पेस कसले दिन्छ भन्ने कुरा खोज्यौं । यही खोज्ने क्रममा हामी यहाँसम्म आइपुगेका हौं । अहिले हामी हाम्रो विचारसँग कांग्रेसलाई अघि बढाउन सक्ने, हामी सबैलाई मिलाएर लैजान सक्ने नेतृत्वको पक्षमा छौं ।

तपाईं सभापतिमा उठ्न किन डराउनुभएको ?

व्यक्तिगत परिणामबाट डराएको होइन । एकछिनका लागि म कांग्रेसको सभापति भएँ, अघिल्लोपल्ट महामन्त्रीको प्रत्याशी भएजस्तै यस पटक सभापतिको प्रत्याशी हुँदै गर्दा राम्रै संख्यामा मत ल्याउँछु, हलचल ल्याउँछु, तरंग ल्याउँछु । मलाई एउटा स्पेस त भइहाल्छ । तर, हामी फेरि अर्को पाँच वर्ष निर्णायक हस्तक्षेप गर्ने ठाउँबाट बाहिर रहन्छौं । गत पुस ५ गतेको घटनापछि नेपाली कांग्रेस कसको राजनीतिक लाइनबाट अघि बढेको छ रु मूल नेतृत्वको लाइन त त्यो थिएन ।

त्यतिबेला प्रतिनिधिसभा विघटनलाई सदर गरेर निर्वाचनमा जाऊँ भन्ने नेतृत्वको चाहना थियो । लाइनमा ल्याएको त हामीले हो नि १ हाम्रो लाइनमा कांग्रेस हिँड्यो । पार्टीभित्र दबाब सिर्जना गर्ने, दबाब दिने सिलसिलामा सडकलाई पनि जोड्ने काम गर्दै नेतृत्वलाई दबाब सिर्जना गर्ने ठाउँमा हामी छौं ।

अर्को पाँच वर्ष पनि हामी यस्तै ठाउँमा हुन्छौं । तर पार्टीको महामन्त्री वा पदाधिकारी हुने भन्ने कुरा लाइनको प्रस्तावक हो । लाइनको प्रस्तावक हामी हुने हो । महामन्त्री भएपछि कांग्रेस कस्तो हुनुपर्थ्यो, यस्तो गर्नुपर्दथ्यो, यस्तो हुनुभएन भनेजस्ता कुरा म एकदिन पनि भन्दिनँ । कांग्रेस जस्तो हुनुपर्छ भन्ने लाग्छ, त्यस्तै बनाउने हो ।

महामन्त्री जित्छु भन्नेमा तपाईं विश्वस्त हुनुको आधार के हो?

मेरो आत्मविश्वास के हो भने गत महाधिवेशनलगत्तै केही समय विश्राम, त्यसपछि सभापति हुने मनसुवा राखेरै मैले देशव्यापी भ्रमण र अन्तर्क्रियाहरू गरें । अहिले त्यो अन्तर्क्रियामा सहभागी साथीहरू ठूलो संख्यामा मतदाता भएर आउनुभएको छ । उहाँहरूले नै ‘तिमीलाई एक पटक महामन्त्री बनाएर हेर्ने हो । तिमी कहाँ उभिन्छौं रु तिम्रो सभापतिको उम्मेदवार को हो, हामीलाई सरोकार छैन, महामन्त्रीमा तिमीलाई जिताउने हो’ भन्नुभएको छ । महाधिवेशनको हलले मलाई महामन्त्रीका रूपमा हेर्न चाहेको छ । त्यो जिम्मेवारी पूरा गर्न तयार छु ।

तपाईं नेतृत्वमा जानुभयो भने पार्टीको सदस्यता प्रणाली र निर्वाचनको प्रक्रिया बदल्नुहुन्छ ?

हामी पार्टीलाई खुला सदस्य प्रणालीमा लैजाने छौं । पार्टीको निर्वाचन प्रणाली पनि बदल्ने छौं । अहिले ‘रेजिमेन्टेड’ जस्तो पार्टी छ । हामीले थोरै सदस्य बनाउने, थोरै सदस्यले हामीलाई छान्ने, सदस्यता बढ्नै नदिने, नियन्त्रण गरेर राख्ने अवस्था छ । यो त प्रतिबन्धित कालमा विद्रोही संरचना बनाउने बेलाको जस्तो भयो ।

सदस्यता त बढाउनुपर्छ, सदस्य बढे त खुसी हुनुपर्छ । गत निर्वाचनमा कांग्रेसलाई मत दिएका ३० लाखलाई कांग्रेसको सदस्यता किन नदिने रु के बिग्रिन्छ रु म महामन्त्रीका रूपमा कांग्रेसलाई १०औं लाख सदस्य भएको सबैभन्दा व्यवस्थित पार्टी बनाउन चाहन्छु, जुन सम्भव छ ।

महाधिवेशनको मुखमा पदाधिकारी संख्या बढाउने कुरा मान्नुहुन्छ ?

पार्टीको महाधिवेशनको एक दिनअघि आएर विधान संशोधन गर्न थाल्यौं भने त्यसले थप बेथिति निम्त्याउँछ ।

कांग्रेसले कहाँनेर बाटो बिराएको हो ? सच्याउने उपाय के होला ?

यसमा म तीनवटा कुरा भन्छु, कांग्रेसले यो संवैधानिक प्रक्रियाको नेतृत्व गरेर आयो । यसको स्वामित्व ग्रहण गर्ने काम मनैदेखि हुनुपर्छ । हामी प्रजातन्त्रबाट लोकतन्त्रमा गएको हो । संवैधानिक राजतन्त्रबाट गणतन्त्रमा गएको हो । यो एउटा शब्दमा आएको फेरबदल मात्र होइन, गुणात्मक फड्को हो । यसको वैचारिक नेता पनि कांग्रेस हुनुपर्छ । उदाहरणका लागि कतै जातीय विभेदको घटना भयो भने कांग्रेस स्रोता भएर, कहिले निवेदक भएर उभिएको हुन्छ ।

कांग्रेस त्यो घटनाविरुद्ध ठूलो ज्वारभाटा सिर्जन गर्ने नेता किन हुन सक्दैन रु वैचारिक हिसाबले आन्दोलन र संविधानको मर्मलाई बोक्ने सम्बन्धमा केही न केही अलमल भएको हुनाले हामीले उभिने ठाउँ पाएका छैनौं । कांग्रेस यसको नेता हुनुपर्छ । संविधान निर्माण र संविधानभित्र भएका व्यवस्थाहरूको जरा खोज्दै जाने हो भने माओवादी, मधेस आन्दोलन र अरू आन्दोलन होइन, यो सबै कुरा कांग्रेसको गठनसँग जोडिएको देखिन्छ । कांग्रेस नेपालको यो प्रक्रियाको वैचारिक नेता हो भनेर सच्याउनुपर्ने छ ।

दोस्रो, नेपाली कांग्रेस अरू दलसँग प्रतिस्पर्धा गर्ने काममा अब्बल हुनुपर्छ । लामो समयदेखि कांग्रेस समसामयिक विषयमा प्रतिक्रिया दिने पार्टीमात्र भएको छ । हाम्रोबारेमा पनि अरूले बोल्छन्, समसामयिक विषयमा पनि अरूले बोल्छन् । चाहे त्यो ठूलो राजनीतिक घटना होस्, चाहे सानो होस्, हामीले प्रतिक्रिया मात्र दिन्छौं । २०६०र६२ सालमा गिरिजाप्रसाद कोइरालाले नेतृत्व गरेको पार्टीमा काम गरेको अनुभव छ । त्यसबेला माओवादी युद्ध थियो, राजाको शासन थियो । गिरिजाप्रसाद कोइरालाले एक वाक्य बोलिसकेपछि देश र समाज तरंगित हुन्थ्यो । हामीलाई त्यस्तै देखिने, सुनिने, बुझिने र विश्वास गरिने कांग्रेस चाहिएको छ ।

तेस्रो, गभर्नेन्स र डेलिभरीमा कांग्रेस चुकेको छ । हालका नौजवानहरूले के चाहन्छन् भने मैले रोजेको पार्टीले गर्ने निर्णय र प्राथमिकताहरूबाट, त्यसले पार्ने प्रभावले जीवनमा सकारात्मक प्रभाव पार्नुपर्छ । हामी गभर्नेन्स र डेलिभरीमा अरूभन्दा अब्बल छौं भने प्रमाणित गर्न सकिरहेका छैनौं । यी तीनवटै क्षेत्रमा सुधार गर्‍यौं भने हाम्रो सुधार हुन्छ ।

पार्टी अघि बढ्न विचार, सिद्धान्त चाहिन्छ, पछिल्लो समय कांग्रेस विचारशून्य अवस्थामा हो ?

मैले मेरो अवधारणापत्रमा नेपाली कांग्रेस दुइटा कुराबाट बाहिर निस्कनुपर्‍यो भनेको छु । एउटा, हाम्राबारेमा अरूले भन्दिने कुराबाट । जस्तो– कांग्रेसको समाजवाद कस्तो रु अरूले नै भन्दिन्छन् । हामीले आफ्नो इतिहासबारे बोल्दै गर्दा संस्थापक नेताहरूबारे असाध्य ठूलो अन्याय गरेका छौं ।

जीवन्त पार्टीका क्रियाशील नेताहरूले फरकफरक कालखण्डमा गरेका निर्णयहरूलाई बोकेर हाम्रो पार्टीको मूल सिद्धान्त र विचार यो हो भन्ने, र त्यसमा हलचल गर्न हामी आफैं डराएको महसुस गर्छौं । त्यसैले अब हामीले दाबी गर्नुपर्छ । मेरो प्रस्ताव छ– समुन्नत नेपाल, सम्मानित नेपाली । यसलाई सामाजिक लोकतन्त्रको सिद्धान्तले बोकेर हिँड्ने हो ।

मैले समाजवाद भन्ने शब्द जानीजानी प्रयोग नगरेको हो । सामाजिक लोकतन्त्रको सैद्धान्तिक खाकाले हामीलाई समुन्नत नेपाल बनाउन कसरी सम्भव छ भन्ने व्याख्या दिन्छ । निर्वाचनमा बहुसंख्यक जनतालाई डर देखाउँदै तिम्रो राष्ट्रियता समस्यामा पर्दै छ, धर्म गुम्दै छ आदि भनेर जनताको डरसँग खेलेर चुनावबाट निर्वाचित भएर आउने अनि विस्तारै प्रजातन्त्रका खास मूल्यमान्यतालाई मारेर, कब्जा गर्ने प्रवृत्ति हामीले संसारभर देखेका छौं । तर, नेपाली कांग्रेसले यसलाई निषेध गरेको छ । संविधानले जे कुरा ग्यारेन्टी गरेको छ, हामी त्यो मात्र मान्छौं ।

हामी पुँजीवादी अर्थव्यवस्थाको विकल्प खोज्न हिँडेको होइन । हामी पुँजीवादी अर्थव्यवस्थाभित्र यही प्रणालीमा बसेर, यसको आधारमा बहुसंख्यक नागरिकलाई अहिलेको अवस्थाबाट माथि ल्याएर हामी संविधानले ग्यारेन्टी गरेका कुरा दिन सक्छौं । नेपाललाई सम्पन्न बनाउने हो भने शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउनुपर्छ । त्यो भनेको मानिसमा गर्ने लगानी हो । मैले प्रस्ताव गरेको सामाजिक लोकतन्त्रको केन्द्रबिन्दुमा नागरिकहरू रहन्छन् । नेपाली कांग्रेस समृद्धिको पक्षमा छैन, समुन्नत नेपालको पक्षमा छ । यसमा आधारभूत फरक छ । तपाईंले पाँच वर्ष सरकार चलाउँदै गर्दा कति लेन सडक बनाउनुभयो, कति पूर्वाधार निर्माण गर्नुभयो, हाम्रो आर्थिक वृद्धि कति भयो रु त्यो समृद्धिको मापक हो ।

पाँच वर्ष सरकार चलाउँदै गर्दा हामीले विभेद कति कम गर्‍यौं, संविधानले ग्यारेन्टी गरेका अधिकार कति मजबुत बनायौं । शिक्षा, स्वास्थ्यका कुरालाई कति नागरिकसँग जोड्यौं । कति नागरिकको जीवनस्तर माथि उठायौं । यी कुराहरू समुन्नतिका मानक हुन् । आजको दिनमा नेकपा एमाले समृद्ध नेपाल कार्यक्रमको नेता हो, हामी समुन्नत नेपालको नेता हौं ।

तपाईंको परिकल्पनाको समुन्नत नेपाल कस्तो हुनेछ ?

अबको १०–१२ वर्षको समयमा नेपालको ठूलो जनसंख्यालाई एकैपटक गरिबी र अभावबाट बाहिर निकालेर मुलुकलाई समुन्नत बनाउनुपर्नेछ । खासगरी मुलुकको पर्यावरणमा ठूलो क्षति नपुर्‍याई, नेपालको आफ्नो विकासको मोडल भन्न सकिएला, त्यो काम गर्न सम्भव छ भन्ने विश्वास छ । त्यसको मुख्य आधार भनेको हाम्रो जनसंख्या हो । हामी सबैले कम आँकेको भनेको हाम्रो आफ्नै जनसंख्यालाई हो । खाडी र अन्यत्र काम गर्न गएर फर्केका युवालाई म ठूलो सम्पत्ति ठान्दछु । उनीहरूले त्यहाँ जे देखेका छन्, जे जानेका छन्, देश विकासका लागि त्यो निकै कामलाग्दो हुनेछ । हामीले सार्वजनिक नीति अलिकति मात्र ठीक गर्ने हो भने उनीहरूको भोगाइ, बुझाइ र सीपलाई राम्रोसँग सदुपयोग गर्न सक्ने छौं ।

अर्को, हामीले अलिकति मात्र सन्तुलन मिलाउन सक्यो भने हाम्रो भूअवस्था ठूलो अनुकूलता हो । हामीले सम्हाल्न सक्यौं भने यो ठूलो सामर्थ्य पनि हो । हामी महाशक्ति भारत र चीनको बीचमा रहनु हाम्रो शक्ति हो । हामीले सम्हाल्न जानेनौं भने डुब्न पनि सक्छौं । तर मुलुकले सही नेतृत्व पायो भने १०–१५ वर्षको समयमा हामी देशलाई साँच्चै कम आयस्रोत भएको मुलुकबाट बाहिर निकालेर निकै माथि पुर्‍याउन सक्छौं । यसका लागि अबको १०–१५ वर्ष कुनै राजनीतिक दुर्घटना नभई यही संवैधानिक प्रक्रियाबाट मुलुक अघि बढ्नुपर्छ । कुनै विकल्प नखोजियोस् । यही बाटोबाट नेपाललाई आर्थिक रूपमा उचाइमा पुर्‍याउन सकौं । त्यसपछि आउने नयाँ राजनीतिक पुस्ताले देशलाई अर्को तहमा पुर्‍याउँछ ।

तपाईं पार्टीभित्र र बाहिर विद्रोही छवि बनाउँदै अहिले नेतृत्व तहमा पुग्नुभएको छ । आफ्नो राजनीतिक जीवनलाई फर्केर हेर्दा के पाउनुहुन्छ ?

मलाई कांग्रेसको खास मूल्यमान्यताले जोड्यो, उदारवादी विचारप्रति मेरो विश्वास झन् बलियो हुँदै गयो । २०४७ देखि २०६० सालको अवधिमा म नेपालको इतिहास, नेपाली समाज, नेपालका संस्था र जनजीविकाका सवालहरूलाई बुझ्ने सन्दर्भमा प्रशिक्षित भएको थिएँ । अहिले यो ठाउँमा उभिँदै गर्दा म नेपालको यथार्थलाई बुझ्ने सही स्थानमा पुगेको छु जस्तो लाग्छ । २०६२र६३ सालको जनआन्दोलनले पनि मलाई थप बोध गरायो । @कान्तिपुरबाट साभार

प्रतिक्रिया