भर्खर रोपेको धानमा फेद कुहिने समस्या

  • साउन १०, २०८१

नारायण रिजाल, बागलुङ- भर्खरै रोपेको धानमा विभिन्न रोगको प्रकोप देखिन थालेपछि बागलुङका किसानहरु चिन्तित बनेका छन । जिल्लाको बागलुङ नगरपालिकको पैयुँपाटा, अमलाचौर, नारायणस्थान, सिम, कालिमाटी क्षेत्रका किसानहरुले खेतमा रोपेको धान दुई साता नपुग्दै मर्न थालेको छ । धानको फेद र डाँठ कुहिएर पहँलो हुँदै मर्न थालेपछि यस क्षेत्रका किसानहरु चिन्तित भएका छन । 
धान रोपेर झार गोड्ने समय हुनै लाग्दा ढुसिजन्य रोग फैलिएका कारण धानको फेद कुहिने र पात मर्ने लगायतका  समस्या देखिन थालेपछि किसानहरुलाई अहिले चिन्ताले सताएको छ । हिउँद भरी खानपुग्ने अन्न उब्जाउनका लागि दुःख गरेर रोपेका धानका गावाहरु खाली हुँदै गएका छन । अनुकूल मौसम परेकाले समयमै धान रोप्न पाएपछि किसान हर्षित बेनेका थिए । उत्पादन बढ्नेमा ढुक्क बनेका किसान एकाएक रोगको प्रकोप देखिन थालेपछि अहिले निराश बनेका छन् ।
‘यस वर्ष समयमै वर्षात भएका कारण रोपाइँ गरेर उम्किएका थियौं, बागलुङ नगरपालिका—१३ पैयुँपाटाका किसान मुक्तिराम शर्माले भने,—‘यस वर्ष त धान उत्पादन पनि बढ्ने भो भनेर निकै आशावादी बनेका थियौं । रोपेको दुई साता नपुग्दै फेद कुहिने समस्याले सवै धान मर्न थाल्यो । यस वर्ष सोचेजस्तो धान उत्पादन हुने भएन, यो रोग नियन्त्रणको उपाय त खोजेका छौं तर सहजै सम्भव हुने रैछन ।’ उनले अधिकाशंको पानीमा राखिएको विउमा यो समस्या देखिएको बताए । शर्माले आफ्नो मात्र झण्डै ५ रोपनी खेतमा यो समस्या देखिएको बताए । 
किसानको खेतमा लगाएको धानमा यो समस्या देखिएपछि बागलुङ नगरपालिकाले कृषि प्राविधिक सहितको टोली अनुसन्धानका लागि पठाएको छ । नगरपालिकाले तत्काल ढुसिजन्य रोग नियन्त्रणका लागि केही विषादी किसानहरुलाई उपलब्ध गराएको बागलुङ नगरपालिकाका —१३ का वडा अध्यक्ष एवं आर्थिक विकास समितिका संयोजक नारायण शर्मा पौडेलले जानकारी दिए । पौडेलका अनुसार नगरपालिकाको कृषि शाखाका प्राविधिक र कृषि ज्ञानकेन्द्रका प्राविधिकहरुको स्थलगत अनुगमन पश्चात यो रोग नियन्त्रणका लागि  गर्न सकिने प्रयासको थालनी गरिएको छ ।  
नगरपालिका भित्र झण्डै २ सय रोपनी क्षेत्रफलको खेतमा यो समस्या देखिएको नगरपालिका कृषि शाखा प्रमुख सुवास सापकोटा बताउँछन । उनले यसको रोकथामका लागि किसानलाई बेबिस्टिन नामक विषादी उपलब्ध गराईएको र खेतमा उक्त विषादी राख्ने काम भएको बताए । ‘धानको फेद कुहिने समस्या नगरक्षेत्रका विभिन्न वडामा देखिएको छ सापकोटाले भने,—‘विशेष गरी स्थानिय जातका धानबाली, एक्ले, गुडुरा, खुमलटार र गौरीया लगायतका धानमा यो समस्या बढि देखिएको छ । यसको नियन्त्रणका लागि ढुसिजन्य रोग नियन्त्रण गर्ने विषादी बेबिस्टिन किसानका लागि उपलब्ध गराएका छौं । उहाँहरुले खेतमा प्रयोग गरिरहनुभएको छ । यसले केही हद सम्म कम गर्नेमा हामी विश्वस्त रहेका छौं ।’ उनले यो रोग नियन्त्रणका लागि किसानहरुलाई खेतमा पानी सुकाएर औषधी प्रयोग गर्ने र १ सातामा एक दिन मात्र पानी लगाई अन्य दिन सुख्खा राखेमा यसको समस्याको समाधान हुने जानकारी गराईएको बताए ।  समयमा रोकथाम हुन नसकेमा प्रकोपग्रस्त क्षेत्रको धान उत्पादनमा झण्डै ५० प्रतिशतको बिचमा गिरावट आउनसक्ने उनको भनाइ छ । ‘समयमै रोगको पहिचान भएको छ, जसकारण रोग नियन्त्रणमा लिन निकै सजिलो छ’ सापकोटाले भने ‘ रोगको प्रकोप समयमै नियन्त्रणमा लिन सके उत्पादनमा त्यति ठूलो गिरावट नआउला नत्र उत्पादनमा गिरावत आउँछ ।’ नगरपालिकाले रोग नियन्त्रणका लागि नगरपालिकामा भएको सवै विषादी किसानको घरघरमा पठाईएको र किसानहरुले कृषि प्राविधकले भने बमोजिम खेतमा यसको प्रयोग गर्न आग्रह गरेको बताए ।  उक्त रोगको प्रकोप पानीको माध्यमबाट सर्नेगर्दछ । विगत वर्षदेखिनै बागलुङका विभिन्न क्षेत्रमा यस प्रकारका समस्या देखा परिरहेको नगरपालिकाको कृषि शाखाले जनाएको छ । खेतमा फेद कुहिएको देख्ने बित्तिकै त्यसलाई उखेलेर नष्ट गर्ने गरेमा यो रोग अन्य विरुवामा नसर्ने प्राविधिकहरु बताउँछन । 
 

प्रतिक्रिया