गण्डकी प्रदेश सरकारको बजेटमा बागलुङका कुन योजनालाई कति रकम

  • असार २, २०७९

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमा  उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना बागलुङमा रहेको धौलागिरी अस्पतालमा ‘सिटीस्क्यान’ सञ्चालनका लागि पञ्चकोटलाई पर्यटनको गन्तव्यका रुपमा विकास गर्न लगायतका योजनामा रकम विनियोजन गरेको छ । 

प्रदेश सरकाले आगामी बर्षको बजेट तथा कार्यक्रममा उत्तरगंगा जलाशययुक्त आयोजना निर्माणका लागि प्रदेश सरकारले पहल गर्ने उल्लेख छ ।  नेपालकै नमुना आयोजना भएकाले यो आयोजना तत्काल सुरु गर्न नेपाल सरकारसँग पहल थालिने गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बताए । उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना ८२८ मेघावट विद्युत उत्पादन गर्ने गरी बिस्तृत परियोजना प्रतिवेदन तयार भएको आयोजना हो ।

गण्डकी प्रदेश सरकारले बुधबार आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दा बागलुङका केही महत्वपूर्ण आयोजनालाई सम्बोधन गर्दा उत्तर गंगा जलाशययुक्त आयोजना प्राथमिकतामा परेको हो । यसअघि संघीय सरकारको नीति तथा कार्यक्रममा सम्बोधन हुने गरेको भएपनि आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा भने समावेश गरेको थिएन् ।

प्रदेश सरकारले बागलुङमा रहेको धौलागिरी अस्पतालमा ‘सिटीस्क्यान’ सञ्चालनका लागि दश करोड रुपैयाँ बिनियोजन गरेको छ । प्रदेशका सबै अस्पतालहरुलाई प्रबिधियुक्त बनाउने अभियानअन्र्तगत धौलागिरी अस्पतालमा आगामि आर्थिक बर्षमा ‘सिटीस्क्यान’ सञ्चालनका लागि बजेटको व्यवस्था गरेको अर्थमन्त्री बरालले बताए ।

गण्डकी सरकारले यो वर्षको नीति तथा कार्यक्रममा कृषि, सामाजिक सुरक्षा र स्वास्थ्यलाई जोड दिइएको छ । बागलुङको पञ्चकोटलाई पर्यटनको गन्तव्यका रुपमा विकास गर्न प्रदेश सरकारले प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेको जनाएको छ । पञ्चकोटको विकासका लागि संघीय सरकारले तीन करोड रुपैयाँ बजेट बिनियोजन गरेको थियो ।

त्यस्तै, बागलुङका हरेक स्थानीय तहमा पदमार्ग निर्माण गर्ने कार्यक्रम प्रदेश सरकारले ल्याएको छ । ‘एक स्थानीय तह एक पर्यटकीय पदमार्ग’ कार्यक्रमअन्र्तगत जिल्लाका सबै स्थानीय तहमा पदमार्ग निर्माण हुने छन् । पञ्चकोटदेखि काठेखोला गाउँपालिका–३ धम्जामा पर्ने बेलढुंगासम्म पदमार्ग निर्माण गर्न अध्ययनका लागि सरकारले प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेको अर्थमन्त्री बरालले बताए ।

बागलुङका अधिकारकर्मी नेता स्व. भगत सर्वजित विश्वकर्माका नाममा गण्डकी प्रदेश सरकारले भगत सर्वजीत सिप बिकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । कार्यक्रमका लागि ३० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । ढोरपाटन शिकार आरक्षबाट प्राप्त हुने आम्दानीलाई प्रदेश सरकारको सञ्चित कोषमा जम्मा गर्ने नीति लिएको बजेट तथा कार्यक्रममा उल्लेख छ ।

चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमा मध्यपहाडी लोकर्माको बिहुँ खण्डमा सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरेको सरकारले आगामी आवमा भने कुनैपनि सुरुङ मार्गको बिषय उल्लेख गरेको छैन् ।

प्रतिक्रिया