बागलुङका उपभोक्ता र विक्रेतालाई सचेतना

  • जेठ २, २०८०

बागलुङ। बागलुङमा उपभोक्ता र विक्रेतालाई सचेतना कार्यक्रम संचालन गरिएको छ । बागलुङ  नगरपालिकाको आयोजना जिल्ला प्रशासन, खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्ता मञ्च र उद्योग बाणिज्य संघको समन्वयमा सचेतना कार्यक्रम सञ्चालन गरिएको हो । 
कार्यक्रमको शुभारम्भ गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले नगरक्षेत्रलाई गुणस्तरीय व्यवसायी र चेतामुलक उपभोक्ता बनाउने कुरामा जोड दिए । उनले उत्पादनमा परनिर्भर बन्दा उपभोक्ता ठगिएको बताउँदै उपभोक्ता उत्पादन मुखी हुनुपर्ने बताए । श्रेष्ठले नगरपालिकाले हरेक क्षेत्रको व्यवसाय अनुगमनका काम तिब्र पार्ने र यदि कोहीले उपभोक्तालाई ठगी गरेको पाईएमा कानुनको दायारामा ल्याउने बताए । श्रेष्ठले व्यवसायीलाई आफ्नो व्यवसाय दर्ता गरेर मात्र संचालन गर्नका निम्ती आग्रह गरे । 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जिम्मेवार उपभोक्ता र जवाफदेही बिक्रेता बन्न सकेमा बजारमा देखिने समस्या धेरै हदसम्म रोकिने बताइन् । उनले सर्वसाधारणले स्पष्ट रुपमा देख्ने र बुझिने गरी बस्तुको मूल्यसूची राखेर विक्रि वितरण गर्न व्यवसायीलाई आग्रह गरिन । श्रेष्ठले उपभोक्ताले सामान खरिद गर्दा म्याद गुज्रेको छ की छैन मुल्य निर्धारण के छ त्यो हेरेर मात्र खरिदगर्नुपर्ने बताईन ।  
कार्यक्रममा सहायक प्रजिअ चित्राङगत बराल, खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख सौरभ श्रेष्ठ, उपभोक्ता मंचका केन्द्रीय सदस्य रामबहादुर केसी, प्रहरी उपरिक्षक योगेन्द्रकुमार श्रेष्ठ लगायतले बजारमा देखिने अव्यवस्था, उपभोक्ता शिक्षामा भएको कमजोरी तथा कारवाही प्रकृया बारे प्रस्तुतीकरण गरेका थिए । 

कार्यक्रममा पछिल्लो समय अखाद्य बस्तुको बिक्री बढीरहेकोमा उनीहरुको चिन्ता थियो । व्यवसायीले भने आर्थिक मन्दीले व्यवसायमा असर परेको र १० प्रतिशत मात्रै नाफा खान पाउने भन्ने प्रावधान अव्यवहारिक भएको दावी गरेका थिए । उनीहरुले सटर भाडामा लिँदा १० प्रतिशत नाफाले नपुग्ने बताएका थिए । 
सहायक प्रजिअ बरालले नेपालका उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन सम्बन्धी कानूनी प्रावधान बारे जानकारी गराएका थिए । अधिकांस अनुगमनमा भेटिएका कमजोरीप्रति ५० हजार देखि ५ लाख सम्म जरिवाना, ३ महिना देखि ३ बर्ष सम्मका जेल सजाए हुने कानूनी प्रावधान बारे जानकारी गराए । कतिपय अनुगमनको क्रममा पहिलो दोश्रो पटकलाई सामान्य सुभाव दिएको, चेतावनी दिएको र न्युननम जरिवाना गराइएको बताइएको थियो । 
मिठाइ लगायतका रेष्टुरेन्टमा उत्पादन हुने खाद्यबस्तुमा अखाद्यबस्तु मिसावट हुने गरेको चिन्ता समेत कार्यक्रममा बताइएको थियो । खाद्यप्रविधि तथा गुणनियन्त्रण कार्यालयका प्रमुख सौरभ श्रेष्ठले बजारमा छ्याप्छ्याप्ती अखाद्य बस्तु भेटिएकोले कारवाही नगर्ने, अनुगमन नगर्ने भन्दापनि गुणस्तरीय सेवा दिन सकेमा कार्यालयबाट प्राविधिक सहयोग गर्ने जानकारी गराएका थिए । 
बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काको अध्यक्षता, नगरपालिकाका प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । 
 

प्रतिक्रिया