बागलुङ- जिल्लाको बागलुङ नगरपालिकाले हाल सम्म ५०.५३ प्रतिशत बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षको हाल सम्म चालु तर्फ ५९.८७ प्रतिशत, पुँजीगत तर्फ ३४.६ प्रतिशत र वित्तिय तर्फ ४१.८६ गरी कुल रकमको ५०.५३ प्रतिशत रकम खर्च भएको नगरपालिकाले जनाएको छ ।
शुक्रबार बागलुङ नगरपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ बागलुङको सहजीकरणमा बागलुङ नगरपालिका—९ तित्याङ डोयमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कँडेलले प्रतिवेदन सार्वजनिक गर्दै हाल सम्म भएको खर्चको विवरण ५०.५३ प्रतिशत भएको बताएका हुन ।
कंडेलले सार्वजनिक गरेको विवरणमा चालु आर्थिक वर्षमा विनियोजन भएको कुल रकम १ अर्व ३२ करोड ६९ लाख ४३ हजार ३ सय मा हाल सम्म ६७ करोड, ५ लाख ८१ हजार ५२१ रुपैयाँ १४ पैसा रकम खर्च भएको छ ।
नगरपालिकामा पुँजी तर्फ ३४.६ प्रतिशत रकम खर्च भए पनि धेरै योजना सम्झौता भै कार्यान्वयको पक्षमा रहेको हुँदा यसको दर बढ्दै जाने कंडेल बताउँछन । ‘अहिले सम्झौता भएका सवै योजनाहरु कार्यान्वयनको अन्तिम चरणमा छन्,’ विस्तारै पूँजीगत खर्चको प्रगति बढ्दै जाने छ कंडेलले भने—‘ चालुतर्फ ५९.८७ र वित्तीयतर्फ ४१.८६ प्रतिशत प्रगति भएको हो यो सरदरमा राम्रो हो । उनले फागुन मसान्त सम्म योजना सम्झौता भै त्यो अहिले कार्यान्वयन्को पक्षमा रहेको हुँदा भौतिक प्रगतीको दर पनि ह्वात्तै बढ्ने बताए ।
बागलुङ नगरपालिकाले यो आर्थिक वर्षमा कुल चार सय ५९ योजना सम्झौता गरेकामा १७४ योजना निर्माण सम्पन्न भैसकेका छन् भने ४१ योजनाको पेश्की निकासा भएर काम भैरहेको छ । नगरपालिकाका हाल सम्म २ सय ८५ योजना निर्माण सम्पन्न हुन बाँकी रहेको छ । यो आर्थिक वर्षमा १८ किलोमिटर सडक मर्मत, ८४ मिटर तारबार निर्माण, एउटा खानेपानी ट्याङ्की निर्माण, चार सय ६५ मिटर पाईप खरिद, एउटा भवन निर्माण र एउटा ट्रस भवन निर्माण गरेको नगरपालिकाले जनाएको छ ।
बागलुङ नगरपालिका भित्रका ६ सय ५८ लाभग्राहीलाई कुल एक करोड ८८ लाख दुई हजार एक सय ९५ रुपैयाँ सामाजिक सुरक्षा भत्ता तेस्रो त्रैमासिकसम्मको भुक्तानी गरेको पनि नगरपालिकाले जनाएको छ ।
सार्वजनिक सुनुवाईमा नागरिकका गुनासो भन्दा माग धेरै
सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकाका गुनासो भन्दा पनि जनप्रतिनिधि सँग माग धेरै रहेका थिए । नागरिकहरुले खानेपानी, सडक, सिचाई लगायतका क्षेत्रमा भएका समस्यालाई समाधान गर्न जरुरी रहेको भन्दै नगरपालिकाले यस क्षेत्रमा यथासक्दो छिटो सम्बोधन गर्नुपर्ने माग गरेका थिए ।
कार्यक्रममा स्थानीय गणेश बहादुर जिसीले चिनीयाँ कम्पनीले अघिल्लो पटक आएर उत्खनन् सुरु गरेको तामाखानीले आफुहरु असुरक्षित भएको भन्दै आफुहरुको सुरक्षाका लागि के व्यवस्था हुन्छ र अहिले भागेर गएको कम्पनी कहिलेबाट पुनः काममा फर्किन्छ भनेर प्रश्न राखेका थिए ।
वडाको सेवा प्रवाह बजारबाट हुनुप¥यो
कार्यक्रममा स्थानिय विष्णु थापाले अधिकाशं बागलुङ बजारमा नै बस्ने हुँदा वडा कार्यालयको सेवा प्रवाह बजारबाटै नै प्रदान गर्नुपर्ने कुरालाई जोड दिईएकी थिईन । उनी सँगै स्थानिय अर्जुनचन्द्र शर्माले नगरप्रमुखले तोक लगाएको कागज कर्मचारीले कार्यान्वयन नगरेको गुनासो गरेका थिए ।
गाउँ आउने भोट माग्न मात्र हो ?
कार्यक्रममा माग धेरै र गुनासो कम आई रहँदा स्थानिय टेकबहादुर परियारले भने जनप्रतिनिधिलाई दरिलो प्रश्न गरे । ‘हामीलाई तपाईहरुले भोट माग्न आउँदा समय समयमा गाउँ आउँछौं भन्नुभएको थियो कहिले आउने हो गाउँ के भोट माग्न आउँदा मात्र गाउँछ छिर्ने हो ? गाउँका जनताको समस्या कहिले बुझने हो ? यसै गरी स्थानिय बद्रीप्रसाद पौडेल, शिव खड्का गणेश जिसीले लोकराज पौडेल, देवबहादुर थापा, बोमबहादुर केसी, प्रेमराज पौडेल लगायतले पदमार्गको व्यवस्था गर्नुपर्ने, खानेपानी योजनाका लागि निर्माण भएका ट्याङ्की खाली रहेको, विद्यालय स्थगन र डाउनसाईज गर्दा बालमैत्री नगर अभियानलाई कसरी अगाडि बढाउन सकिन्छ विद्युतको पोल ढलेको वषौं हुँदासम्म पुनः पोल गाड्ने काम नभएको लगायतका प्रश्न राखेका थिए । कार्यक्रममा राजनितिक दलको तर्फबाट एकिकृत नेकपा समाजबादीका जिल्ला अध्यक्ष लालबहादुर थापाले सुझाव दिएका थिए ।
सिमित स्रोतको उपयोग गर्दै अधिकतम काम गर्नेछौं —नगरप्रमुख श्रेष्ठ
कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासाको जवाफ दिँदै बागलुङ नगरप्रमुख बसन्तकुमार श्रेष्ठले नागरिकलाई सहज र सरल सेवा प्रवाह गर्दै विकास निर्माणको कामलाई गति दिने प्रयास गरिरहेको बताए । उनले नगरपालिकाले आम नागरिकका समस्यालाई नै मध्यनजर गरी काम गरेको बताए । ‘हाम्रा आवश्यकताहरु धेरै छन्, तर हामीसंग स्रोतको सिमितता छ’ उनले भने–‘सिमित स्रोतको उपयोग गर्दै अधिकतम काम गर्ने र नागरिकलाई राहत दिने पक्षमा हामी लागेका छौँ ।’ उनले नागरिकका माग अनुसार स—साना काम र योजनाहरु बजेट विनीयोजन गर्नुपरेका कारण ठूलो र देखिनेगरी काम गर्नका लागि समय लागेको बताए ।
‘मेरो योजना ठूला र दीर्घकालिन योजनामा लगानी गरौं भन्ने नै हो’ उनले भने–‘तर नागरिकको आवश्यक त माग साना कामहरु पनि छ । त्यसलाई सम्बोधन गर्दा ठूलो र देखिने योजनाहरुको कामलाई केही गाह्रो भैरहेको छ । हामी प्रयास गरिरहेका छौं ।’
बानपा—९ तित्याङमा झण्डै २५ करोड लागतको ब्लुहिल पर्यटन योजना अगाडि बढेको भन्दै अन्य ठाउँहरुमा यस्तै खालका योजना अगाडि बढाउने जानकारी गराए ।
‘८ वर्ष अगाडि पञ्चकोट सुनसान डाँडो थियो, अहिले सबैका लागि गन्तव्य बनेको छ’ उनले भन–‘त्यसरी नै हरेक वडामा ठूला योजना सञ्चालन गरेर गौरवको योजना रुपमा अगाडि बढाउने र त्यसबाट नागरिकले लाभ लिने वाताबरण सिर्जना गर्ने पक्षमा छौँ । ठूला योजनाहरु अगाडि बढ्दा साना योजनाहरुसँगै जोडिएर आउँछन् ।’
उनले बागलुङ बजार क्षेत्रमा सडकपेटी व्यवस्थीत गर्ने काम सुरु भएको, ढल व्यवस्थापनका योजना सञ्चालनका लागि अन्तिम चरणमा पुगेको जानकारी गराए ।
सामुदायिक विद्यालयमा गुणस्तर कायम गर्न र छरिएर रहेको स्रोत र जनशक्तिको सदुपयोगका लागि विद्यालय स्थगन र डाउनसाईजिङको प्रक्रिया अगाडि बढाएको उनले बताए ।
‘यो पटक आधारभूत तहमा गरेका छौं, अर्को वर्ष माध्यमिक तहमा पनि हुन्छ’ उनले भने–‘उपलब्धी नहुने ठाउँमा स्रोत साधन खर्च नगरी त्यसलाई व्यवस्थीत गर्ने र सामुदायिक विद्यालयको शिक्षामा गुणस्तर कायम गर्ने हाम्रो प्रयास हो ।’
कार्यक्रम बागलुङ नगरपालिका—९ का वडाध्यक्ष राजु थापाको अध्यक्षता नगर उपप्रमुख राजु खड्काको स्वागत र पत्रकार संगम घर्तिमगरको सहजिकरणमा सम्पन्न भएको थियो । कार्यक्रममा पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष खेमराज गौतम सुवासले नागरिक सन्तुष्टी सवेक्षण प्रतिवेदन, पत्रकार नारायण रिजालले सार्वजनिक सुनुवाई आचारसंहिता र महासंघ बागलुङका सचिव विजय रानाले टिप्पणी गरेका थिए ।