बागलुङ - कृषिमा आधुनिकरण र बढ्दो यान्त्रिकरण सँगै गोरु पाल्ने चलन हराउँदै गएको बेला जिल्लाको बागलुङ नगरपालिकाले भने हल गोरु पाल्ने किसानका लागि प्रोत्साहन दिएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८०।०८१ को बार्षिक कार्यक्रम अनुसार नगरभित्रका ८१ घरपरिवारका कृषकलाई प्रोत्साहन प्रदान गरेको हो । रैथाने बालीको संरक्षण, स्थानीय स्रोत साधनको उपयोग मार्फत नगरलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई प्रोत्साहन स्वरुप अनुदान दिने कार्यक्रम ल्याएको हो । नगरपालिकाले ‘गोरु प्रर्वद्धन कार्यक्रम’ अन्तरगत एक हल गोरु पाल्ने किसानका लागि अनुदान प्रदान गर्ने कार्यक्रम ल्याएको हो । कार्यक्रमका लागि कार्यविधि समेत तयार पारी सोमबार नगरपालिका भित्रका किसानलाई प्रोत्साहन रकम प्रदान गरिएको नगरपालिकाका पशु शाखा प्रमुख मित्रलाल सापकोटाले जानकारी दिए । यस वर्ष एक हल गोरु बराबर नगद ४ हजार ९३८ रुपैयाँ प्रदान गरिएको छ । हलगोरु प्रर्वद्धन कार्यक्रमका लागि कुल १०९ किसानले निवेदन पेश गरेपछि कार्यविधि अनुसार अनुगमन तथा मुल्याङ् गर्दा यस वर्ष ८१ जना किसानले प्रोत्साहन रकम प्रदान गरिएको सापकोटाले जानकारी दिए ।
चालु आर्थिक वर्षमा ४ लाख रुपैयाँ विनियोजन
‘गोरु प्रर्वद्धन कार्यक्रम’ अन्तरगत किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले चालु आर्थिक वर्षमा ४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । उक्त बजेटबाट प्रोत्साहन रकम हल गोरु पाल्ने किसानलाई प्रदान गरिएको नगरपालिकाका आर्थिक विकास समितिका संयोजक नारायण शर्मा पौडेलले बताए । पछिल्लो समयमा कृषिमा आधुनिकरण र यान्त्रिकरण बढ्दै गएता पनि परम्परागत प्रणालीलाई निरन्तरता र प्रोत्साहन गर्नका निम्ती यो कार्यक्रम संचालन गरिएको पौडेलले बताए । कार्यक्रमको प्रभावकारीता हेरेर आगामी वर्षमा वर्षमा यसलाई केही परिमार्जन गरेर गोरु पाल्ने जो कोही किसानलाई पनि अनुदान प्रदान गरिने नगरपालिकाले जनाएको छ । । गोरु पाल्ने र गोरुसँग खेतीपातीमा लाग्ने किसानको पहिचान गरेर प्रोत्साहन स्वरुप अनुदान उपलव्ध गराईएको पौडेलले बताए ।
कृषिमा आधुनिक हुँदै गएको र मिन टेलर हलोका कारण स्थानीय स्रोत साधनको प्रयोग नै हराउँदै गएको हुँदा यसको संरक्षणका निम्ती पनि हल गोरु पाल्ने किसानलाई प्रोत्साहका कार्यक्रम संचालन गरेको नगरप्रमुख बसन्त कुमार श्रेष्ठ बताउँछन । ‘कृषिमा आधुनिकरण र यान्त्रिकरण सँगै गोरु पाल्ने संस्कृति घट्दै गयो, स्थानिय बस्तुको खोजी भन्दा पनि आधुनिकरणको खोजीमा बढि ध्यान भयो, परम्परागत संस्कृति धान्ने र किसानलाई प्रोत्साहन गर्नका निम्ती ‘गोरु प्रर्वद्धन कार्यक्रम संचालन गरेको हो नगरप्रमुख श्रेष्ठले भने,—‘किसानको गोठमा गोरु हुँदा बालीका लागि आवश्यक मलमूत्र पनि पुग्ने, गोरुले जोत्दा उत्पादनमा पनि बृद्धि हुने हुँदा यसलाई पाल्न प्रोत्साहन गर्नुपरेको हो ।’ मिनी टेलरको प्रयोगले किसानको धेरै पैसा विदेशिने भएकाले गोरु पाल्दा त्यो रोकिने श्रेष्ठको विश्वास रहेको छ । उनले मिनी टिलर वितरणले गोरु पाल्ने किसान निरुत्साहित भएको महसुस गरेकाले प्रोत्साहनका कार्यक्रम ल्याएको बताए ।