सुविधा सम्पन्न होटलमा लगानी बढाउँदै गलकोटका व्यवसायी

  • चैत १४, २०७८

बागलुङ - कोरोना महामारीका कारण होटल व्यवसायमा लागेका धेरै जना विस्थापित भए । कोरोना नियन्त्रणका लागि भन्दै लामो समयसम्म गरिएको निषेधाज्ञाले धेरै दिन होटल व्यवसायहरु बन्द हुने अवस्थामा पुगे । धेरै होटल व्यवसायीहरु पलायन हुँदै गर्दा जिल्लाको गलकोटमा भने सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ । कोरोना महामारीकै समयमा काठमाडौं पोखराको जस्तो सुविधा सम्पन्न होटल गलकोटमा सञ्चालन सुरु भएको हो । गलकोटमा विभिन्न पेशा व्यवसायमा आबद्ध भएका पाँच जना युवाको लगानीमा गलकोट स्क्वायर गरिएको हो । 
गलकोट नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष हिमबहादुर भण्डारी, संस्थागत विद्यालय सञ्चालक हिरा भण्डारी, मनबहादुर खत्री, केयरसिंह खत्री र भिमसेन श्रेष्ठले साढे दुई करोड लगानीमा सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याएका हुन् । पाँच जनाले ५०÷५० लाख रुपैयाँ लगानी गरेर होटल सञ्चालनमा ल्याएको गलकोट नगरपालिका—२ का वडाध्यक्ष समेत रहेका होटल सञ्चालन हिमबहादुर भण्डारीले बताए । ‘बागलुङमा हिँडेका पर्यटकहरु गलकोटमा नबस्नुको कारण सुविधा सम्पन्न होटल पनि हो भन्ने देखियो,’ उनले भने,‘पाहुनालाई यहाँ अड्याउने हो भने उनीहरुले चाहेको जस्तो सेवा दिने होटल सञ्चालनमा ल्याउनुपर्छ भनेर हामीले होटल व्यवसाय सञ्चालनमा ल्याएका हौं ।’
 गलकोटमा प्रशस्त पर्यटकीय क्षेत्र भएका कारण ती क्षेत्रमा आउने पाहुनालाई गलकोटमै राख्न पोखरा काठमाडौंको जस्तो राम्रो सुविधा सम्पन्न होटलको आवश्यकता देखेर आफूहरु लगानीका लागि अग्रसर भएको बताए । ‘यस क्षेत्रमा घुम्न त आउने बास बस्नका लागि कि त बुर्तिबाङ जाने कि त बागलुङ फर्कने गरेको पाइयो, यो कुरालाई रोक्नका लागि त्यो खालको सेवा दिने ठाउँ चाहिन्छ भनेर होटल सञ्चालनमा ल्याइएको हो,’ उनले भने । आफू राजनीतिमा सक्रिय रहँदा आय आर्जनको स्रोत होस् भनेर आफूले होटलमा लगानी गरेको उनले जानकारी दिए ।
 ‘राजनीति गर्नेलाई नियमित आय आर्जनको स्रोत चाहिन्छ,’ उनी भन्छन्,‘राजनीतिलाई पेसा होइन सेवा भनेर काम गर्ने हो भने राजनीति जनताको सेवा गर्ने ठाउँ हो । पेशा अरु नै हुनुपर्छ ।’ यस अगाडि पनि उनले गलकोट हटियामै हार्डवयेर पसल सञ्चालन गरेका छन् । युवाहरुलाई यही देशमा केही स्वरोजगारमूलक क्षेत्रमा केही गर्न सकिन्छ भन्ने धारणाको विकास गराउन पनि आफुहरु लगानीका लागि अगाडि बढेको उनको भनाइ छ । ‘गलकोटका अधिकांश युवाहरु त जापानमा पुगेका छन्,’उनी भन्छन्,‘युवा व्यक्ति गलकोटमा भेट्टाउनै मुस्किल छ ।
 युवालाई लगानीका क्षेत्रहरु छन् भन्ने विश्वास दिलाउन हामीले अगाडि बढ्नु परेको हो ।’ होटलका सञ्चालकमध्ये अर्का हिरा भण्डारी नवप्रभात माध्यमिक विद्यालय गलकोटका सञ्चालक हुन् । अहिले होटल सञ्चालन भैरहेको घर उनको आफनै हो । मासिक दुई लाख रुपैयाँ घरभाडा तिर्ने गरी उनको घरमा होटल सञ्चालनमा लाइएको हो । कोरोनाको कारण होटलको उद्घाटन हुन बाँकी रहेको उनले बताए । ‘हामीले होटल सुरुवात गर्नै लागेका थियौं, कोरोनाको संक्रमण सुरु भयो,’ उनले भने,‘कोरोनाका कारण अहिले पनि होटल पूर्ण क्षमतामा सञ्चालन भएको छैन उद्घाटन पनि गरेका छैनौं ।’ 
पर्यटन क्षेत्रको विकास हुँदै जाँदा अहिले मानिसहरु सुविधा सम्पन्न आवासको खोजीमा रहने भएकाले होटल सञ्चालन गर्ने योजनमा पुगेको उनले सुनाए । ‘खान बरु ठिकै भए पनि हुन्छ, तर अहिले मानिसहरु बस्न चाँही आरामदायी ठाउँ नै खोज्छन्,’ उनी भन्छन्,‘त्यही कारण यहाँ राम्रो सुविधा सहितको होटल चलाउने निधो गरेका हौं ।’ होटलमा लगानी गरेका केयरसिंह खत्री मोटर पार्ट्सका व्यवसायी हुन् । भीमसेन श्रेष्ठ गलकोटका थोक विक्रेता हुन् भने मनबहादुर खत्रीको पनि आफ्नै व्यवसाय छ । विभिन्न क्षेत्रको व्यवसायमा लागेका युवाहरुको लगानीमा सञ्चालनमा आएको होटलले त्यहाँका पर्यटन प्रवद्र्धनमा अझ टेवा पुग्ने विश्वास गरिएको छ ।
 पर्यटकीय हिसाबले महत्वपूर्ण र चर्चित ठाउँहरु घुम्टे, मुर्तिकला भएका टेउवा, गलकोट दरबार, गाईघाट झरना, निलुवा, सहश्र झरना लगायतका पर्यटकीय क्षेत्रले गर्दा पनि गलकोटमा राम्रो र सुविधा सम्पन्न होटलमा माग रहेको होटल सञ्चालकहरुको निष्कर्ष छ । होटल फुल फेजमा सञ्चालन हुँदा १० जना युवालाई रोजगारी दिने भण्डारीले बताए । होटलमा एक सय जनालाई एकै पटक खाना खुवाउने र २५÷३० जनालाई सुविधा सम्पन्न कोठामा राख्न मिल्ने व्यवस्था रहेको होटलका म्यानेजर राज खरेलले बताए । 
सिंगल, र डबल गरी करिब २५ देखि ३० जना पाहुनालाई राख्न मिल्ने एसी डिलक्स कोठा छन्,’ उनले भने,‘विवाह ब्रतबन्ध लगायतका कार्यक्रमका लागि हल पनि तयार भैरहेको छ । सय जनासम्मलाई एकै साथ खाना खुवाउन सकिने गरी तयारी गरेका छौं ।’ होटलले इन्डियन, चाइनिज, कन्टिनेन्टल लागयतका सबै परिकारका खाना उपलब्ध् गराउने उनले बताए । ‘अहिले सामान्य सुरुवात भएको छ, पूर्ण रुपमा सञ्चालनमा आएपछि राष्ट्रिय अन्तर्राष्ट्रिय खानासंगै स्थानीय खानालाई पनि प्रवद्र्धन गर्छौं,’ उनले भने । 
होटलमा न्यूनतम पाँच सय रुपैयाँदेखि अधिकतम पाँच हजार रुपैयाँ प्रतिदिनको शुल्क लाग्ने कोठा रहेको उनले बताए । होटलमा पार्किङ सुविधा र बैठक कक्षको पनि व्यवस्था छ । आगामी दिनमा होटलले पर्यटकहरुका लागि प्याकेजको व्यवस्था गर्ने समेत योजना बनाएका उनी बताउँछन् । 
 

प्रतिक्रिया