राजन रेग्मी- सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले सम्झौता भन्दा नयाँ काम गराएर भुक्तानी नदिएको आरोप लागेको छ । नाली तथा सहरी सडक सुधार कार्य अन्तरगत विभिन्न ठाउँमा काम गराई देव एण्ड सायर/तिलक जेभीलाई रकम भुक्तानी नदिएको आरोप लागेको हो । जेभीले अदालत रोड देखि पुरानो बसपार्क, अदालत रोडदेखि नयाँ बसपार्क, उपल्लाचौरदेखि आर्मी क्याम्प, उपल्लाचौरदेखि वडा नम्बर चारको कार्यालयसम्म नाली निर्माणको कार्य गरिरहेको थियो ।
हाल उपल्लाचौरदेखि वडा नम्बर आर्मी क्याम्पसम्मको सबै कार्य सम्पन्न भैसकेको छ । तर, सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले रकम भुक्तानी नदिदा अहिले काम रोकिएको छ । सो कार्यका लागी विक्रम संवत २०७५ माघ २१ गते सम्झौता भएको थियो । भ्याटबाहेक ४ करोड ८६ लाख ४८ हजार पाँच सय ५७ रुपैँयामा ठेक्का सम्झौता भएको थियो । ठेक्का भन्दा बाहिर रहेको खानेपानीको पाइप बिच्छाउनको लागि आयोजनाले जेभीलाई आग्रह गरेको थियो ।
आयोजनाको आग्रहमा खानेपानीको समस्या हुन सक्ने भन्दै जेभीले लाखौँ खर्च गरेर पाइप समेत बिच्छाएको थियो । तर, पटक पटक भुक्तानीको माग गर्दा पनि अहिलेसम्म बिल बापतको ६५ लाख रुपैँया भुक्तानी नपाएको जेभीका प्रतिनिधि नारायण जि.सीले जानकारी दिए । उनले भने ‘समिट चोकमा काम गर्दै गर्दा पुराना भएका पाईप बिग्रिय, खानेपानीले बनाएन, ठेकेदारले बनाउन पर्छ भनेर हाकिमले मौखिक आग्रह गरेपछि मैले काम गरेको थिएँ । त्यही कारण मैले अहिलेसम्म रकम भुक्तानी पाएको छैन ।’ उक्त कार्यको २०७७ माघ २१ मा म्याद सकिएको थियो । तर, कोरोना महामारीको कारण असार मसान्तसम्मको म्याद थपिएको छ ।
अदालत रोडदेखि पुरानो बसपार्कसम्म जाने बाटोमा हाल ३० मिटर ढलान र नाली निर्माणको कार्य गरिएको छ । त्यस्तै, उपल्लाचौरदेखि नयाँ बसपार्कसम्म नाली व्यवस्थापन लगायतका कार्य गरिएको छ । त्यसैगरि, उपल्लाचौरदेखि वडा नम्बर चारको कार्यालय जाने सडकमा पनि नाली निर्माण भैसकेको छ । तर, स्थानीयको जग्गा विवादका कारण करिब ३० मिटरमा ढलानको काम रोकिएको देव एण्ड सायर÷तिलक जेभीका इन्जिनियर दिपेश केसीले जानकारी दिए ।
हाल योजनाको करिब ५५ प्रतिशत काम सकिएको छ । निर्माण कम्पनीले बेसको काम सकिएको छ ,तर भुक्तानी नहुँदा कालोपत्रेको काम पनि रोकिएको केसीले बताए । रकम दिनको लागि प्रक्रिया अगाडी बढेको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङकी आयोजना सुनिता श्रेष्ठले जानकारी दिइन् । सम्झौतामा काम नभएको भए पनि खानेपानीको समस्या भएको भन्दै कार्यालयले ठेकेदारलाई काम गर्नको लागि आग्रह गरेको बताइन् ।
रकम भुक्तानीको लागि प्रक्रियामा रहेको उनले बताइन् । ‘बाटो निर्माणका क्रममा खानेपानीको पाइपमा समस्या भएको रहेछ, भेरियसन अर्डर बनाएर पठाएका छौँ ।’ प्रमुख श्रेष्ठ भन्छिन् ‘भेरियसन स्वीकृत नभएको कारणले गर्दा भुक्तानी नभएको हो ।’