नारायण रिजाल, बागलुङ ! बागलुङमा चालु आर्थिक वर्षको पछिल्लो तिन महिनामा २७ करोड ३४ लाख ७६ हजार रुपैयाँ राजश्व संकलन भएको छ । आन्तरिक राजश्व कार्यालय बागलुङका अनुसार कुल २८ करोड ७८ लाख ४२ हजार रुपैयाँ लक्ष्य रहेकोमा लक्ष्यको ९५.१ प्रतिशत राजश्व संकलन भएको छ । साउन, भदौ र असोज महिनामा लक्ष्यको ९५.१ प्रतिशत राजश्व संकलन भएको कार्यालयका प्रमुख कर अधिकृत कपिल सिलवालले जानकारी दिए ।
कार्यालयका अनुसार सवैभन्दा बढि आयकर लक्ष्यको १४ प्रतिशत बढि संकलन भएको छ । कुल १३ करोड ७२ लाख २४ हजार लक्ष्य रहेकोमा १५ करोड ७४ लाख ६३ हजार रुपैयाँ राजश्व संकलन गरी कुल ११४.७५ प्रतिशत राजश्व संकलन भएको हो । बहाल कर तर्फ ४२ लाख १५ हजार रुपैयाँ लक्ष्य रहेकोमा १४ लाख २९ हजार अर्थात ३३.८९ प्रतिशत राजश्व संकलन भएको छ भने व्याज कर तर्फ ३ करोड ४९ लाख ९ हजार राजश्व संकलन गर्ने लक्ष्य राखिएकोमा २ करोड ३७ लाख ७३ हजार अर्थात ६८.१० प्रतिशत राजश्व संकलन भएको प्रमुख कर अधिकृत सिलवालले जानकारी दिए ।
कार्यालयमा मुल्य अभिबृद्धि कर तर्फ ६ करोड ४६ लाख १० हजार रुपैयाँ राजश्व संकलन भएको छ । यसको लक्ष्य कुल ८ करोड ९६ लाख ४५ हजार रुपैयाँ रहेको थियो । मुल्य अभिबृद्धि तर्फ कुल लक्ष्यको ३२.०७ प्रतिशत मात्र राजश्व सकंलन भएको छ । कार्यालयले चालु आर्थिक वर्षको ३ महिनामा अन्तशुल्क ११२.४४ प्रतिशत राजश्व संकलन गर्न सफल भएको छ । कुल २ करोड १३ लाख ३५ हजारको लक्ष्य रहेको यो तिन महिनामा २ करोड ३९ लाख ८८ हजार रुपैयाँ राजश्व संकलन गरेको हो । अधिकांक करदाताले असोज मसान्त सम्ममा अन्तशुल्क तिर्ने भएका कारण करसंकलन पनि बढेको कार्यालयले जनाएको छ ।
कार्यालयले शिक्षा तर्फ कुल १ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेपनि २१ हजार रुपैयाँ राजश्व संकलन गर्न सफल भएको छ भने अन्य विभिन्न करमा ५ लाख १२ हजार रुपैयाँको लक्ष्य रहेकोमा कुल २१ लाख ९२ हजार रुपैयाँ राजश्व संकलन गरेको कार्यालय प्रमुख सिलवालले जानकारी दिए ।
कार्यालयले चालु आर्थिक वर्षको असोज महिनामा लक्ष्य भन्दा ५.५९ प्रतिशत बढि राजश्व संकलन गरेको छ । असोज महिनाका लागि कुल ८ करोड ६८ लाख ४३ हजार राजश्व संकलन गर्ने लक्ष्य रहेता पनि कुल ९ करोड १८ लाख २ हजार रुपैयाँ अर्थाक कुल १०५.५९ प्रतिशत राजश्व संकलन गर्न सफल भएको हो । असोज महिनामा सबैभन्दा बढि आयकर ७ करोड २८ लाख ५० हजार रुपैयाँ संकलन भएको छ । यसमा कुल लक्ष्यको झण्डौ ६० प्रतिशत बढि रकम संकलन भएको कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्षको यो तिन महिनामा आर्थिक गतिविधिमा परिवर्तन हुनुको कारण अधिकाशं करदाताले असोज मसान्त सम्ममा कर तिर्ने प्रबृति बसेका कारण राजश्व संकलन उल्लखनिय भएको कार्यालय प्रमुख सिलवालले जानकारी बताए ।
सरकारले हालै ल्याएको आर्थिक विधेयक २०८३ ले करको दायरा बढाउन र नयाँ कर राजस्वको प्रावधान सुरुवात गर्न विभिन्न करमा छुट दिएको छ । सोहीअनुसार आन्तरिक राजस्व कार्यालय बागलुङले पनि केही शीर्षकमार्फत राजस्व छुटको व्यवस्था गरेको छ । विधेयकको दफा ४० अनुसार आयकरको ब्याज तथा शुल्क मिनाहासम्बन्धी विशेष व्यवस्था छ । यस व्यवस्थाअनुसार कुनै पनि व्यक्तिले विगतमा स्थायी लेखा नम्बर नलिई कर लाग्ने आयआर्जन गरी आयकर दाखिला नगरेको भए त्यस्तो व्यक्तिले स्थायी लेखा नम्बर लिएर २०७९÷०८० देखि २०८२/०८३ सम्मको आय विवरण २०८३ पुस मसान्तसम्म दाखिला गरेमा सोमा लाग्ने शुल्क तथा ब्याज रकम मिनाहा गरिदिने उल्लेख छ ।
स्थायी लेखा नम्बर भएकाको हकमा पनि आयआर्जन वा कारोबार नगरेका करदाताले २०८१÷०८२ भन्दा अघिदेखि नै आय विवरण दाखिला नगरेको भए पनि त्यस्तो व्यक्तिले दर्ता खारेज गर्न वा कारोबार पुनः सक्रिय बनाउन चाहेमा आगामी पुस मसान्तभित्र दर्ता खारेजीका लागि निवेदन दिएमा सोभन्दा अघिको कर तिर्नु नपर्ने प्रावधान समेत राखेको छ ।
कार्यालयले राजस्व तिर्नका लागि अनलाइन प्रणालीबाट सबै सेवा सञ्चालन गरेको छ भने, म्याग्दीको रघुगंगा गाउँपालिका, बेनी नगरपालिका, पर्वतको पैयुँ गाउँपालिका र कुश्मामा रहेको करदाता सेवा कार्यालय, मुस्ताङको लोमन्थाङ गाउँपालिका र लोघेकर दामोदरकुण्ड गाउँपालिका, साथै बागलुङको गलकोट नगरपालिकाबाट पनि करदाता सेवा प्रारम्भ गरेको छ । त्यहाँबाट व्यवसायी लगायत व्यक्तिगत स्थायी लेखा नम्बर सेवाग्राहीले प्राप्त गर्न सक्ने कार्यालयले जनाएको छ ।